तस्बिर स्रोत, Reuters
पाकिस्तानको बलुचिस्तान प्रान्तमा सैनिकहरू बोकेको रेललाई लक्षित गरी गरिएको बम विस्फोटनमा कम्तीमा २४ जनाको मृत्यु भएको छ भने ७० जना घाइते भएका छन्। आइतबार बिहान बलुचिस्तानको राजधानी क्वेटास्थित चमन फाटक स्टेशन नजिकै भएको यस घटनामा रेलका धेरै डिब्बा पटरीबाट बाहिरिएका छन्।
विस्फोटनको प्रकृति र क्षतिको आधारमा, यो आत्मघाती आक्रमण भएको बलुचिस्तान सरकारले जनाएको छ। घटनापछि रेलका तीनवटा डिब्बा र इन्जिन पटरीबाट बाहिर पुगेका थिए भने दुईवटा डिब्बा पल्टिएका थिए। रेलमा ईद मनाउन घर फर्किन लागेका सैनिकहरू र तिनका परिवारजन सवार थिए।
बलुचिस्तान लिबरेशन आर्मी (बीएलए) नामक पृथक्तावादी समूहले उक्त आक्रमणको जिम्मेवारी लिएको छ। बलुचिस्तान सरकारले पनि बीएलए नै यस घटनामा संलग्न रहेको दाबी गरेको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले यस आक्रमणको कडा शब्दमा भर्त्सना गर्दै, “आतङ्कवादका यस्ता कायरतापूर्ण कार्यहरूले पाकिस्तानी जनताको सङ्कल्पलाई कमजोर बनाउन सक्दैनन्,” भनेका छन्। उनले थपे, “शोकको यो समयमा पूरा राष्ट्र बलुचिस्तानका जनताको पक्षमा उभिन्छ।” घाइतेहरूको उपचार भइरहेका अस्पतालहरूमा ‘आपत्कालीन’ अवस्था घोषणा गरिएको छ।
प्रत्यक्षदर्शीहरूका अनुसार, विस्फोटक पदार्थ बोकेको एउटा गाडी रेलमा ठोक्काइएपछि यो भीषण विस्फोटन भएको थियो। स्थानीय बासिन्दा नसीर अहमदले बीबीसीसँग कुरा गर्दै, “विस्फोटन हुँदा रेल गुडिरहेको थियो, त्यसमा यात्रुहरू थिए,” भने। बिहानै भएको यस घटनाले उनको घरका झ्यालका सिसाहरू फुटाएको उनले बताए।
अधिकारीहरूले पुष्टि गरेअनुसार ज्यान गुमाउनेहरूमध्ये धेरैजसो सैनिक हुन्। उक्त रेलमा सवार मानिसहरू नजिकै रहेको एउटा सैन्य शिविरबाट क्वेटास्थित मुख्य रेल स्टेशनतिर जाँदै थिए। त्यहाँबाट उनीहरू पेशावर हुँदै आआफ्ना घरगाउँ जाने योजनामा थिए।

तस्बिर स्रोत, Getty Images
बीएलएले यसअघि पनि बलुचिस्तानमा रेलहरूलाई निसाना बनाउँदै आएको छ। विगत दुई वर्षमा उक्त समूहले ‘जफर एक्स्प्रेस’लाई पटकपटक लक्षित गरेको थियो। बीएलएले पाकिस्तानको केन्द्रीय सरकारमाथि बलुचिस्तानस्थित खानीहरूको दोहन गरेको तर स्थानीय बासिन्दालाई बेवास्ता गरेको आरोप लगाउँदै आएको छ। पाकिस्तानको सबैभन्दा ठूलो प्रान्त बलुचिस्तानले देशको कुल भूमिको ४४ प्रतिशत ओगट्छ। यो प्रान्त इरान र अफगानिस्तानसँग जोडिएको छ भने अरब सागरको तटीय क्षेत्र पनि यसैमा पर्छ। पाकिस्तानको कुल जनसङ्ख्या २४ करोडमध्ये बलुचिस्तानमा पाँच प्रतिशत मानिसको बसोबास छ।
गत फेब्रुअरी महिनामा पनि बीएलएका लडाकुहरू र पाकिस्तानी सुरक्षाकर्मीहरूबीच क्वेटासहितका स्थानमा हिंसा फैलिँदा कम्तीमा ३१ सर्वसाधारणको मृत्यु भएको थियो।
