काठमाडौं, भदौ २० गते। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विपदबाट प्रभावित बालबालिकाको पहिचान, तस्बिर र व्यक्तिगत विवरण सार्वजनिक गर्दा अपनाउनुपर्ने संवेदनशीलताका सम्बन्धमा सम्पूर्ण सञ्चारमाध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवाला निकायहरूलाई गम्भीर अपिल गरेको छ। विपदका समयमा बालबालिकाको गोपनीयता र संरक्षणमा विशेष ध्यान दिनुपर्ने आवश्यकतामाथि अभियानले जोड दिएको हो।
अभियानले विपदमा परिवार बेपत्ता भएका वा परिवारबाट छुट्टिएका बालबालिकाको गोपनियताबारे संवेदनशीलता नअपनाई प्रचारप्रसार भइरहेकोप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा पीडित बालबालिका तथा उनीहरूका परिवारको तस्बिर, भिडियो वा उनीहरूको संवेदनशील अवस्थालाई सम्बन्धित व्यक्तिको अनुमति तथा आवश्यक बाल संरक्षण संवेदनशीलता बिना सार्वजनिक गर्दा बालबालिकामा थप मानसिक तनाव सिर्जना भइरहेको र उनीहरूको गोपनीयता तथा बाल संरक्षणका आधारभूत मान्यताहरूको ठाडो उल्लङ्घन भइरहेको भन्दै सिजपले ध्यानाकर्षण गराएको छ। यस्ता कार्यले बालबालिकाको मानसिक स्वास्थ्यमा दीर्घकालीन नकारात्मक असर पर्न सक्ने खतरा औँल्याइएको छ।
अभियानका अध्यक्ष तिलोत्तम पौडेलले रसुवा जिल्लाको उत्तरगया गाउँपालिकाको स्थलगत भ्रमणपश्चात् जारी गर्नुभएको विज्ञप्तिमा विपद प्रभावित बालबालिका बेचबिखन, ओसारपसार तथा अन्य प्रकारका शोषणमा पर्न सक्ने उच्च जोखिम रहेको चेतावनी दिइएको छ। प्रभावित बालबालिकामा देखिन सक्ने डर, तनाव, चिन्ता तथा मानसिक आघातलाई सम्बोधन गर्नका लागि तत्काल बालमैत्री मनोसामाजिक परामर्श सेवा उपलब्ध गराउनु अपरिहार्य रहेको अभियानले स्पष्ट पारेको छ। यस्तो संवेदनशील अवस्थामा बालबालिकालाई मनोवैज्ञानिक रूपमा सबल बनाउनु राज्य र समाजको साझा दायित्व भएको उल्लेख छ।
विपदको प्रभावमा रहेका बालबालिकाको सुरक्षा, स्वास्थ्य, पोषण, संरक्षण तथा शिक्षालाई विशेष प्राथमिकता दिनु आवश्यक भएको सिजपको जोड छ। परिवारबाट छुट्टिएका वा अभिभावक गुमाएका बालबालिकाको तत्काल पहिचान गरी उनीहरूलाई सुरक्षित संरक्षण प्रदान गर्न, यथाशीघ्र परिवारसँग पुनर्मिलन गराउन तथा आवश्यक स्वास्थ्य र मनोसामाजिक सहयोगको व्यवस्था गर्न सम्बन्धित निकायहरूको ध्यानाकर्षण गराइएको छ। यस्तो एकीकृत र संवेदनशील दृष्टिकोणले मात्र बालबालिकाको भविष्य सुरक्षित गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।
अभियानले राष्ट्रिय मानव अधिकार आयोगलाई विपद प्रभावित बालबालिकाको अवस्था र उनीहरूमाथि भइरहेको मिडिया रिपोर्टिङको विषयमा विशेष ध्यान केन्द्रित गरी प्रभावकारी अनुगमन गर्न अनुरोध गरेको छ। साथै, आयोगले बालबालिकाको हितलाई सर्वोपरि राखी सरकारलाई आवश्यक सिफारिस र मार्गदर्शन गर्न पनि आग्रह गरिएको छ। सरकारलाई बाल संरक्षण नीति तथा कार्यक्रमहरूलाई विपद जोखिम न्यूनीकरण र व्यवस्थापन योजनामा समावेश गर्न, बालमैत्री विपद प्रतिक्रिया संयन्त्र विकास गर्न तथा प्रभावित बालबालिकाको लागि पर्याप्त बजेट विनियोजन गर्नसमेत सिजपले आह्वान गरेको छ। यसले विपदको समयमा बालबालिकामाथि पर्न सक्ने जोखिमलाई न्यूनीकरण गरी उनीहरूको मौलिक अधिकारको सुनिश्चितता गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।
