देशका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ र उत्पादन केन्द्र (‘पावरहाउस’) भित्र मानिसहरू फसेको नवौँ दिन बितिसक्दा पनि अहिलेसम्म चार जनाभन्दा बढीको जीवित उद्धार हुन सकेको छैन। अधिकारीहरूका अनुसार हालसम्म तीनवटा शव निकालिएको नेपाली सेनाले जनाएको छ। बिहीवार रसुवाको लाङटाङ खोला जलविद्युत् आयोजनाको सुरुङबाट थप दुई जनाको शव निकालिएको आयोजनाका प्रवर्धकले पुष्टि गरेका छन्।
यसअघि, उद्धारकर्मीहरू उक्त आयोजनामा बाढी पसेको सुरुङबाट १०० मिटरभन्दा भित्र जान सकेका थिएनन्। लाङटाङ जलविद्युत् आयोजनाका प्रबन्ध निर्देशक विजयमोहन भट्टराईले सुरुमा आफ्ना प्राविधिकहरूलाई सुरुङभित्र प्रवेशको अनुमति दिएको भए धेरैलाई जीवितै निकाल्न सकिन्थ्यो भन्ने लागेको बताएका छन्। उनले आयोजनालाई उपकरण र प्राविधिक लैजान अनुमति दिएपछि मात्र मानिसहरू फसेको ठाउँसम्म पुग्ने बाटो बनाउन सम्भव भएको र त्यहाँबाट सेनाले शव निकालेको दाबी गरे। उनका अनुसार सुरुङको १५० मिटर भित्रबाट दुई जनाको शव निकालिएको थियो, जहाँ १५ जना सम्पर्कविहीन रहेको आयोजनाको दाबी छ।

भोटेकोशी-त्रिशूली जलाधार क्षेत्रमा रहेका रसुवा र नुवाकोटका १२ वटा जलविद्युत् आयोजनामध्ये हालसम्म पाँच वटा आयोजनाका सुरुङ वा पावरहाउसमा १५० जनाभन्दा बढी मानिस फसिरहेको अनुमान गरिएको छ। यी आयोजनाहरूमा रसुवागढी, लाङटाङ खोला, चिलिमे, माथिल्लो त्रिशूली १ र त्रिशूली ३ ‘ए’ रहेका छन्। सांसद एवं सुरुङ इन्जिनियर श्रीराम न्यौपानेका अनुसार बाढीले सुरुङबाहिर लेदो र ठूला ढुङ्गा थुपारेका कारण भित्र प्रवेश गर्न कठिन भएको हो। त्रिशूली नदी बगेको दिशातिरै मुख भएका सुरुङभित्र लेदो, ठूला ढुङ्गा र गेग्र्यान पसेका कारण उद्धार कार्य जटिल बनेको उनले बताए। यसका लागि तालिमप्राप्त उद्धार टोली र विशेष उपकरणहरू आवश्यक पर्ने उनको भनाइ छ।

नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले नुवाकोटको सदरमुकामभन्दा उता बाटो ध्वस्त भएका कारण आवश्यक उपकरण लैजान नसकिएको बताएका छन्। उनले कैयौँ आयोजनाका सुरुङको मुखमा हेलिकप्टर उतार्ने र सुरुङभित्र जम्मा भएको वस्तु हटाउने उपकरण राख्ने ठाउँसमेत नभएको उल्लेख गरे। प्रवक्ता बस्नेतका अनुसार हालसम्म सुरुङभित्रबाट चार जनाको र सुरुङ क्षेत्रबाट २८९ जनाको जीवित उद्धार गरिएको छ। सुरुङ इन्जिनियर छत्र बस्नेतले माथिल्लो भेगका जलविद्युत् आयोजनाका सुरुङका मुख नै बाढीले तासेर लगेकाले हेलिकप्टर राख्ने ‘प्ल्याटफर्म’ समेत नभएको बताए।
माथिल्लो त्रिशूली ३ ‘ए’ को मुख्य प्रवेशद्वार खोलाको सतहभन्दा ३०-३५ फीट माथि र केबल टनेल नौ फीट माथि भए पनि, अहिले बाढीले ४०-५० फीट माथिसम्म ठूला ढुङ्गा, गेग्र्यान र पक्की स्ल्याबहरू ल्याएर अडिट टनेलसमेत पुरेको नेपाल विद्युत् प्राधिकरणका सहप्रबन्धक सुरेश राउतले जानकारी दिए। यसैगरी, ११५ जना मानिसहरू फसिरहेको ठानिएको माथिल्लो त्रिशूली १ आयोजनामा खोलाबाट पानी प्रवेश गराउने मुहानदेखि पहिलो अडिट टनेलबीचको चार किलोमिटर सुरुङ क्षेत्र ठूला ढुङ्गा, गेग्र्यान र माटोले पुरिएको आयोजनाका महाप्रबन्धक गिरिराज अधिकारीले बताए।

सुरुङभित्र फसिरहेका मानिसहरूका परिवारले सरकारले अन्तर्राष्ट्रिय विज्ञ टोली र प्राविधिक उपकरण ल्याउन ढिलो गरेको गुनासो गरिरहेका छन्। बुधवार मात्र अमेरिकाले उपलब्ध गराएका सुरुङभित्र लैजान सकिने साना अत्याधुनिक उपकरणहरू काठमाण्डू आइपुगेका छन्। यसअघि उपकरणको अभावमा कोरियाबाट आएको प्राविधिक उद्धार टोलीले काम अघि बढाउन नसकेको विवरण आएको थियो। सुरुङ इन्जिनियर छत्र बस्नेतले सही औजार, उपकरण, जनशक्ति र विधिको कमी देखिएको औँल्याए। उनले आयोजनाका डिजाइनर, इन्जिनियर र निर्माण व्यवस्थापकसहितको टोलीलाई पनि संलग्न गराउनुपर्नेमा जोड दिए।

नागढुङ्गा सडक आयोजनाको प्रमुख रहेका सांसद न्यौपानेले नेपाली जनशक्तिले ४०० किलोमिटरभन्दा धेरै सुरुङ बनाइसकेको अनुभव भए पनि भूबनोट र बाढीको क्षतिको स्तरले उद्धारमा समय लागेको बताए। उनले अत्याधुनिक उपकरणको अभाव रहेको स्वीकार गर्दै उपकरण हुँदा पनि एक दिनमा ८० देखि १०० मिटरभन्दा बढी सुरुङ खन्न नसकिने उल्लेख गरे। लाङटाङ खोला आयोजनाका प्रबन्ध निर्देशक गिरिराज अधिकारीले अहिलेको विपत्तिले नेपालीलाई ठूलो पाठ सिकाएको र नेपालको उद्धार प्रक्रियाको समीक्षा हुनुपर्ने बताए। उनले नेपाली सेनामा उद्धारकर्मी मात्रै भए पनि उपकरणको अभाव रहेको महसुस भएको धारणा राखे।
प्रधानमन्त्रीले जटिल भूबनोटका कारण उद्धार कठिन भएको बताइरहँदा, कतिपयले उद्धारमा निजी क्षेत्रको संलग्नता र विदेशी विज्ञ तथा उपकरण मगाउन भएको ढिलाइबारे सरकारमाथि प्रश्न गरिरहेका छन्। सुरुङ इन्जिनियर बस्नेतले भविष्यका लागि योजना बनाउन अहिलेको घटनाले ठूलो पाठ सिकाएको बताउँदै सुरुङ खन्ने विधि त बनाइएको तर थुनिएको ठाउँमा के गर्ने भन्ने विधि बनाउनुपर्ने रहेछ भन्ने महसुस गराएको उल्लेख गरे।

