राष्ट्रपति पौडेलको जोड: प्रविधिभन्दा नैतिकता र इमान्दारीता आजको समाजको मुख्य आवश्यकता
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले आधुनिक समाजलाई प्रविधिको विकासभन्दा बढी नैतिकता, आचरण र इमान्दारीताको खाँचो रहेको बताउनुभएको छ। नेपाल जनप्रशासन संघद्वारा आयोजित हेमबहादुर मल्ल सम्मान वितरण कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रविधि र क्षमता अन्य स्रोतबाट ग्रहण गरी उपयोग गर्न सकिने भएपनि आचरण, नैतिकता र इमान्दारीता व्यक्तिको अन्तस्करणबाटै आउने र यसलाई आयात गर्न नसकिने कुरामा जोड दिनुभयो। उहाँले आधुनिक प्रविधिको तीव्र विकाससँगै आधुनिक प्रशासनको आवश्यकता भएपनि यसको आधार नैतिक र जिम्मेवार नेतृत्व नै हो भन्ने कुरालाई कुनै पनि अवस्थामा बिर्सन नहुनेमा जोड दिनुभयो।
राष्ट्रपति पौडेलले वर्तमान युगमा प्रविधिको विकास र परिवर्तनको गति अत्यन्त तीव्र रहेको उल्लेख गर्नुभयो। कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल शासन प्रणाली र विश्वव्यापीकरणले प्रशासन तथा व्यवस्थापनका परम्परागत अभ्यासहरूलाई समयसँगै बदलिदिएको बताउँदै उहाँले प्रविधिमा जतिसुकै परिवर्तन आएपनि केही शाश्वत मूल्यमान्यताहरू कहिल्यै पुरानो नहुने धारणा व्यक्त गर्नुभयो। ती मूल्यहरूमा इमानदारी, अनुशासन, जिम्मेवारी, नैतिकता, मानवता र सार्वजनिक हितप्रतिको अटूट प्रतिबद्धता पर्ने राष्ट्रपतिले औंल्याउनुभयो। मुलुकको बदलिँदो परिवेशमा जनताको विकास र समृद्धिको चाहनालाई सुशासनका माध्यमबाट मात्र पूरा गर्न सकिनेमा उहाँले जोड दिनुभयो।
उहाँले सूचना प्रविधिको विकास र विश्वव्यापीकरणका कारण आधुनिक युगमा राज्यको सफलता र विकासको मापन केवल आर्थिक सूचकहरूबाट मात्र हेर्न नमिल्ने तर्क गर्नुभयो। राष्ट्रपति पौडेलका अनुसार जनताले राज्यबाट झन्झटमुक्त तरिकाले पाउने छिटोछरितो र गुणस्तरीय सेवा, निर्णय प्रक्रियाको पूर्ण पारदर्शिता, संस्थागत जवाफदेहिताको सुनिश्चितता, न्यायपूर्ण व्यवहार, विधिको शासनको पालना र सार्वजनिक संस्थाहरूप्रतिको विश्वास नै वास्तविक सफलताको मापदण्ड हो। दिगो विकासका लागि सक्षम संस्थाहरू, दक्ष संस्थागत नेतृत्वसहित उच्च नैतिकता, व्यावसायिकता र उत्तरदायित्वको संस्कृति अपरिहार्य रहेको उहाँको भनाइ थियो।
यस सन्दर्भमा नेपाल जनप्रशासन सङ्घजस्ता पेसागत तथा प्राज्ञिक संस्थाहरूले नीति निर्माण, प्रशासनिक सुधार, सार्वजनिक सेवा प्रवाह र सुशासनका क्षेत्रमा विगतमा जस्तै अझै प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास राष्ट्रपतिले व्यक्त गर्नुभयो। उहाँले नेपाल जनप्रशासन सङ्घ र साल्ट ट्रेडिङ कर्पोरेसनले एक सफल प्रशासक तथा व्यवस्थापकका रूपमा स्थापित स्वर्गीय हेमबहादुर मल्लको अतुलनीय योगदानलाई स्मरणीय बनाउन सम्मान कार्यक्रमलाई निरन्तरता दिएकोमा हार्दिक खुसी व्यक्त गर्नुभयो। राष्ट्रपति पौडेलले राज्य, पेसागत संस्था, सार्वजनिक संस्थान र समाजबीचको सुदृढ सहकार्यले मात्र राष्ट्रनिर्माणका लागि आवश्यक सकारात्मक मूल्यहरूलाई संस्थागत गर्न सकिनेमा जोड दिनुभयो।
अन्तमा, राष्ट्रपति पौडेलले सबै सरोकारवालाहरूको साझा प्रयासबाट मात्र न्यायपूर्ण, सक्षम, उत्तरदायी र समृद्ध नेपाल निर्माण गर्न सकिने बताउनुभयो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप सुदृढ गर्दै नागरिकको अपेक्षाअनुरूप देश विकासको आकांक्षालाई मूर्तरूप दिनु सबैको साझा दायित्व भएको उहाँले स्मरण गराउनुभयो।
