सिमरा, बारा। विद्युत् महशुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेजीको माग गर्दै उज्यालो नेपाल पार्टीले भदौ २ गते मंगलबारदेखि बाराको सिमरामा बृहत् हस्ताक्षर संकलन अभियान सुरु गरेको छ। सरकारमाथि सशक्त जनदबाब सिर्जना गरी यस विषयमा आवश्यक कदम चाल्न बाध्य पार्ने उद्देश्यले अभियान सञ्चालन गरिएको पार्टीले स्पष्ट पारेको छ।

उज्यालो नेपाल पार्टीले विद्युत् महशुलमा कर खारेजीका साथै डेडिकेटेड तथा ट्रंक लाइनको लामो समयदेखि रोकिएको बक्यौता रकम तत्काल असुली गर्न पनि माग गरेको छ। पार्टीका अनुसार, सरकारले उक्त बक्यौता असुलीमा निरन्तर आलटाल गरिरहेको आरोप लगाउँदै जनताको आवाजलाई एकताबद्ध गरी सरकारलाई जवाफदेही बनाउन यो अभियान अघि बढाएको हो।
विद्युत्लाई केवल राजस्व संकलनको माध्यमका रूपमा हेर्नु गलत भएको उज्यालो नेपाल पार्टीको भनाइ छ। उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा समग्र आर्थिक समृद्धिको मुख्य आधार विद्युत् भएकाले यसमा लगाइएका अनावश्यक करहरू खारेज हुनुपर्ने पार्टीले तर्क गरेको छ। विद्युत्लाई सस्तो, सहज र प्रतिस्पर्धी बनाउनका लागि मूल्य अभिवृद्धि कर पूर्ण रूपमा खारेज हुनुपर्ने माग अघि सारिएको छ।

सरकारले एकातिर विद्युत् खपत बढाउने नीति लिएको दाबी गरे पनि अर्कोतिर महशुलमा भ्याट लगाएर नागरिकमाथि करको बोझ थोपरेको भन्दै पार्टीले यसको कडा विरोध गरेको छ। यसले सरकारको दोहोरो चरित्र उदाङ्गो पारेको र जनताको हितमा नरहेको पार्टीको ठहर छ। विद्युत् ऊर्जालाई प्रोत्साहन गर्नुको साटो करका माध्यमबाट निरुत्साहित पार्ने सरकारी नीतिले राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक असर पार्ने पार्टीको विश्लेषण छ।
हस्ताक्षर अभियानले डेडिकेटेड तथा ट्रंक लाइनबाट उठ्न बाँकी रहेको अर्बौं रुपैयाँ बक्यौता तत्काल असुल गर्न सरकारलाई नैतिक दबाब दिनेछ। लामो समयदेखि ठूला उद्योग र व्यावसायिक प्रतिष्ठानहरूले उपभोग गरेको विद्युत्को महशुल नतिर्दा पनि सरकार उदासीन रहनु रहस्यमय भएको पार्टीका नेताहरूले बताएका छन्। सार्वजनिक सम्पत्तिको दुरूपयोग र राजस्व चुहावटको यो पाटोमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने उनीहरूको माग छ।
उज्यालो नेपाल पार्टीले विद्युत्को भ्याट खारेज र बक्यौता असुलीका अतिरिक्त अन्य ऊर्जा नीतिसम्बन्धी महत्त्वपूर्ण मागहरू पनि अघि सारेको छ। यसमा स्वदेशी बिजुली खपतलाई व्यापक प्रोत्साहन गर्नुपर्ने, इन्डक्सन चुलोको वितरण र प्रयोगलाई राष्ट्रव्यापी बनाउनुपर्ने तथा खाना पकाउने ग्याँसको आपूर्तिलाई सहज बनाउनुपर्ने मागहरू समावेश छन्। यी मागहरूले मुलुकको ऊर्जा सुरक्षा र आत्मनिर्भरतामा महत्त्वपूर्ण योगदान पुर्याउने पार्टीको विश्वास छ।

यो हस्ताक्षर संकलन अभियान मार्फत देशभरका नागरिकको साझा आवाजलाई एकताबद्ध गरी सरकारलाई आफ्ना मागहरू सम्बोधन गर्न नैतिक र राजनीतिक दबाब दिने लक्ष्य राखिएको छ। जनताको साथ र समर्थनबाट मात्र सरकारलाई सही मार्गमा ल्याउन सकिने पार्टीका नेताहरूले बताएका छन्। अभियानले देशव्यापी रूपमा जनचेतना फैलाउने र ऊर्जा क्षेत्रका विकृतिविरुद्ध नागरिकलाई एकजुट बनाउने अपेक्षा गरिएको छ।
हस्ताक्षर संकलन अभियानको शुभारम्भ कार्यक्रममा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज अर्जुन शर्मा, केन्द्रीय सदस्य रोशन अधिकारी, मधेस प्रदेश अध्यक्ष राम सिंह (पराग), जिल्ला सदस्य नवीन लामा र सरिता लामालगायतका नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले सरकारको ऊर्जा नीति र कर प्रणालीको चर्को आलोचना गर्दै जनताको हितमा तत्काल सुधार ल्याउन माग गरेका थिए।
