रसुवा : हिमाली जिल्ला रसुवाको प्रसिद्ध धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा लाग्ने विशेष मेलाको तयारी तीव्र पारिएको छ। गोसाइँकुण्ड गाउँपालिका–५ मा अवस्थित यो पवित्र कुण्डमा हरेक वर्ष साउन शुक्ल पूर्णिमा (जनैपूर्णिमा) का दिन भव्य मेला लाग्ने गर्दछ, जुन यस वर्ष भदौ १२ गते परेको छ। मेलामा स्वदेशी तथा विदेशी हजारौँ श्रद्धालु भक्तजनको सहभागिता रहने भएकाले आवश्यक व्यवस्थापनमा सरोकारवाला निकाय जुटिरहेका छन्।
मेलाका लागि आउने भक्तजनहरूको सुरक्षा, यात्रा सहजता र व्यवस्थित सेवा उपलब्ध गराउन गोसाइँकुण्ड क्षेत्र विकास समिति, स्थानीय गाउँपालिका र जिल्ला प्रशासनले समन्वय गरिरहेका छन्। गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले तीर्थयात्रीलाई आवश्यक पर्ने सबै सुविधा सुनिश्चित गर्ने तयारी भइरहेको जानकारी दिए। लाङटाङ राष्ट्रिय निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत श्यामकुमार शाहको अध्यक्षतामा हालै सम्पन्न गोसाइँकुण्ड मेला व्यवस्थापन समितिको बैठकले मेलालाई प्रभावकारी बनाउने निर्णय गरेको छ। बैठकमा गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ, प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियार, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
तीर्थयात्रीहरूलाई हिमाली क्षेत्रमा लाग्न सक्ने लेक लाग्ने समस्यालाई मध्यनजर गर्दै गोसाइँकुण्डमा अक्सिजनसहितको दक्ष चिकित्सक टोली तैनाथ गरिने व्यवस्था मिलाइएको छ। गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष तामाङले प्रतिकूल मौसमका कारण कुनै तीर्थयात्री गम्भीर बिरामी परेमा आपतकालीन उद्धारका लागि निःशुल्क हेलिकोप्टरको समेत व्यवस्था गरिने बताए। मेलालाई थप व्यवस्थित बनाउन सरसफाइ, खानेपानी, स्वयंसेवक परिचालन, स्वास्थ्य सेवा, प्रचार–प्रसार, यातायात व्यवस्थापन तथा दर निर्धारणका लागि विभिन्न ७ वटा उपसमितिहरू गठन गरिएका छन्।
पौराणिक कथन अनुसार, परापूर्व कालमा देवता र दानवबीच समुन्द्र मन्थन हुँदा उत्पन्न कालकुट विष भगवान शिवले सेवन गरेपछि उत्पन्न जलन शान्त पार्न हिमालयखण्डको भित्तामा त्रिशूल प्रहार गर्दा गंगाजल अर्थात् त्रिशूल धाराको उत्पत्ति भई गोसाइँकुण्ड बनेको जनविश्वास छ। समुद्री सतहबाट ४,३८० मिटरको उचाइमा रहेको यस कुण्डमा स्नान गरी भगवान शिवको दर्शन गर्नाले जीवनभरका पापबाट मुक्ति मिल्ने, पितृलाई मोक्ष प्राप्त हुने तथा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहिआएको छ। जनैपूर्णिमाका दिन यहाँ करोडौं देवीदेवताको वास हुने भएकाले एकैसाथ सबैको दर्शन प्राप्त हुने शास्त्रीय मान्यता छ।
काठमाडौंबाट यात्रा सुरु गरी देउराली हुँदै दुई दिनमा गोसाइँकुण्ड पुग्न सकिने छोटो पदमार्ग भएकाले यो तीर्थ नेपालीहरूको प्रमुख धार्मिक गन्तव्य बनेको छ। मेलाको समय नजिकिँदै गर्दा स्थानीय होटल तथा व्यवसायीहरूले खाद्यान्न र आवश्यक सामग्रीको पर्याप्त व्यवस्था मिलाउन थालेका छन्। करिब २०० भन्दा बढी अस्थायी छाप्राहरू (थर्पु) निर्माण गरिएका छन् भने यात्राका क्रममा हिँड्न नसक्ने तीर्थयात्रीका लागि घोडाको व्यवस्था पनि मिलाइएको छ। काठमाडौँबाट नुवाकोटको विदुर हुँदै रसुवाको सदरमुकाम धुन्चेसम्म (११८ किलोमिटर) सवारीसाधनमा पुग्न सकिन्छ। धुन्चेबाट चन्दनबारी, चौलाङपाटी र लौरिविनायकका रमणीय दृश्यावलोकन गर्दै डेढदेखि दुई दिनको पैदलयात्रापछि गोसाइँकुण्ड पुग्न सकिन्छ।
सन् २००६ (२०६३ साल) मा विश्व सम्पदा सूचि तथा सिमसार क्षेत्रमा सूचिकृत गोसाइँकुण्ड लाङटाङ राष्ट्रिय निकुञ्ज भित्र पर्दछ। जैविक विविधताले धनी यो क्षेत्र अत्यन्त आकर्षक र मनमोहक पर्यटकीय गन्तव्य पनि हो। जनैपूर्णिमाको मेलाका साथै अन्य समयमा पनि यहाँ स्वदेशी तथा विदेशी पर्यटकहरूको आगमन बढ्दो क्रममा रहेको छ, जसले यस क्षेत्रको धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय महत्वलाई थप उजागर गरेको छ।
