१ भदौ, काठमाडौँ । अस्ट्रेलियाको संघीय संसद्मा नेपाली समुदाय र युवा उद्यमीहरूको संस्था ‘फिने’ ले हालै सिड्नीमा आयोजना गरेको अन्तर्राष्ट्रिय उद्यमशीलता सम्मेलनले विशेष चर्चा पाएको छ। सिनेटर एन्ड्रयु ब्रागले संसद्लाई सम्बोधन गर्दै नेपाली डायस्पोराको उद्यमशीलता, सीप र अस्ट्रेलियन समाजमा पुर्याएको योगदानको खुलेर प्रशंसा गरेका छन्, जसलाई नेपाली समुदायका लागि महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ।
फेडेरेसन अफ इन्टरनेसनल नेपाली युथ अन्टरप्रेनर्स (फिने) ले आयोजित अन्तर्राष्ट्रिय युवा उद्यमशीलता सम्मेलनको उद्देश्य विश्वभरका नेपाली युवा उद्यमीहरूलाई एकीकृत गरी अनुभव र नवप्रवर्तन आदानप्रदान गर्नुका साथै अन्तर्राष्ट्रिय मञ्चमा उनीहरूको पहिचान स्थापित गर्नु थियो। यस सम्मेलनमा अस्ट्रेलियाका विभिन्न राजनीतिक व्यक्तित्वहरू, कूटनीतिज्ञहरू र नेपालबाट समेत प्रतिनिधिमण्डलको सक्रिय सहभागिता रहेको थियो।
सिनेटर ब्रागले संसद्मा अस्ट्रेलियाको बहुसांस्कृतिक समाजको महत्वमाथि प्रकाश पार्दै विश्वभरबाट आएका समुदायले मुलुकलाई कसरी समृद्ध बनाएका छन् भन्ने कुरामा जोड दिए। उनले नेपाली समुदायको उद्यमशीलता, लगनशीलता र सीपका माध्यमबाट अस्ट्रेलियाको आर्थिक तथा सामाजिक विकासमा अतुलनीय र उदाहरणीय भूमिका रहेको बताए।
सिनेटर ब्रागले संसद्मा भने, ‘हालै मलाई सिड्नीमा फिनेले आयोजना गरेको अन्तर्राष्ट्रिय युवा उद्यमशीलता सम्मेलनमा सहभागी हुने उत्कृष्ट अवसर मिल्यो।’ उनले थपे, ‘त्यहाँ नेपालबाट आएका सांसदहरू तथा सिड्नीमा रहेका नेपाली डायस्पोरासँग व्यापक छलफल भयो। नेपाली समुदाय निकै उद्यमशील छ, उनीहरूसँग उत्कृष्ट सीप छ र उनीहरूले समुदायमा राम्रो प्रभाव बनाएका छन्।’ उनले नेपाली समुदायको व्यावसायिक सोच, नवीनता र सामाजिक उत्तरदायित्वको भावनाको प्रशंसा गरे।
ब्रागले अस्ट्रेलियाको राजनीतिक परिदृश्यमा नेपाली मूलका व्यक्तिहरूको बढ्दो उपस्थितिलाई सह्रानीय भन्दै भविष्यमा नेपाली-अस्ट्रेलियनहरूलाई संघीय संसद्को सदस्यका रूपमा देख्न चाहेको बताए। यसले अस्ट्रेलियाको लोकतान्त्रिक मूल्यमान्यतालाई थप बलियो बनाउने उनको विश्वास थियो। उनले नेपाली समुदायको राजनीतिक चेतनाले मुलुकको विकासमा थप योगदान दिन सक्ने सम्भावना औंल्याए।
अस्ट्रेलियन संघीय संसद्मा कार्यक्रमको औपचारिक चर्चा हुनुलाई फिनेले गौरवको क्षण बताएको छ। फिनेका महासचिव दीपेन घलेले यसलाई सिङ्गो नेपाली डायस्पोरा र युवा उद्यमीहरूका लागि महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। ‘हाम्रो संस्थाको दूरदृष्टि र युवा उद्यमीहरूको अथक प्रयासले आज महत्वपूर्ण मञ्चमा स्थान पाउन सफल भएको छ,’ घलेले भने, ‘यो हाम्रो यात्राको प्रारम्भिक सफलता हो र यसले भविष्यमा ठूला प्रभाव पार्न प्रेरणा दिएको छ।’
संसद्मा भएको यो चर्चाले अस्ट्रेलियामा रहेका नेपाली समुदायको पहिचान, योगदान र क्षमतालाई आधिकारिक रूपमा स्थापित गरेको छ। यसले नेपाली युवाहरूलाई मूलधारमा घुलमिल हुन, उद्यमशीलतालाई थप उचाइमा पुर्याउन र राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय भूमिका खेल्न प्रोत्साहित गर्ने अपेक्षा गरिएको छ। यो सम्मानले नेपाल र अस्ट्रेलियाबीचको सांस्कृतिक तथा व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउन मद्दत पुग्ने निश्चित छ।
