काठमाडौँ, २४ साउन । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालका परिवर्तनकारी ऐतिहासिक आन्दोलनहरूमा आदिवासी जनजाति समुदायले पुर्याएको अतुलनीय योगदान र अमूल्य बलिदानको उच्च प्रशंसा गरेका छन्। बत्तीसौँ विश्व आदिवासी दिवसका अवसरमा आज काठमाडौँको टुँडिखेलस्थित खुलामञ्चमा नेपाल आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालयद्वारा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै उपराष्ट्रपति यादवले यस समुदायको सङ्घर्षकै बलमा नेपालको संविधान र राज्यव्यवस्थामा समावेशी सिद्धान्तहरू स्थापित भएको स्पष्ट पारे।
उनले लोकतन्त्र, गणतन्त्र र सङ्घीयताको स्थापना आदिवासी जनजातिको अधिकार प्राप्तिको सङ्घर्षसँग गहिरो रूपमा जोडिएको बताए। नेपालको संविधानले समावेशी लोकतन्त्र, सामाजिक न्याय तथा समान अवसरलाई आफ्नो मूल मर्मका रूपमा आत्मसात् गरेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले यसलाई व्यवहारमा उतार्न सबै पक्षले हातेमालो गरेर अघि बढ्नुपर्ने आवश्यकतामाथि जोड दिए। उनले आदिवासी जनजाति, मधेसी, सीमान्तकृत तथा उत्पीडित समुदायका लागि संविधानले प्रत्याभूत गरेका अधिकारहरूको अबको मुख्य आवश्यकता व्यावहारिक कार्यान्वयन रहेको औँल्याए।
उपराष्ट्रपति यादवले समावेशिता केवल एउटा नारामा सीमित नभई यसलाई राज्यका नीति, योजना निर्माण, स्रोत र साधनको वितरण, तथा शिक्षा, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत सेवाका साथै निर्णय प्रक्रियाका हरेक तहमा समानुपातिक पहुँचका रूपमा देखिनुपर्नेमा जोड दिए। यसका लागि राज्यका हरेक संयन्त्र र निकायहरू जिम्मेवार हुनुपर्ने उनको भनाइ थियो। उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई थप सुदृढ गर्दै लैजानसके मात्र मुलुकले हरेक क्षेत्रमा सकारात्मक फड्को मार्न सक्ने विश्वास व्यक्त गर्दै यस दिशामा सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए।
प्रकृतिसँग एकाकार भई जीवनयापन गर्ने आदिवासी समुदायको परम्परागत ज्ञान, सीप र संस्कृतिलाई उपराष्ट्रपति यादवले विश्वकै लागि अनुकरणीय सम्पदाका रूपमा चित्रण गरे। विशेषगरी जलवायु परिवर्तनका चुनौती र वातावरणीय सन्तुलन कायम राख्नका लागि आदिवासी जीवनशैली र ज्ञानको महत्व आजको विश्वमा झन् बढेर गएको उनको धारणा थियो। उनले नयाँ पुस्तालाई आफ्नो मौलिक भाषा, कला, संस्कृति र पहिचानको संरक्षण गर्दै आधुनिक शिक्षा, विज्ञान र प्रविधिको प्रयोगमार्फत अगाडि बढ्न प्रोत्साहित गरे। परम्परागत मूल्यमान्यतालाई युग सुहाउँदो ढङ्गले परिमार्जन गर्दै र आधुनिक ज्ञानलाई आत्मसात् गर्दै अघि बढ्नु नै वर्तमानको आवश्यकता रहेको उनको सन्देश थियो।
उपराष्ट्रपति यादवले देशको समुन्नति र समृद्धिका लागि सबै समुदायको समान सहभागिता अपरिहार्य रहेको बताउँदै, कुनै पनि समुदायलाई पछि पारेर राष्ट्रले पूर्ण विकास हासिल गर्न नसक्ने यथार्थमाथि प्रकाश पारे। उनले जातीय, भाषिक, सांस्कृतिक र भौगोलिक विविधतालाई नेपालको शक्ति मान्नुपर्ने र यसै विविधताभित्र एकता खोज्नुपर्नेमा जोड दिए। अन्ततः, सबै नेपालीले एकताबद्ध भई राष्ट्र निर्माणको महाअभियानमा जुट्दा मात्र दिगो शान्ति र समृद्ध नेपालको परिकल्पना साकार हुने उनको विश्वास थियो।
