सल्यान, साउन २२ गते। कर्णाली प्रदेश सरकारले गठन गरेको सुख्खाग्रस्त क्षेत्र अध्ययन तथा अनुगमन कार्यदलले सल्यानको बनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउँपालिकाका खडेरी प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरेको छ। लामो समयदेखिको वर्षा अभावका कारण धान रोपाइँ, कृषि उत्पादन, सिँचाइ, खानेपानी तथा समग्र जनजीवनमा परेको गम्भीर प्रभावको विस्तृत अध्ययनका लागि कार्यदल प्रभावित क्षेत्रमा पुगेको हो।
कर्णाली प्रदेशसभाको साउन १५ गतेको बैठकमा प्रदेशसभा सदस्य भीमप्रकाश शर्माले सल्यान र सुर्खेतका किसानले खडेरीका कारण धान रोप्न नपाएको विषय उठाई सरकारको ध्यानाकर्षण गराउनुभएको थियो। त्यसलगत्तै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सचिवस्तरीय निर्णयमार्फत पाँच सदस्यीय अध्ययन तथा अनुगमन कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले शुक्रबार सुख्खाग्रस्त क्षेत्रको अनुगमन गरेको हो।
अनुगमन टोलीमा कर्णाली प्रदेशसभा सदस्य तथा पूर्व कृषि मन्त्री भीमप्रकाश शर्मा, बनगाड कुपिण्डे नगरपालिकाका प्रमुख कर्णबहादुर बुढाथोकी, उपप्रमुख पुरुषोत्तम आचार्य, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ तथा कार्यदलका संयोजक चित्रबहादुर रोकाय, स्थानीय जनप्रतिनिधि, सम्बन्धित कार्यालयका प्राविधिक तथा सरोकारवालाको सहभागिता रहेको थियो। टोलीले खडेरीले निम्त्याएको संकटको प्रत्यक्ष अवलोकन गर्नुका साथै स्थानीय किसान र सरोकारवालासँग छलफल गरेको थियो।
अनुगमनका क्रममा कार्यदलले बनगाडखोला, माझकाँडाखोला र सुनौलीखोला लगायतका प्रमुख सिँचाइ स्रोतहरूको बहावमा उल्लेख्य कमी आएको पाएको छ। पानीको अभावका कारण तल्लो भेगका धेरै खेतीयोग्य जमिन बाँझै रहेका छन् भने कतिपय किसान सीमित पानीका लागि रातभर पालो कुरेर सिँचाइ गर्न बाध्य छन्। यसले किसानहरूको दैनिकीमा ठूलो चुनौती थपेको छ।
बनगाड कुपिण्डे नगरपालिकाको कृषि शाखाका प्रमुख नारायणप्रसाद वेलवासेका अनुसार पर्याप्त वर्षा नहुँदा पाखोबारीमा लगाइएका धान, मकै, कोदो लगायत बर्खेबालीको करिब ३९ प्रतिशत क्षेत्र प्रभावित भएको छ। धान खेती हुने कुल क्षेत्रफलमध्ये करिब ४३ प्रतिशत क्षेत्रमा पानीको चरम अभाव देखिएको उहाँले जानकारी दिनुभयो। विशेषगरी बनगाड कुपिण्डे नगरपालिकाका वडा नं. १, ४, ५ र ६ खडेरीबाट सबैभन्दा बढी प्रभावित भएका छन्।
भेरी नदी किनारका खडेरी प्रभावित क्षेत्रका स्थानीय किसानहरूले नदीको पानी माथिल्ला खेतीयोग्य जमिनसम्म पु¥याउन लिफ्ट सिँचाइ प्रणालीको व्यवस्था गर्न प्रदेश सरकारसँग जोडदार माग गरेका छन्। स्थानीय कृषक कृतिबहादुर रानाले भेरी नदीको पानी लिफ्ट सिँचाइमार्फत खेतबारीसम्म पु¥याउन सके वर्षभरि नै खेती गर्न सकिने र यसले खडेरीको समस्या न्यूनीकरण हुनुका साथै कृषि उत्पादन तथा किसानको आयस्तरमा समेत उल्लेख्य वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो।
कार्यदलले प्रभावित क्षेत्रका स्थानीय तह, किसान तथा सरोकारवाला निकायसँगको छलफलका आधारमा खडेरीका कारण कृषि उत्पादनमा परेको प्रभाव, तत्काल आवश्यक राहतका उपाय, वैकल्पिक सिँचाइका सम्भावना तथा दीर्घकालीन समाधानका विकल्पसमेत समेटिएको एक विस्तृत प्रतिवेदन कर्णाली प्रदेश सरकारसमक्ष पेस गर्ने जनाएको छ।
यस वर्ष मनसुन कमजोर भई पर्याप्त वर्षा नहुँदा सल्यानको बनगाड कुपिण्डे नगरपालिका र सुर्खेतको सिम्ता गाउँपालिकाका अधिकांश क्षेत्रमा धान रोपाइँमा गम्भीर असर परेको छ। प्राकृतिक वर्षामा निर्भर किसान समयमै रोपाइँ गर्न नसक्दा खाद्यान्न उत्पादनमा नकारात्मक असर पर्ने र भविष्यमा खाद्य सुरक्षाको चुनौती बढ्ने चिन्ता बढेको छ। कार्यदलको प्रतिवेदनका आधारमा प्रभावित क्षेत्रमा राहत, वैकल्पिक सिँचाइ पूर्वाधारको विस्तार तथा दीर्घकालीन जल व्यवस्थापनका कार्यक्रम अघि बढाइने अपेक्षा गरिएको छ, जसले किसानहरूको जीवनयापनमा सुधार ल्याउन सहयोग पुग्नेछ।
