१६ साउन, रुकुमपूर्व । रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिका–४ मा अवस्थित गुल्जा झरना प्राकृतिक सौन्दर्य, अद्वितीय बनोट र साहसिक पर्यटनका कारण आन्तरिक पर्यटकको प्रमुख आकर्षण बन्दै गएको छ। समुद्री सतहबाट करिब ३ हजार २ सय मिटर उचाइमा रहेको यो झरना दुर्गम हिमाली जंगलको काखमा अवस्थित भए पनि पछिल्लो समय यसको ख्याति बढ्दै गएको छ।
गुल्जा झरनाको सबैभन्दा ठूलो विशेषता यसको बनोट हो। अधिकांश झरना जमिनको मूल वा खोलाबाट बग्ने गर्छन् भने गुल्जा झरना विशाल चट्टानको साँघुरो काप चिरेर बाहिर निस्कन्छ र सयौं फिट तल खस्छ। घना जंगल, अग्ला भिर र निरन्तर झरिरहने पानीको गर्जनले यहाँ पुग्ने जो–कोहीलाई प्रकृतिको अद्भुत संसारमा पुगेको अनुभूति गराउँछ।
झरनासम्म पुग्न भने सहज छैन। उकालो–ओरालो, घना जंगल र दुर्गम पदमार्ग पार गर्नुपर्छ। तर, गन्तव्यमा पुगेर देखिने मनमोहक दृश्यले यात्राको कठिनाइलाई बिर्साइदिन्छ। यसैले गुल्जा झरना अहिले साहसिक पर्यटन र प्रकृतिप्रेमीहरूको नयाँ रोजाइ बनेको छ।
गुल्जा झरनामा पुग्ने पर्यटकहरू केवल प्राकृतिक दृश्यमा मात्र रमाउँदैनन्, स्थानीय युवायुवतीहरू परम्परागत पोशाक र गहनामा सजिएर झरनाको काखमा फोटो तथा भिडियो खिच्न थालेपछि यहाँको मौलिक संस्कृति पनि पर्यटनसँग जोडिन पुगेको छ। यसले गुल्जा झरनालाई प्राकृतिक मात्र नभई सांस्कृतिक पर्यटनको सम्भावना बोकेको गन्तव्यका रूपमा चिनाउन मद्दत गरेको छ।
पुथा उत्तरगंगा गाउँपालिकाका अध्यक्ष पुजिराज घर्ती मगरले गुल्जा झरना गाउँपालिकाको महत्वपूर्ण प्राकृतिक सम्पदा भएको बताउँदै यसको संरक्षण र पर्यटन विकासलाई प्राथमिकतामा राखिएको जानकारी दिए। उनले झरनासम्मको पहुँच सहज बनाउन, पदमार्ग स्तरोन्नति गर्न, आवश्यक पर्यटकीय पूर्वाधार निर्माण गर्न र राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने योजना अघि बढाइएको बताए।

स्थानीय जितेन सेतिमहरका अनुसार गुल्जा झरनाको वास्तविक सौन्दर्य क्यामेराले भन्दा प्रत्यक्ष आँखाले हेर्दा अझ मनमोहक देखिन्छ। उनले भने, ‘यस्तो प्राकृतिक सम्पदा देशकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ। प्रचार–प्रसार र पूर्वाधार निर्माण गर्न सके यहाँ पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्नेछ।’
झरनाको अवलोकनका लागि सिस्ने गाउँपालिका –४, दाडिङबाट तीन घण्टा हिँडेर पुगेकी करुणा पुनले सामाजिक सञ्जालमा देखेकोभन्दा प्रत्यक्ष दृश्य धेरै नै आकर्षक लागेको बताइन्। ‘प्राकृतिक वातावरण, झरनाको गर्जन र यहाँको हरियालीले मन लोभ्यायो। यस्तो ठाउँको प्रचार देशभर हुनुपर्छ,’ उनले भनिन्।
स्थानीय आसिका विकले प्राकृतिक सम्पदासँगै स्थानीय संस्कृति र पहिचानलाई पनि पर्यटनसँग जोड्नुपर्ने धारणा राखिन्। उनले भनिन्, ‘हाम्रो मौलिक पहिरन, संस्कृति र प्राकृतिक सम्पदा एउटै ठाउँमा देख्न पाइन्छ। यी सम्पदालाई संरक्षण गर्दै पर्यटनसँग जोड्न सके स्थानीयको जीवनस्तर सुधार्न सकिन्छ।’ गुल्जा झरनाको समग्र विकासका लागि स्थानीय सरकार र समुदायको सहकार्य अपरिहार्य रहेको देखिन्छ।













