प्रधानमन्त्रीद्वारा राष्ट्रका नाममा सम्बोधन: सुनसरी र सिरहा घटनाप्रति गहिरो चासो, शान्ति र सद्भाव कायम राख्न आह्वान
प्रधानमन्त्रीले हालै सुनसरीको देवानगंज र सिरहा लगायतका स्थानमा भएका दुखद घटना तथा त्यसपछि केही जिल्लाहरूमा उत्पन्न अशान्त वातावरणलाई लिएर राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ। प्रधानमन्त्रीले घटनाप्रति नेपाल सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील रहेको बताउँदै मृतकहरूप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ। उहाँले शान्ति र सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई धैर्यता, संयमता र विवेक अपनाउन हार्दिक अपिल गर्नुभएको छ।
प्रधानमन्त्रीले सम्बोधनका क्रममा दुखद घटनामा ज्यान गुमाउनुहुने जय प्रकाश मेहता, ओम प्रकाश मेहता र गणेश यादवप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नुभयो। साथै, शोक सन्तप्त परिवारजनमा नेपाल सरकारका तर्फबाट गहिरो समवेदना व्यक्त गर्नुभयो। घाइतेहरूको उपचारमा कुनै ढिलाइ नहोस् भनी सम्बन्धित स्वास्थ्य निकायहरूलाई स्पष्ट निर्देशन दिइसकिएको उहाँले बताउनुभयो। घटनालगत्तै सबै सुरक्षा निकायहरू घटनास्थलमा पुगेर परिस्थितिलाई सामान्य बनाउने, थप अप्रिय घटना हुन नदिने र शान्ति सुरक्षा कायम गर्ने प्रयासमा निरन्तर खटिरहेका छन्। घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कानुनी कारबाही गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरिसकेको छ र यो छानबिन पूर्ण रूपमा निष्पक्ष र पारदर्शी हुने विश्वास प्रधानमन्त्रीले दिलाउनुभयो। सरकार घटनामा संलग्न जो कोही भए पनि कानुनी दायरामा ल्याउन प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।
अवस्था थप बिग्रन नदिन, जनधनको क्षति हुन नदिन र स्थानीय स्तरमा विश्वासको वातावरण बनाउन सरकार निरन्तर क्रियाशील रहेको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो। स्थिति सामान्यीकरण गर्न केन्द्र स्तरमा सर्वदलीय बैठक आह्वान गरी गहन छलफल गरिएको छ भने स्थानीय तहका जनप्रतिनिधि, नागरिक समाज, विभिन्न धार्मिक गुरुहरू, समुदायका अगुवा तथा सामाजिक व्यक्तित्वहरूसँग निरन्तर संवाद भइरहेको छ। स्थानीय स्थितिको प्रत्यक्ष अनुगमन गर्न, पीडित पक्षसँग संवाद गर्न र शान्ति सुरक्षालाई थप सुदृढ बनाउन गृहमन्त्री स्वयं घटनास्थलमा पुगिसक्नुभएको छ। यसैगरी, देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे गम्भीर समीक्षा गर्न राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसी परिस्थितिअनुसारका आवश्यक निर्णयहरू समेत गरिसकिएको प्रधानमन्त्रीले जानकारी दिनुभयो। उहाँले यस्तो संवेदनशील घडीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट असत्य, अपुष्ट सूचना, अफवाह, घृणा फैलाउने सामग्री वा समुदायबीच वैमनस्य बढाउने अभिव्यक्ति प्रचारप्रसार नगर्न/नगराउन अनुरोध गर्दै सरकारी निकायहरूबाट जारी भएका आधिकारिक तथ्य र सूचना मात्र विश्वास गर्न विशेष आग्रह गर्नुभयो।
प्रधानमन्त्रीले प्रत्येक नागरिकको जीवधनको रक्षा गर्नु, सामाजिक सद्भाव जोगाउनु र समाजमा शान्ति कायम राख्नु राज्यको सर्वोच्च र प्राथमिक दायित्व भएकोमा जोड दिनुभयो। आगामी दिनमा पनि राज्य थप सतर्क र संवेदनशील रहने तथा प्रत्येक नागरिकको जीवन सुरक्षाका लागि सरकारका सम्पूर्ण संयन्त्रहरू अहोरात्र खटिने प्रतिबद्धता व्यक्त गर्नुभयो। शान्ति सुरक्षा भङ्ग गर्ने, अराजकता फैलाउने वा सदियौँ पुरानो सामाजिक सद्भाव, सहिष्णुता र भाइचारा खलबल्याउने कुनै पनि क्रियाकलापप्रति सरकार पूर्ण रूपमा सचेत रहेको र त्यस्ता गतिविधिमाथि कडा कदम चालिने चेतावनी उहाँले दिनुभयो। प्रधानमन्त्रीले नेपालको संविधानले प्रत्येक नागरिकलाई आआफ्नो धर्म, संस्कृति र परम्परा मान्ने मौलिक हक प्रदान गरेको स्मरण गराउँदै यो संवैधानिक दायित्व निर्वाह गर्न सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभयो। धर्म समाजलाई आपसमा जोड्ने र प्रेम बाँड्ने शक्ति भएको भन्दै संसारको कुनै पनि धर्म वा संस्कृतिले हिंसा, घृणा र विभाजन नसिकाउने बरु करुणा, दया, प्रेम र शान्ति नै सबै धर्मको मूल सार भएको स्पष्ट पार्नुभयो। देशको कुनै एक स्थानमा भएको अनपेक्षित र दुखद घटनालाई लिएर कुनै सिङ्गो समुदायलाई आरोपित गर्नु र देशका अन्य भूभागमा समेत त्यसको प्रतिशोधको आगो फैलाउनु कुनै पनि दृष्टिकोणबाट न्यायोचित हुन नसक्ने उहाँको भनाइ थियो।
प्रधानमन्त्रीले नेपाली इतिहासमा कठिनभन्दा कठिन परिस्थितिमा पनि आपसी एकता, सहिष्णुता र विवेक नै नेपालीको सबैभन्दा ठूलो शक्ति बनेको उदाहरण प्रस्तुत गर्दै सबैलाई जिम्मेवार नागरिकको भूमिका निर्वाह गरी अशान्तिको बादल हटाउन आह्वान गर्नुभयो। उहाँले आम नागरिक, नागरिक समाज, धार्मिक समुदाय, आदरणीय अगुवाहरू, राजनीतिक दलहरू र जिम्मेवार सञ्चार माध्यम सबैलाई धैर्यता, संयमता अपनाई शान्ति, सद्भाव, भाइचारा र राष्ट्रिय एकता कायम राख्न सरकारका तर्फबाट हार्दिक अपिल गर्नुभयो।
