काठमाडौँ, साउन १३ गते । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले बञ्चरेडाँडा फोहोर व्यवस्थापनका चुनौती तथा स्थानीयका समस्या समाधानका लागि सरोकारवाला निकायहरूसँग छलफल गर्नुभएको छ। मन्त्रालयमा आयोजित छलफलमा काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाइँ, महानगरको वातावरण विभाग प्रमुख सरिता राई, सहरी विकास तथा भवन निर्माण विभागका सिनियर डिभिजनल इन्जिनियर रुपक आचार्य तथा ककनी गाउँपालिकाका स्थानीय प्रतिनिधि लगायतको सहभागिता थियो।
छलफलपश्चात् मन्त्री तिमिल्सिनाले फोहोर व्यवस्थापनमा प्रभावकारी अनुगमन, स्थानीयका गुनासोको सुनुवाइ, सडक पूर्वाधार सुधार तथा वैज्ञानिक ढङ्गबाट फोहोर व्यवस्थापन गर्न निर्देशन दिनुभयो। स्थानीयका गुनासोलाई गम्भीरतापूर्वक लिन उहाँले जोड दिनुभयो। स्थानीयवासीले बञ्चरेडाँडा सडकको जीर्ण अवस्था, फोहोरबाट फैलिने दुर्गन्ध, नछोपी चलाइने फोहोरका सवारीसाधन, बाटोमै फोहोर खसाल्ने प्रवृत्ति, गाडी नधोइ फर्कने तथा फोहोरमाथि माटोले पर्याप्त नछोप्ने (क्यापिङ) जस्ता लापरवाहीका गुनासो गरेका छन्।
बञ्चरेडाँडामा काठमाडौँ महानगरपालिकासहित अन्य २० स्थानीय तहबाट फोहोर ल्याइने भए पनि ती निकायलाई व्यवस्थापनको जिम्मेवारीमा सहभागी गराउन नसकिएको विषय छलफलमा उठ्यो। हाल बञ्चरेडाँडाको सञ्चालन र आर्थिक भार काठमाडौँ महानगरपालिकाले मात्र व्यहोर्दै आएको छ।
मन्त्री तिमिल्सिनाले फोहोर व्यवस्थापनको नियमित तथा छड्के अनुगमनमा जोड दिँदै स्थानीयवासीका गुनासो तत्काल सुनुवाइ हुने व्यवस्था मिलाउन निर्देशन दिनुभयो। उहाँले बञ्चरेडाँडा पुग्ने सडक तत्काल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै भन्नुभयो, “ल्याण्डफिल साइटसम्म जाने बाटो निकै खराब छ, बाटो बनाउने काम तत्काल थाल्नुहोला। आर्थिक स्रोत व्यवस्थापनका लागि सम्बन्धित निकायले समन्वय गरेर अघि बढ्नुपर्छ।”
फोहोर व्यवस्थापनलाई दीर्घकालीन रूपमा सुधार गर्न स्रोतमै फोहोर छुट्याउने, संकलन तथा ढुवानी प्रणालीलाई प्रभावकारी बनाउने लगायतका प्रगतिबारे मन्त्री तिमिल्सिनाले जानकारी लिनुभयो। महानगर प्रमुख सरोज गुराँगाईले बञ्चरेडाँडाको दीर्घकालीन व्यवस्थापनका लागि फोहोर संकलन केन्द्र बढाउने तथा वर्गीकरण प्रणाली विस्तार गर्ने योजना अघि बढाइएको बताउनुभयो। महानगरले विकेन्द्रित फोहोरमैला व्यवस्थापन अवधारणाअनुसार सात फोहोर क्लस्टरमा विभाजन गरी सुक्खा फोहोरको पुनः प्रयोग गर्ने योजना अघि सारेको छ। यद्यपि, ग्रेडिङ केन्द्र निर्माणका लागि जग्गा प्राप्ति तथा अन्य प्रक्रियामा ढिलाइ हुँदा कार्यान्वयनमा समस्या आएको उल्लेख गरियो।
हाल बञ्चरेडाँडामा पुग्ने फोहोरमध्ये करिब ६० प्रतिशत कुहिने र ४० प्रतिशत नकुहिने छ। स्रोतमै वर्गीकरण प्रभावकारी नहुँदा ल्याण्डफिल साइटमा चुनौती थपिएको महानगरपालिकाले जनाएको छ। वर्षायाममा कच्ची सडकका कारण दैनिक दुई सयभन्दा बढी फोहोर बोकेका ट्रक बाटोमै अड्किने, दुर्गन्ध फैलिने तथा स्थानीय जनजीवन प्रभावित हुने समस्या पनि बैठकमा उठाइएको थियो।
नेपाल सरकारले २०७९ जेठ १० गतेदेखि सञ्चालनमा ल्याएको बञ्चरेडाँडा ल्याण्डफिल साइट नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ को सीमाक्षेत्रमा अवस्थित छ। काठमाडौँ उपत्यकासहित २१ वटा स्थानीय तहबाट दैनिक औसत दुई सय ट्रक फोहोर यस साइटमा विसर्जन हुँदै आएको छ। फोहोर व्यवस्थापनलाई दिगो, वैज्ञानिक र वातावरणमैत्री बनाउन सबै स्थानीय तहको साझा जिम्मेवारी र समन्वय आवश्यक रहेको बैठकको निष्कर्ष छ।
