भारतमा शिक्षा प्रणालीमा सुधारको माग गर्दै ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले गरेको आह्वानपछि सोमबार हजारौँ मानिसहरूले संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। यस प्रदर्शनमा विद्यार्थी, अभिभावक, अभियानकर्मी तथा नेताहरूको उल्लेख्य सहभागिता रहेको छ। दिल्लीको जन्तरमन्तरमा भेला भएका प्रदर्शनकारीहरूको भीड नियन्त्रण गर्न सयौँको सङ्ख्यामा प्रहरी तथा अर्धसैनिक बलका सुरक्षाकर्मीहरू खटाइएको थियो।
समाचारसंस्था एएनआईले सार्वजनिक गरेको भिडिओमा सुरक्षाकर्मीहरूले सीजेपीका समर्थकहरूलाई तितरबितर पार्न लाठीचार्ज गरेको देखिन्छ। प्रदर्शनकारीहरू अगाडि बढ्न खोजेपछि प्रहरीले एक ठाउँमा उनीहरूलाई तितरबितर पार्न अश्रुग्यास पनि प्रहार गरेको थियो। दिल्ली प्रहरीले प्रदर्शनकारीहरूलाई मार्च गर्ने अनुमति नभएको बताए पनि सीजेपीका प्रवक्ताले बीबीसीलाई बताएअनुसार प्रदर्शनकारीहरू संसद् भवनतर्फ अघि बढेका थिए।
तस्बिर: एएफपी / गेट्टी इमेज
सीजेपीको समर्थनमा २१ दिनदेखि अनशनमा बसेका अभियानकर्मी तथा शिक्षाविद् सोनम वाङ्चुकलाई शनिबार सुरक्षाकर्मीहरूले बलपूर्वक अस्पताल लगेपछि यो तनाव चुलिएको हो। उनले अस्पतालमा पनि अनशन जारी राखेका छन्। अभिजित दीपकेले स्थापना गरेको सीजेपी कतै दर्ता भएको राजनीतिक संस्था भने होइन। प्रश्नपत्र बाहिरिनेसहित परीक्षामा हुने अनियमितताको विरोध गर्न गत मे महिनामा अनलाइन मञ्चमा व्यङ्ग्यात्मक आन्दोलनका रूपमा यो समूह अगाडि आएको थियो। त्यसयता सीजेपीले व्यापक जनसमर्थन पाएको छ।
शिक्षा क्षेत्रमा देखिएको अनियमितताको जिम्मेवारी शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले लिनुपर्ने र राजीनामा दिनुपर्ने माग सीजेपीका समर्थकहरूको छ। यद्यपि, मन्त्री प्रधानले सीजेपी र त्यसका समर्थकहरूलाई “उच्छृङ्खल तत्वहरूको बी-टीम” भन्दै आलोचना गरेका छन्।
अभिजित दीपकेलाई प्रहरीले लग्यो
सीजेपीका प्रवक्ता सौरव दासले सीजेपीका संस्थापक अभिजित दीपकेलाई प्रहरीले नियन्त्रणमा लिएको दाबी गरेका छन्। दासले सडकमा ओर्लिएका विद्यार्थीहरूको पक्षमा उभिन सबै सांसदहरूलाई आह्वान गरेका छन्। उनले प्रहरीले शान्तिपूर्ण प्रदर्शनकारीहरूलाई कुटपिट गरिरहेको आरोप पनि लगाएका छन्। बीबीसी हिन्दीका अनुसार यसअघि सीजेपीका संस्थापक अभिजित दीपके र सोनम वाङ्चुककी पत्नी गीताञ्जलि जे अङ्ग्मोले सोमबार संसद्तिर मार्च गर्ने प्रयास गरेका थिए, तर प्रहरीले उनीहरूलाई रोकेको थियो।

तस्बिर: गेट्टी इमेज
विरलै हुने विरोधप्रदर्शन
भारतमा राजनीतिक विरोधप्रदर्शन सामान्य भए पनि सुरक्षाको कडा प्रबन्ध, सार्वजनिक भेलामाथिको प्रतिबन्ध र विपक्षीहरू विभाजित भएको हुनाले केही वर्षयता भारतको राजनीतिक सत्ताकेन्द्र दिल्लीमा यस्ता व्यापक विरोधप्रदर्शनहरू विरलै हुने गरेका थिए। विगतमा मध्यदिल्लीमा भएका ठूला जनप्रदर्शनहरूले राजनीतिक परिवर्तनमा भूमिका खेलेका छन्, जसमा भ्रष्टाचारविरोधी अभियान र किसान आन्दोलन प्रमुख छन्। संसद् भवनवरिपरि यस्ता दृश्यहरू विरलै देखिन्छन्। तात्कालिक राजनीतिक प्रभाव जस्तोसुकै भए पनि सोमबारका घटनाक्रमलाई महत्त्वपूर्ण मानिएको छ, किनभने यो हालैका वर्षहरूमा प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारविरुद्ध राजधानीमा भएको सबैभन्दा ठूला सार्वजनिक विरोधप्रदर्शनमध्ये एक हो।

तस्बिर: रोयटर्स
एक मन्त्रीसँग भेट भएको दाबी
सौरव दासले आफू र सीजेपीका अर्का प्रवक्ता आशुतोष राङ्काले स्वास्थ्यमन्त्री जेपी नड्डासँग उनको निवासमा भेट गरेको दाबी गरेका छन्। दासले ‘एक्स’ मा सरकारले उनीहरूसँग संवादका लागि सम्पर्क गरेको र दुई घण्टाभन्दा बढी समय कुरेर जेपी नड्डासँग १० मिनेट भेट भएको उल्लेख गरेका छन्। “हामीले हाम्रो मागपत्र उहाँलाई बुझाउँदा उहाँले यसमा आन्तरिक रूपमा छलफल गर्ने आश्वासन दिनुभयो। हामी त्यो प्रक्रियामा छौँ। ठूलो सङ्ख्यामा मानिसहरूलाई नियन्त्रणमा लिइएको खबर छ,” दासले जनाएका छन्।
केही प्रदर्शनकारी गर्मीले बेहोस
सोमबार बिहान दिल्लीमा ठूलो वर्षा भए पनि जन्तरमन्तरमा भेला भएका सयौँ प्रदर्शनकारीहरू विचलित भएनन्। उनीहरूले प्रधानको राजीनामाको माग गर्दै नाराबाजी गरे। धेरै प्रदर्शनकारीहरूले भारतको राष्ट्रिय झण्डा फहराएका थिए भने केहीले शान्तिको प्रतीकस्वरूप प्लास्टिकका गुलाफका फूलहरू हातमा लिएका थिए। सुरुमा प्रहरीले उनीहरूमाथि सामान्य बल प्रयोग गरेको थियो। अत्यधिक गर्मीका कारण केही मानिसहरू बेहोस पनि भए, र केही प्रदर्शनस्थलबाट अन्यत्र गएको पनि देखियो। कक्रोच जनता पार्टीले आफ्ना समर्थकहरूले जसरी पनि संसद्सम्म शान्तिपूर्ण मार्च गर्ने दाबी गरेको थियो। “ठूलो वर्षा र कडा सुरक्षा…। तर आज कक्रोचलाई कसैले रोक्न सक्ने छैन,” सीजेपीले सामाजिक सञ्जाल ‘एक्स’मा लेखेको थियो। सुरक्षाकर्मी र प्रदर्शनकारीहरूबीच झडप भएको देखिने तस्बिर सामाजिक सञ्जालमा व्यापक रूपमा सार्वजनिक भएका छन्।

तस्बिर: गेट्टी इमेज
