काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई राजनीतिक रूपमा एक्ल्याउने प्रयास भइरहेको दाबी गर्दै एमाले आफ्नै बलमा चुनौती सामना गर्दै अघि बढ्ने स्पष्ट पारेका छन्। उनले प्रतिकूल परिस्थितिमा समेत विचलित नभई पार्टीले आफ्नो स्वतन्त्र पहिचान कायम राख्ने बताएका छन्।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित एमालेको वेबसाइट तथा मोबाइल एपको परिमार्जित संस्करण सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो धारणा राखेका हुन्। उनले एमालेले विगतमा पनि अनेकौं धक्का भोगेको भए पनि कहिल्यै समाप्त नभएको र अब पनि आफ्नै सांगठनिक बलमा पुनः नवीकृत हुँदै अघि बढ्ने दृढता व्यक्त गरे। ओलीले एमालेलाई कुनै पनि राजनीतिक शक्तिको सहारामा उभिनुपर्ने अवस्था नरहेको र कसैको वैशाखी टेक्नु नपर्ने बताए।
‘हामीलाई एक्ल्याउने प्रयास निरन्तर भइरहेका छन्। तर, एमाले स्वतन्त्र हैसियत भएको पार्टी हो, जसले कसैको आडमा होइन, आफ्नै विचार, सिद्धान्त र संगठनको बलमा अघि बढ्छ,’ उनले भने, ‘हामी आँधी, हुरी, तुफान र बाढीजस्ता अनेकौं चुनौती पार गर्दै यहाँसम्म आइपुगेका हौं र अब पनि आफ्नै बलमा अघि बढ्नेछौं।’ उनले एमाले अनुकूल परिस्थितिमा मात्र उत्साहित हुने र प्रतिकूल अवस्थामा निराश हुने पार्टी नभएको उल्लेख गर्दै सबै चुनौती पराजित गर्दै अगाडि बढ्ने अटल विश्वास व्यक्त गरे।
सोही कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेलले समसामयिक समाजमा बढ्दै गएको लोकप्रियतावाद, अवसरवाद र सूचना प्रविधिको दुरुपयोगले समाज र समग्र राजनीतिक प्रणालीलाई गम्भीर चुनौती दिइरहेको औँल्याए। उनले विशेषगरी कृत्रिम बौद्धिकता (एआई) र एल्गोरिदमको प्रयोगबाट गलत सूचना तथा भाष्यहरूलाई योजनाबद्ध ढंगले स्थापित गर्ने प्रयास भइरहेको भन्दै यसले सामाजिक सद्भाव र सत्यको प्रवाहमा बाधा पुर्याएको बताए।
महासचिव पोखरेलले यस्तो अवस्थामा सही सूचना र सही विचार समाजमा प्रभावकारी रूपमा प्रवाह गर्नु अहिलेको मुख्य चुनौती भएकोमा जोड दिए। उनले नयाँ पुस्तालाई सही वैचारिक तथा राजनीतिक धारसँग जोड्नुपर्ने आवश्यकता रहेको र यसका लागि प्रविधिको सकारात्मक प्रयोग अपरिहार्य रहेको बताए। पोखरेलका अनुसार, एमालेले आफ्ना नीति, विचार र दृष्टिकोणहरूलाई जनतासम्म प्रभावकारी रूपमा पुर्याउन, विशेषगरी डिजिटल माध्यमबाट युवा वर्गलाई जोड्न आफ्नो वेबसाइट र अन्य डिजिटल प्लेटफर्महरूलाई परिष्कृत गरेको छ।
प्रविधिको विकासलाई केवल चुनौतीका रूपमा नभई अवसरका रूपमा उपयोग गर्दै समाजलाई सही दिशातर्फ डोर्याउन नयाँ शैली र माध्यम अपनाउनुपर्नेमा उनले जोड दिए। एमालेले डिजिटल रूपान्तरणमार्फत पार्टीको सूचना र विचारलाई अझ बढी पहुँचयोग्य र पारदर्शी बनाउने लक्ष्य राखेको पोखरेलको भनाइ थियो। यसरी पार्टीले नवीनतम प्रविधिको प्रयोगबाट समाजमा सकारात्मक प्रभाव पार्न र वैचारिक स्पष्टता कायम गर्न खोजेको देखिन्छ।
