काठमाडौं । राजधानीका प्रमुख सञ्चार गृहका गेटमा गत सोमबार बिहान अवरोध पुर्याउने गरी शंकास्पद रूपमा पार्किङ गरिएका सवारी साधनबारे प्रहरीले हालसम्म कुनै ठोस अनुसन्धान अघि बढाएको छैन । सरकारका एक मन्त्रीले छानबिनको आश्वासन दिए पनि प्रहरीले यस विषयमा कुनै जाहेरी नपरेको भन्दै मुद्दा अगाडि नबढाएको हो । यस घटनामा सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूसँग सम्बन्धित गाडीहरू प्रयोग भएको पाइएपछि घटनाको निष्पक्ष छानबिनमाथि गम्भीर प्रश्न उठेको छ ।
मंसिर ३१ गते बिहान कान्तिपुर पब्लिकेसन्स, हिमालय टेलिभिजन लगायतका मिडिया हाउसहरूको मूल गेटमा अज्ञात व्यक्तिहरूले गाडीहरू पार्किङ गरी अवरोध सिर्जना गरेका थिए । लामो समयसम्म ती गाडीका चालक सम्पर्कमा नआएपछि सञ्चार गृहहरूले प्रहरी प्रशासनलाई जानकारी गराएका थिए । लगत्तै ट्राफिक प्रहरी र सामान्य प्रशासनको टोली घटनास्थलमा पुगेर क्रेनको सहायताले ती गाडीहरू हटाएको थियो । तर, अनुसन्धानको सट्टा ट्राफिक प्रहरीले यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ को उपदफा १ (ख) बमोजिम सामान्य चिट काटेर सवारी धनीलाई गाडी जिम्मा लगाएको छ ।
यस घटनाबारे सरकारका प्रवक्ता तथा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै घटनामा संलग्न जोसुकै भए पनि कारबाही हुने बताएका थिए । उनले भनेका थिए, ‘प्रहरीले यसमा को-को संलग्न छ भनेर खोजी गर्दैछ । जुनसुकै पार्टीको भए पनि के सजाय हुनुपर्ने हो हुन्छ ।’ तर, मन्त्री पोखरेलको भनाइ विपरीत जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले भने मुद्दा चल्ने गरी कुनै अनुसन्धान अघि नबढेको पुष्टि गरेका छन् । उनले भने, ‘हामीले आन्तरिक रूपमा बुझ्नुपर्ने विषयहरू बुझिरहेका हुन्छौं । तर मुद्दा नै चल्ने गरी अनुसन्धान अघि बढेको छैन ।’ अहिलेसम्म कुनै जाहेरी नआएकाले अनुसन्धान अघि नबढेको उनको भनाइ छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालय रानीपोखरीका डीआईजी गोविन्द थपलियाले पनि विज्ञप्ति जारी गर्दै ट्राफिक प्रहरीको भूमिका केवल चिट काट्नेसम्म सीमित रहेको जनाएका छन् । यसरी आतंकित पार्ने गरी एकै शैलीमा प्रमुख सञ्चार माध्यमका गेटमा कसले र कुन उद्देश्यले गाडी राख्यो भन्नेबारे प्रहरी प्रशासनले औपचारिक रूपमा मौनता साँधेको छ ।
शंकास्पद रूपमा राखिएका गाडी धनीको सम्बन्ध सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग देखिएको छ । कान्तिपुर पब्लिकेसन्सको गेटमा राखिएको बा ०१–०३४ च ८४८० नम्बरको गाडी रास्वपाका नेता रवि जयसवालको रहेको खुलेको छ । उनी गृहमन्त्री सुदन गुरुङ निकट मानिन्छन् । विभिन्न सञ्चार माध्यमका गेट अगाडि पार्किङ गरिएका अन्य गाडी धनीको सम्बन्ध पनि सत्ता निकट व्यक्तिहरूसँग रहेको पाइएको छ । यस घटनाले सरकारमै रहेका व्यक्तिको संरक्षणमा मिडियालाई आतंकित पार्ने काम भएको आशंका बलियो बनाएको छ ।
रास्वपाकै नेताहरूले समेत यस घटनाको निन्दा गरेका छन् । रास्वपा नेता मनिष झाले सञ्चार गृहमा अवरोध गर्ने काम गलत भएको र संलग्नहरूलाई अनुसन्धान गरी कारबाही गर्नुपर्ने बताएका छन् । उनले ‘राज्यले नागरिकको चिन्ता निराकरण गर्ने हो, राज्य आफैंले थप आतंकित बनाउने हैन’ भन्दै सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् । यद्यपि, रास्वपाकै नेतृ तथा कानुन, न्याय तथा मानव अधिकार समितिकी सभापति समीक्षा बाँस्कोटाले भने ‘मिडिया हाउस अगाडि सरकारले गाडी पार्किङ गरेको होइन’ भन्दै राज्यको संलग्नता नरहेको घोषणा गरेकी थिइन् । तर, निजी नम्बर प्लेटका भनिएका ती गाडी रास्वपा नेताहरूकै भएको विषयमा भने उनी मौन रहिन् । रास्वपाका सभापति रवि लामिछानेले समेत आफ्नै पार्टीका व्यक्ति भए पनि कारबाहीको भागिदार बन्ने बताएका थिए ।
विपक्षी दलहरूले यस विषयलाई गम्भीरताका साथ लिँदै तत्काल कारबाहीको माग गरेका छन् । नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले त घटनामा प्रहरी स्वयं जोडिएको आशंका व्यक्त गर्दै संसदीय छानबिन समिति गठनको माग गरेकी छिन् । उनले ‘मिडियाको मुख थुन्न गरिएको सरकारी हर्कतबारे संसदीय छानबिन आवश्यक छ’ भन्दै दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएकी छिन् ।
यस घटनाको पृष्ठभूमिमा गत बिहीबार मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि पार्किङ विवादमा महानगर प्रहरीसँगको विवादपछि आत्मदाहको प्रयास गरेका र पछि उनको निधन भएको घटनालाई लिइएको छ । नेपालीले न्याय पाउनुपर्नेदेखि सुकुम्बासी समस्यासम्मका विषयमा मिडियाले प्राथमिकताका साथ समाचार सम्प्रेषण गरेका थिए । सोही कारण ह्विल लकको विरोध गरिएको र ह्विल लक नलगाउँदा कस्तो हुन्छ भन्ने पाठ सिकाउनका लागि मिडिया हाउस अगाडि गाडी पार्किङ गरिएको हुन सक्ने आसय रास्वपा निकट केही व्यक्तिहरूले व्यक्त गरेपछि शंकाको सुई सरकार सञ्चालन गर्नेहरूतर्फ तेर्सिएको थियो ।
