काठमाडौँ, असार ३१ गते । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आगामी केही दिनसम्म देशभरका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेको भन्दै उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । महाशाखाका अनुसार, बुधबार रातिदेखि सुरु भई शुक्रबारसम्म कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी तथा तराईका भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस अवधिका लागि आवश्यक तयारी र सावधानी अपनाउन सम्बन्धित सबैमा अनुरोध गरिएको छ ।
हाल नेपालमा मनसुनको न्यून चापीय रेखाको प्रभाव कायमै रहेको महाशाखाले जनाएको छ । पश्चिममा सरदर स्थानभन्दा केही माथि नेपालको तराई भूभाग नजिक र पूर्वमा सरदर स्थान आसपास रहेको यो रेखाका कारण देशभर मनसुनी गतिविधि सक्रिय बनेको हो । अहिले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ । न्यून चापीय रेखाको निरन्तर प्रभावले आगामी दिनमा वर्षा थप तीव्र हुने आकलन गरिएको छ ।
महाशाखाको पूर्वानुमान अनुसार, बिहीबार र शुक्रबार देशभर साधारणतया बादल लाग्नेछ । यसका साथै देशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यमसम्मको वर्षा, हिमपातको समेत सम्भावना रहेको छ । विशेषगरी, बिहीबार र शुक्रबार कोशी र बागमती प्रदेशको हिमाली भूभागमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभाग र तराई भूभागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यसले गर्दा ती क्षेत्रका नदी तथा खोलामा पानीको बहाव बढ्ने, सडकमा पानी जम्ने र ढल निकासमा समस्या आउन सक्ने जोखिम बढ्नेछ ।
भारी वर्षाका कारण पहाडी क्षेत्रमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्ने भएकाले जनजीवनमा प्रत्यक्ष असर पर्न सक्ने चेतावनी महाशाखाले दिएको छ । सडक तथा यातायातमा अवरोध आउन सक्ने भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन र अत्यावश्यक बाहेकका यात्रा स्थगित गर्न समेत अनुरोध गरिएको छ । तराईका भूभागमा बाढी, डुबान, कृषि उपजमा क्षति र जनधनको जोखिम बढ्न सक्ने भएकाले नदी किनार तथा होचा र डुबान भइरहने क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आह्वान गरिएको छ ।
अवाश्यक सुरक्षाका लागि स्थानीय प्रशासन, सुरक्षा निकाय र सम्बन्धित सरोकारवाला निकायलाई समेत पूर्वतयारीमा रहन महाशाखाले आग्रह गरेको छ । सम्भावित विपद्बाट जोगिन सुरक्षित स्थानमा बस्न, मौसमसम्बन्धी आधिकारिक जानकारीका लागि नियमित रूपमा मौसम पूर्वानुमान महाशाखाको बुलेटिन, वेबसाइट वा मोबाइल एप प्रयोग गर्न र कुनै पनि आपत्कालीन अवस्थामा स्थानीय निकाय तथा सुरक्षाकर्मीलाई खबर गर्न सर्वसाधारणलाई सुझाव दिइएको छ । आगामी दिनहरूमा मौसम थप प्रतिकूल हुन सक्ने भएकाले अनावश्यक जोखिम नलिन र सचेत रहन महाशाखाले विशेष जोड दिएको छ ।
