सांसद तामाङको गम्भीर आरोप: नेपालको स्वास्थ्य बीमा पूर्ण असफल, सीमित घरानाको एकाधिकारले अर्थतन्त्र जोखिममा
३० असार, काठमाडौं । संघीय संसदको अर्थ समितिको मंगलबार बसेको बैठकमा प्रतिपक्षी दल नेपाली कम्युनिस्ट पार्टीका सांसद पर्शुराम तामाङले नेपालको स्वास्थ्य बीमा कार्यक्रम पूर्ण रूपमा असफल भएको गम्भीर दाबी गरेका छन्। उनले स्वास्थ्य बीमाको पहुँचसम्बन्धी सरकारी तथ्याङ्क र व्यवहारिक अवस्थाबीच ठूलो अन्तर रहेको औंल्याउँदै मुलुकको अर्थतन्त्रमा सीमित व्यापारिक घरानाको एकाधिकार बढ्दै जाँदा गम्भीर वित्तीय जोखिम उत्पन्न भएको चेतावनी दिएका छन्।
सांसद तामाङले सरकारी तथ्याङ्कले स्वास्थ्य बीमाको पहुँच ५१ प्रतिशत पुगेको देखाए पनि व्यवहारमा २० प्रतिशतको हाराहारीमा मात्र यसको प्रभावकारी पहुँच देखिएको तर्क गरे। उनले स्वास्थ्य बीमा किन असफल भयो भन्दै यसको कारणबारे सरकार र नियामक निकायबाट स्पष्ट जवाफ माग गरेका छन्। देशको ठूलो जनसंख्यालाई समेट्नुपर्ने महत्वपूर्ण सामाजिक सुरक्षा कार्यक्रम यसरी असफल हुनु चिन्ताजनक रहेको र यसको तत्काल समीक्षा तथा सुधार आवश्यक रहेको उनको भनाइ थियो। उनले बीमाको पहुँच विस्तारका लागि ठोस योजना र प्रभावकारी कार्यान्वयनको खाँचो रहेकोमा जोड दिए।
बैठकमा सांसद तामाङले नेपालको समग्र अर्थतन्त्र केही सीमित व्यापारिक समूहको नियन्त्रणमा रहेको भन्दै गम्भीर चिन्ता व्यक्त गरे। उनले करिब १०० परिवारले विभिन्न माध्यमबाट देशको अर्थतन्त्रलाई प्रभाव पारिरहेको विश्लेषण प्रस्तुत गर्दै यस्तो एकाधिकारले अर्थतन्त्रमा अस्वस्थ प्रतिस्पर्धा र विकृति निम्त्याएको बताए। उनले बैंक, बीमा र उद्योग गरी तीनवटै महत्वपूर्ण क्षेत्रमा एउटै व्यापारिक समूहको लगानी हुँदा स्वार्थको द्वन्द्व सिर्जना भएको र यसले समग्र वित्तीय प्रणालीलाई जोखिममा पारेको उल्लेख गरे।
एउटै व्यक्ति वा समूहले उद्योग, बैंक र बीमामा लगानी गर्दा एउटा क्षेत्रमा घाटा हुँदा त्यसको असर अन्य क्षेत्रमा पनि पर्ने र ‘मल्टिप्लायर’ प्रभावले समग्र वित्तीय प्रणालीलाई अस्थिर बनाउन सक्ने खतरा उनले औंल्याए। तामाङले भने, ‘एउटा क्षेत्र डुब्दा त्यसको असर अरू क्षेत्रमा पनि पर्ने देखियो। उद्योग घाटामा जाँदा बीमा र बैंक पनि प्रभावित हुने जोखिम छ। त्यसैले एउटा क्षेत्रमा संलग्न व्यक्तिलाई अर्को क्षेत्रमा लगानी गर्न नपाउने गरी कानुनी व्यवस्था गर्नु आवश्यक छ, ताकि एउटा क्षेत्रको असफलताले समग्र अर्थतन्त्रमा ’मल्टिप्लायर’ असर नपरोस्।’
उनले इजाजतपत्र (लाइसेन्स) दिने बेलामा नै यी क्षेत्रहरूलाई अलग गर्ने गरी कानुनी तथा नीतिगत व्यवस्था गर्नुपर्नेमा जोड दिए। सांसद तामाङले एउटा क्षेत्रमा संलग्न व्यक्ति वा समूहलाई अर्को क्षेत्रमा लगानी गर्न नपाउने गरी नीतिगत स्पष्टता ल्याउनुपर्ने बताए ताकि वित्तीय प्रणालीमा पारदर्शिता कायम भई स्वार्थको द्वन्द्वलाई न्यूनीकरण गर्न सकियोस्। यसबाट अर्थतन्त्रलाई केही सीमित व्यक्तिको नियन्त्रणबाट मुक्त गर्न सकिने र स्वस्थ प्रतिस्पर्धाको वातावरण बन्ने उनको धारणा थियो।
समितिको बैठकमा अन्य सांसदहरूले कृषि बीमाको पहुँच न्यून रहेको विषयमा उठाएको धारणामा समर्थन जनाउँदै सांसद तामाङले समग्र बीमा क्षेत्रको सुधारका लागि नीतिगत स्पष्टता र प्रभावकारी नियमनको आवश्यकतामाथि जोड दिए। उनले बीमा क्षेत्रको विश्वसनीयता बढाउन र आम नागरिकलाई यसको लाभ पुर्याउन सरकारले तत्काल ठोस कदम चाल्नुपर्ने माग गरे।
