कर्णाली राजमार्ग: बढ्दो दुर्घटना र त्रासद ‘मृत्युमार्ग’ को नियति
वीरेन्द्रनगर : कर्णाली राजमार्गको दैलेख खण्डस्थित सांगेतडा नजिकै गत बिहीबार बिहान करिब ११ बजे सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ख १०५५ नम्बरको फोर्स गाडी कर्णाली नदीमा खस्दा एक जनाको शव फेला परेको छ भने चार जना यात्रु अझै बेपत्ता छन्। दुर्घटनालगत्तै स्थानीयले खबर गरेपछि प्रहरी र उद्धारकर्मी घटनास्थल पुगेका थिए।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार दुर्घटनामा चालक सुर्खेत पञ्चपुरी नगरपालिका–८ का तुलाराम सुवेदी, सहचालक सोही स्थानका रामप्रसाद सुवेदी, यात्रुहरु कालिकोटको रास्कोट नगरपालिका–२ का सिर्जना खड्का, पचालझरना गाउँपालिका–९ का मेखे तिरुवा र सोही गाउँपालिका–९ कै जोदे तिरुवाको पहिचान खुलेको छ। फेला परेको शव जोखे तिरुवाको रहेको र आफन्तले सनाखत गरी पोस्टमार्टमपछि परिवारलाई जिम्मा लगाइएको छ।
दुर्घटनाको पाँच दिन बितिसक्दा पनि गाडी र बाँकी बेपत्ता यात्रुहरूको अवस्था अझै अज्ञात छ। नदीको अत्यधिक बहाव र धमिलो पानीका कारण खोजी कार्य निकै चुनौतीपूर्ण बनेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटाका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका १ सय ७६ जना सुरक्षाकर्मी हेलिकोप्टर, ड्रोन र गोताखोरसहित खोजी अभियानमा खटिएका छन् तर हालसम्म कुनै उपलब्धि हासिल हुन सकेको छैन। दुर्घटनाग्रस्त गाडीमा कति जना सवार थिए भन्ने यकिन विवरण खुलेको छैन, यातायात व्यवसायीको अभिलेखमा पाँच जनाले टिकट काटेको देखिए पनि बीच बाटोबाट थप यात्रु चढेको हुनसक्ने अनुमान गरिएको छ।
स्थानीयहरूले उद्धार कार्यमा सरकारी लापरबाही भएको आरोप लगाएका छन्। बिहान ११ बजे दुर्घटना भए पनि सुर्खेतबाट गोताखोर टोली ५ घण्टापछि बेलुका ५ बजेमात्र घटनास्थल पुगेको थियो। संघीय सरकारका ऊर्जामन्त्री सोही दिन कर्णालीको आकाशमा हेलिकोप्टरमा घुमिरहेका भए पनि गोताखोर टोलीलाई घटनास्थल पुर्याउन हेलिकोप्टर उपलब्ध भएन, जसका कारण टोलीलाई गाडीमै जानुपरेको थियो। स्थानीय पुरन आचार्यले गोताखोर टोली समयमै पुग्न नसक्दा उद्धार कार्यमा ढिलाइ भएको र बेपत्ताहरूको सासको आशा मात्र होइन, शवसमेत फेला नपर्ने चिन्ता बढेको बताए।
कर्णाली राजमार्गमा लगातार भइरहेका यस्ता दुर्घटनाले यसलाई ‘मृत्युमार्ग’ को रूपमा चित्रण गर्न थालिएको छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयको तथ्यांकअनुसार कर्णाली प्रदेशमा दैनिक औसत ३.३८ वटा सवारी दुर्घटना हुने गरेका छन् भने प्रत्येक तीनदेखि चार दिनको अन्तरालमा एक जनाले ज्यान गुमाउने गरेका छन्। आर्थिक वर्ष २०८०/८१ मा १ हजार ८६ दुर्घटनामा १ सय १२ जनाको मृत्यु भएको थियो भने चालु आर्थिक वर्ष २०८२/८३ को जेठ मसान्तसम्म १ हजार १ सय १५ दुर्घटनामा १ सय २३ जनाले ज्यान गुमाएका छन्। प्रदेशभरको ९ हजार ७ सय १५ किलोमिटर सडक सञ्जालमध्ये जम्मा १ हजार ३ सय ८४ किलोमिटर मात्र कालोपत्रे छ। भौगोलिक विकटता, कमजोर सडक पूर्वाधार, तीव्र गति, लापरबाही र कमजोर अनुगमन दुर्घटनाका प्रमुख कारण हुन्।
कर्णाली राजमार्गले विगतमा पनि भयानक दुर्घटनाहरू भोगेको छ। २०८१ साल कात्तिक २५ गते कालीकोटमा भएको जिप दुर्घटनामा ७ जनाको ज्यान गएको थियो। २०७१ साल चैत २ गते जुम्लाको रारालिहीमा बस दुर्घटना हुँदा १८ जनाले ज्यान गुमाएका थिए। यस राजमार्गको सबैभन्दा ठूलो दुर्घटना २०६६ साल चैत ५ गते दैलेखको किटुभीरमा भएको थियो, जहाँ यात्रुबाहक बस कर्णाली नदीमा खस्दा ४१ जनाको ज्यान गएको थियो र ४ जना अझै बेपत्ता छन्। यी घटनाहरूले राजमार्गको जोखिमपूर्ण अवस्थालाई उजागर गर्दछ।
सडक दुर्घटना न्यूनीकरणका लागि नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले बहुआयामिक अभियान सञ्चालन गरिरहेको छ। चालु आर्थिक वर्षमा ६ हजार ८ सय २५ पटक ट्राफिक सचेतना कार्यक्रम सञ्चालन गरिएको छ, जसबाट करिब ४ लाख ५४ हजार जना लाभान्वित भएका छन्। नियमित मादक पदार्थ सेवन परीक्षण, राडार गनमार्फत गति मापन र ६५ वटा दुर्घटना बढी हुने ‘ब्ल्याक स्पट’ पहिचान गरी सुधारका लागि सिफारिस गरिएको छ।
कर्णाली प्रदेश सरकारले पनि बढ्दो सडक दुर्घटनालाई न्यूनीकरण गर्न दीर्घकालीन नीति र पूर्वाधार विकासमा चासो देखाएको छ। प्रदेश सरकारको भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालयका सिनियर डिभिजनल इन्जिनियर प्रेमबहादुर वलीका अनुसार दोस्रो पञ्चवर्षीय योजनामार्फत सडक सुरक्षालाई केन्द्रमा राखी सुरक्षित सडक पूर्वाधार निर्माण, ब्ल्याक स्पट सुधार, आधुनिक ट्राफिक व्यवस्थापन र आपतकालीन उद्धार प्रणाली सुदृढीकरणका योजना अघि सारेको छ। आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा ‘सुरक्षित सडक अभियान’ सञ्चालन गरी दुर्घटनाग्रस्त क्षेत्रमा सुधार गर्ने तथा चालक तालिम र चेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने सरकारको लक्ष्य छ।
