विश्वव्यापी रूपमा बालबालिकाको शारीरिक निष्क्रियता चिन्ताजनक स्तरमा पुगेको छ, जसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन प्रतिकूल प्रभाव पार्ने विज्ञहरूले चेतावनी दिएका छन्। हालै सार्वजनिक एक प्रतिवेदनअनुसार प्रत्येक १० बालबालिकामध्ये एक जना मोटोपनको समस्याबाट ग्रसित भइरहेका बेला यो निष्क्रियतासम्बन्धी तथ्याङ्क सार्वजनिक भएको हो। लामो समयसम्म एकै ठाउँमा बसेर काम गर्ने बानी, मानसिक तनाव, अस्वस्थकर खानपान र खेलकुदमा घट्दो सहभागिता यस अवस्थाका प्रमुख कारणका रूपमा औंल्याइएका छन्।
बालबालिकालाई सक्रिय बनाउनका लागि ठोस उपायहरू उपलब्ध रहेको र त्यसले उनीहरूको वर्तमान तथा भविष्यको शारीरिक एवं सङ्ज्ञानात्मक स्वास्थ्यमा सुधार ल्याउन सक्ने प्रमाणहरू विद्यमान छन्। विश्व स्वास्थ्य संगठनले बालबालिका तथा किशोरकिशोरीहरूलाई दैनिक कम्तीमा ६० मिनेट शारीरिक गतिविधिमा संलग्न हुन सिफारिस गरेको छ, तर धेरैजसो बालबालिकाले यो न्यूनतम मापदण्ड पूरा गर्न सकेका छैनन्। बाल्यकालको शारीरिक निष्क्रियताले वयस्क अवस्थामा पनि निष्क्रियता निम्त्याउन सक्ने हुँदा यसको दीर्घकालीन असर अझ गम्भीर हुने देखिएको छ।
अध्ययनहरूले बाल्यकालमा सक्रिय रहने व्यक्तिहरू वयस्क अवस्थामा पनि सक्रिय रहने सम्भावना बढी रहेको देखाएका छन्। दोस्रो विश्वयुद्ध लडेका ७१२ भूतपूर्व सैनिकहरूमा ५० वर्षसम्म गरिएको एउटा अध्ययनले माध्यमिक तहमा खेलकुदमा सहभागी हुनेहरू वृद्ध उमेरमा पनि सक्रिय रहेको र उनीहरूलाई कम स्वास्थ्य समस्या देखिएको पत्ता लागेको थियो। बाल्यकालमा गरिने नियमित व्यायामले बडी मास इन्डेक्स (बीएमआई) कम राख्ने, कम्मर पातलो बनाउने, मानसिक स्वास्थ्य सुधार गर्ने र शैक्षिक तथा सङ्ज्ञानात्मक क्षेत्रमा राम्रो प्रदर्शन गर्न मद्दत गर्ने विभिन्न अनुसन्धानले पुष्टि गरेका छन्।
सङ्ज्ञानात्मक फाइदा
युनिभर्सिटी अफ रोड आइल्यान्ड, अमेरिकाकी किनेसियोलोजीकी प्राध्यापक निकोल लोगनका अनुसार शारीरिक व्यायामले तत्कालै फाइदा पुर्याउँछ। उनी भन्छिन्, “यसले उनीहरूको शरीरको बनावटमा सुधार ल्याउँछ तथा किशोरावस्थामा उनीहरूको सङ्ज्ञानात्मक क्रियाकलाप सकारात्मक बनाउन मद्दत गर्छ। हामी जति बढी शारीरिक गतिविधि गर्छौँ, त्यसले त्यति नै हृदय र श्वासप्रश्वाससम्बन्धी तन्दुरुस्ती कायम हुन्छ र त्यो हाम्रो मस्तिष्कका लागि पनि उपयोगी हुन्छ।” उदाहरणका लागि, नौ महिना लामो ‘आफ्टर स्कूल’ गतिविधिमा सहभागी बालबालिकामा सङ्ज्ञानात्मक ज्ञान राम्रो भएको पाइएको थियो। लोगनका अनुसार विद्यालयहरूले दैनिक ६० मिनेटको शारीरिक गतिविधि अनिवार्य गराउने व्यवस्था कार्यान्वयन गर्नुपर्छ, जसले अभिभावकलाई खेलमाथिको पहुँच बढाउन लाग्ने समय र खर्चको भारबाट मुक्त गर्नेछ।
एकै ठाउँमा बसिरहन रोक्ने
शारीरिक गतिविधि बढाउनुको अर्थ सधैं कुनै निश्चित संरचनामा खेलकुदमा संलग्न हुनुपर्छ भन्ने छैन। युनिभर्सिटी अफ कोपेनहागेनकी क्लिनिकल प्रोफेसर उला टफ्ट भन्छिन्, “बच्चाहरूमा मोटोपन हुन नदिन सहयोग गर्न सबैभन्दा प्रभावकारी उपाय भनेको उनीहरूलाई स्वस्थकर खानाको वातावरण उपलब्ध गराउनु, उनीहरूको स्क्रिन टाइम सीमित गरेर शारीरिक गतिविधि बढाउनु हो।” विद्यालयमा गरिएका विभिन्न हस्तक्षेप कार्यक्रमले राम्रो परिणाम देखाएका छन्। एक पछिल्लो अध्ययनमा शिक्षकहरूलाई बसिरहने समय घटाउन प्रोत्साहन गर्दा सहभागी बालबालिकाको कम्मर र हिपको अनुपात ८ प्रतिशतले घट्नुका साथै खेलकुदमा सहभागी हुने सङ्ख्या १० प्रतिशतले बढेको थियो। युनिभर्सिटी कलेज लन्डनकी फ्लेमिनिआ रोन्काका अनुसार यो हस्तक्षेप व्यायामबारे नभई एकै ठाउँमा निरन्तरको बसाइ कम गर्नुबारे थियो। उनी भन्छिन्, बच्चाहरू दिनको अधिकांश समय एक ठाउँमा बसिरहन्छन्, तर उनीहरूलाई सिर्जनात्मक उपाय लगाएर हिँड्न लगाइयो भने उनीहरूको स्वास्थ्य राम्रो हुन सक्छ।
अभिभावकको सहयोग
बाल्यकालमै स्वस्थकर बानीबेहोराले दीर्घकालीन फाइदा पुर्याउन सक्छ। अनुसन्धानले देखाएअनुसार बालबालिका जति सक्रिय हुन्छन्, त्यति नै उनीहरू सङ्ज्ञानात्मक काममा छिटो प्रतिक्रिया दिन सक्ने हुन्छन्। अमेरिकामा गरिएको एक सर्भेले बाबुआमाले सहयोग गरेका किशोरीहरू विभिन्न शारीरिक गतिविधिमा सहभागी भइरहेको देखाएको थियो। यसैगरी, जसका बाबुआमा सक्रिय रहन्छन्, तिनका बालबालिका पनि सक्रिय रहने सम्भावना धेरै हुन्छ। बाबुआमाले छोराछोरीसँगै स्थानीय पार्कमा साइकल चलाउने वा छोटो जगिङमा जानेजस्ता गतिविधि गर्न सक्छन्।
बढ्दो आत्मविश्वास
बच्चाहरूले हिँडडुल गरिरहेका बेला कस्तो महसुस गर्छन् भन्ने थाहा पाउनुले पनि शारीरिक गतिविधि बढाउन सहयोग गर्छ। स्वानसी विश्वविद्यालय यूकेकी मिसेला जेम्सका अनुसार जब बालबालिकाहरू आफ्नो शारीरिक गतिविधिबारे आत्मविश्वासी र दक्ष हुन्छन्, त्यसले उनीहरूको स्वास्थ्य पनि राम्रो बनाउँछ। कैयौँ विद्यालयले निश्चित संरचनाका शारीरिक गतिविधिमा अत्यधिक ध्यान दिँदा धेरै बालबालिका आफूलाई संलग्न नभएको महसुस गर्छन् र यसले उनीहरूको आत्मविश्वासलाई प्रभावित गर्न सक्छ। बच्चाहरूलाई सहभागी हुन धेरै थरिका उपायहरू उपलब्ध गराउने हो भने त्यो जीवन परिवर्तन गर्ने किसिमको मौका बन्न सक्छ। जेम्स भन्छिन्, “रूख चढ्ने वा यताउता दौडने वा अन्य खेल खेल्ने सबै गतिविधि महत्त्वपूर्ण हुन्छन् भन्ने बुझ्नुपर्छ। त्यो भनेको बालबालिकाले जे गर्न मन पराउँछन्, त्यसलाई महत्त्व दिने भन्ने हो।” अनौपचारिक शारीरिक गतिविधि सहज किसिमका हुनुपर्छ, सक्रिय गतिविधि गर्नका लागि समय छुट्ट्याइदिनुपर्छ र सजायस्वरूप ब्रेक समय नहटाउने कुरा सुनिश्चित गर्नुपर्छ। स्वतन्त्र रूपमा जे मन लाग्छ त्यो खेल्न पाउने गरी सिर्जनात्मक रूपमा खेल मैदानहरू बनाउने हो भने बालबालिकामा शारीरिक गतिविधि बढ्न सक्छ।
