तस्बिर स्रोत, EPA/Shutterstock
भारतको राजधानी दिल्लीमा ‘कक्रोच जनता पार्टी’ (सीजेपी) ले आयोजना गरेको प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। एक व्यङ्ग्यात्मक अनलाइन अभियानका रूपमा स्थापित सीजेपी पहिलो पटक बृहत् सडक प्रदर्शनमा उत्रिएको हो। अमेरिकाबाट शनिवार बिहान दिल्ली आइपुगेका सीजेपीका संस्थापक अभिजीत दीपके जन्तर मन्तर पुगेर प्रदर्शनको नेतृत्व गरिरहेका छन्।
जन्तर मन्तरमा सुरक्षाकर्मी ठूलो सङ्ख्यामा परिचालन गरिएको छ भने सञ्चारकर्मीको उपस्थिति पनि उल्लेख्य रहेको छ। बीबीसी हिन्दीका अनुसार प्रदर्शनमा सहभागी युवाको सङ्ख्या निरन्तर बढिरहेको देखिन्छ। सीजेपीको विरोधमा सत्ताधारी भारतीय जनता पार्टीका समर्थकहरू पनि जन्तर मन्तर पुगेका थिए, तर प्रहरीले उनीहरूलाई विरोध गर्न रोकेर बाहिर निकालिदिएका छन्।
सीजेपीको नाम भारतका प्रधानन्यायाधीशले बेरोजगार युवालाई “कक्रोच” सँग तुलना गरेको भनाइबाट प्रेरित रहेको छ। गत महिना सुरु भएदेखि यस अभियानले इन्स्टाग्राममा झन्डै २ करोड २० लाख फलोअरहरू प्राप्त गरिसकेको छ, जुन सरकारप्रतिको असहमतिको सबैभन्दा ठूलो अभिव्यक्तिमध्ये एक बनेको छ।
तस्बिर स्रोत, EPA/Shutterstock
अभियानका संस्थापक अभिजीत दीपके अमेरिकाबाट दिल्ली पुग्ने खबरसँगै इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको थियो। विमानस्थलबाट बाहिर निस्कने बित्तिकै दीपकेले सञ्चारमाध्यमसँग कुरा गर्दै शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गरे। उनले ‘न्याश्नल इलिजिबिलिटी इन्ट्रान्स टेस्ट’ (नीट) परीक्षाको प्रश्नपत्र चुहिएपछि पाँच जना विद्यार्थीले आत्महत्या गरेको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरे। जन्तर मन्तर पुगेर उनले आफ्ना समर्थकहरूसँग “सामाजिक सञ्जालमा पेज चलाएर के हुन्छ भन्दै प्रश्न गर्नेहरूलाई क्यामेरा घुमाएर देखाउनुहोस्, कति ‘कक्रोच’ घरबाट निस्किएर जन्तर मन्तर पुगेका छन्,” भन्दै नाराबाजी गरे।
यसअघि, शिक्षाविद् तथा लद्दाखका पर्यावरण अभियानकर्ता सोनम वाङ्चुकले दीपकेलाई प्रहरीले गिरफ्तार गर्न सक्ने अनुमान गरेका थिए। तर गिरफ्तारको अनुमान गलत साबित भएको छ। दीपकेले प्रदर्शनलाई ‘प्रेम र शान्तिपूर्ण’ बनाउन आह्वान गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत समर्थकहरूलाई ‘किताब र हाम्रो झन्डा ल्याउन नभुल्नुहोला’ भन्दै प्रहरीलाई फूल दिन आग्रह गरेका थिए, जसलाई करुणा र आभारको प्रतीक मानिएको छ।
तस्बिर स्रोत, EPA/Shutterstock
शिव सेनाकी नेता तथा राज्यसभाकी पूर्वसांसद प्रियङ्का चतुर्वेदीले दिल्ली प्रहरीले प्रदर्शनको अनुमति दिएर सही काम गरेको टिप्पणी गरेकी छन्। उनले सामाजिक सञ्जाल एक्समा लेख्दै अब अनलाइनमा देखिएको समर्थन सडकमा शक्ति बन्छ कि बन्दैन भन्ने हेर्नुपर्ने बताएकी छन्। भारतका चर्चित कानुनविद् प्रशान्त भूषणले सीजेपीको आन्दोलनलाई ‘जेन जी आन्दोलन’ को संज्ञा दिएका छन्। उनले भ्रष्टाचार, बेरोजगारी, दैनिक घोटाला, ध्वस्त विदेश नीति र अमेरिकामाथिको बढ्दो निर्भरतालाई यसको कारण बताएका छन्। निर्वाचन आयोग, न्यायपालिका, सञ्चार क्षेत्रलगायत विभिन्न संस्था पनि कमजोर भएको उल्लेख गर्दै उनले सीजेपी त्यसको स्वाभाविक परिणाम भएको र यस जेन जी आन्दोलनलाई समझदारीयुक्त समर्थन र मार्गदर्शनको आवश्यकता रहेको टिप्पणी गरे।
तस्बिर स्रोत, EPA/Shutterstock
यसैबीच, राजनीतिक विश्लेषक योगेन्द्र यादवले सीजेपीको अभियानलाई साथ दिन विपक्षी दलहरूलाई आग्रह गरेका छन्। सामाजिक सञ्जाल एक्समा एक भिडिओ सार्वजनिक गर्दै उनले पार्टीको नाम जे भए पनि देश बचाउन सबै एक ठाउँमा उभिनुपर्नेमा जोड दिएका छन्। “पार्टीभन्दा देश ठूलो हो, हामी सबै मिलेर यो देशलाई बचाउनुपर्छ,” यादवले अपिल गरेका छन्।
तस्बिर स्रोत, Reuters
