तस्बिर स्रोत, X/@narendramodi
काठमाडौँ। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधवार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग दिल्लीमा भेटवार्ता गरेका छन्। पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेको मोदीसँगको भेटलाई नेपाल-भारत सम्बन्धमा नयाँ आयामका रूपमा हेरिएको छ।
भेटपछि प्रधानमन्त्री मोदीले सामाजिक सञ्जालमा पोस्ट गर्दै साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने लामिछानेको चाहनालाई स्वागत गरेका छन्। उनले ‘छिमेकी पहिलो नीति’ अन्तर्गत नेपाल प्राथमिकतामा रहेको साझेदार भएको बताउँदै नयाँ सरकारसँगको सहकार्यमा द्विपक्षीय सम्बन्धलाई थप उचाइमा पुऱ्याउन उत्सुक रहेको उल्लेख गरे। सभापति लामिछानेले पनि ‘एक्स’ मार्फत मोदीसँगको एक घण्टा लामो कुराकानी ‘रचनात्मक’ रहेको जनाउँदै विकास कूटनीतिको नयाँ युग अँगाल्न साझा सभ्यता, डिजिटल करिडोर र निर्बाध कनेक्टिभिटीमा केन्द्रित भई प्रगति र पारस्परिक विश्वासको साझेदारी निर्माणमा जोड दिए।
भाजपाको निमन्त्रणामा भारत भ्रमणमा रहेका लामिछाने, नेपालको परिवर्तित राजनीतिक परिदृश्यमा भारत भ्रमण गर्ने वर्तमान सरकारका वरिष्ठतम नेता हुन्। वार्तामा भारतीय विदेशमन्त्री एस जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेशसचिव विक्रम मिस्री लगायतका उच्च अधिकारीहरू सहभागी थिए। लामिछानेको प्रतिनिधिमण्डलमा पत्नी निकिता पौडेल, रास्वपाका सांसदहरू विपिन आचार्य, दीपक बोहोरा र दिल्लीस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत सुरेन्द्र थापाको उपस्थिति थियो।
लामिछानेको भारत भ्रमण काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले नेपाल–भारत सीमा विवादबारे ‘नेपालले पनि भारतको भूमि मिचेको’ हुन सक्ने भन्दै बेलायतको भूमिकाको आवश्यकता औँल्याएको केही दिनपछि भएको हो। मेयर शाहको उक्त टिप्पणीपछि भारतीय विदेश मन्त्रालयले सीमासम्बन्धी विषयहरू द्विपक्षीय संयन्त्रमार्फत् सम्बोधन भइरहेको र यसमा तेस्रो पक्षको भूमिका नरहने स्पष्ट पारेको थियो। भ्रमणकै क्रममा लामिछानेले ‘द हिन्दुस्तान टाइम्स’मा प्रकाशित एक लेखमा सीमा विवादलाई ‘ऐतिहासिक तथ्य र आपसी समझदारीमा आधारित व्यावहारिक संवादमार्फत्’ समाधान गर्नुपर्नेमा जोड दिएका छन्। उनले आफ्नो पार्टी विगतको बोझले नबाँधिएको बताउँदै नयाँ दृष्टिकोणबाट परराष्ट्रनीति अघि बढाउन चाहेको सन्देश दिएका छन्। सरकारका प्रवक्ताले भने प्रधानमन्त्रीको भारत भ्रमणका लागि उपयुक्त समय आइनसकेको स्पष्ट पारेका थिए।
भाजपा र भारत सरकार दुवैले लामिछानेको भ्रमणलाई विशेष महत्त्व दिएका छन्। प्रधानमन्त्री मोदीसँगको भेटअघि लामिछानेले भाजपा अध्यक्ष जे.पी. नड्डा, गृहमन्त्री अमित शाह, र विदेशमन्त्री एस जयशङ्करसँग पनि भेटवार्ता गरेका थिए। भारतीय गृहमन्त्री शाहले विरलै विदेशी नेताहरूसँग भेट गर्ने सन्दर्भमा, लामिछानेसँगको उनको भेटलाई उच्च प्राथमिकताका रूपमा हेरिएको छ। विमानस्थलमा भाजपाका उच्च अधिकारीहरूले भ्रमणदललाई स्वागत गरेका थिए। नेपालमा रास्वपा विजयी भएपछि भारतीय प्रधानमन्त्री मोदीले सभापति लामिछाने र काठमाडौँका मेयर बालेन्द्र शाह दुवैलाई टेलिफोन गरेर बधाई दिएका थिए। यस भ्रमणले दुई देशबीचको कूटनीतिक सम्बन्धमा नयाँ ऊर्जा प्रदान गर्ने अपेक्षा गरिएको छ।
तस्बिर स्रोत, x/@narendramodi
