विश्वका अग्रणी वैज्ञानिकहरूको एक समूहले सन् २०२६ को फिफा विश्वकपमा खेलाडीहरूलाई चर्को गर्मीबाट जोगाउन फिफाले हाल अपनाएका उपायहरू अपर्याप्त रहेको चेतावनी दिएको छ। उनीहरूले यी उपायहरूले खेलाडीहरूलाई गम्भीर जोखिममा पार्ने औँल्याएका छन्।
स्वास्थ्यका अन्तर्राष्ट्रिय विज्ञहरूले एक खुला पत्रमार्फत फुटबलको नियामक निकाय फिफाले तयार पारेको निर्देशिका वैज्ञानिक नभएको र यसको “औचित्य पुष्टि नहुने” उल्लेख गरेका छन्। उनीहरूले गर्मीको जोखिमबाट खेलाडीहरूलाई अझ राम्रो सुरक्षा प्रदान गर्न, लामो अवधिको ‘कुलिङ ब्रेक’ (तापक्रम घटाउने विश्राम) उपलब्ध गराउन र अत्यधिक गर्मीको अवस्थामा खेलहरू पछि सार्नेबारे स्पष्ट मापदण्ड बनाउन माग गरेका छन्।
अमेरिका, क्यानडा र मेक्सिकोमा आयोजना हुने २०२६ को विश्वकप प्रतियोगितामा गर्मी एउटा प्रमुख समस्या बन्ने अपेक्षा गरिएको छ। अनुसन्धाताहरूले १६ मध्ये १४ वटा रङ्गशालाको तापक्रम खतरनाक तह पार गर्ने चेतावनी दिएका छन्। दक्षिण अमेरिका र उत्तरी मेक्सिकोका केही भूभागमा दिउँसो तापक्रम सामान्यतया ३५ डिग्री सेल्सियससम्म पुग्छ, तर गर्मी याममा यो बढेर ४० डिग्रीसम्म पुग्न सक्छ। तापक्रम, आर्द्रता, हावाको गति र चर्को घामजस्ता प्रतिकूल वातावरणीय कारकहरूले विश्वकप आयोजना हुने सहरहरूमा खेलाडीहरूलाई ‘फिजिकल हीट स्ट्रेस’ (गर्मी स्थानमा रहेर विशेष गरी शारीरिक कार्य गर्दा महसुस हुने असहजता र शारीरिक दबाव) को उच्च जोखिममा पार्न सक्छ।
फिफाले भने आफू खेलाडी, रेफ्री, समर्थक, स्वयंसेवक र कर्मचारीहरूको स्वास्थ्य र सुरक्षाका लागि प्रतिबद्ध रहेको जनाएको छ। प्रतियोगिताको योजनामै जलवायुसँग सम्बन्धित जोखिमको पनि मूल्याङ्कन गरिएको फिफाको दाबी छ।
फिफाका वर्तमान उपायहरू
फिफाले “खेलाडीहरूको हितमा जनाएको प्रतिबद्धताअनुसार” जस्तोसुकै मौसम भए पनि मध्यान्तरअगाडि र पछाडि दुवै हाफमा तीन-मिनेट ‘कुलिङ ब्रेक’ लिनैपर्ने जनाएको छ। खुला आकाशमुनि हुने सबै खेलमा प्राविधिक कर्मचारी र वैकल्पिक खेलाडीहरूलाई ‘जलवायु-नियन्त्रित’ कक्षहरू उपलब्ध गराइने छ।
गर्मीको सन्दर्भमा फिफाले खेलकुदका लागि विशिष्ट मापदण्ड प्रयोग गर्छ, जसलाई ‘वेट बल्ब ग्लोब टेम्परेचर’ (डब्ल्यूबीजीटी) भनिन्छ। यो विधिमा शरीरमा पर्ने ‘फिजिकल हीट स्ट्रेस’ जाँचिन्छ र गर्मी तथा आर्द्रतालाई एकै ठाउँमा राखेर मूल्याङ्कन गरिन्छ। डब्ल्यूबीजीटी २८ डिग्री सेल्सियस नाघेको अवस्थामा ‘हीट स्ट्रेस’ खेलाडीहरूका लागि चिन्ताको विषय हो। फिफाको ‘आपत्कालीन हेरचाह पुस्तिका’ अनुसार, डब्ल्यूबीजीटी ३२ सेल्सियस वा त्यसको नजिक पुगेको अवस्थामा खेलका आयोजकले “गर्मीका कारण हुन सक्ने स्वास्थ्यसम्बन्धी समस्या रोक्न अपनाउनुपर्ने पूर्वसावधानीमा” सहमति गर्नुपर्ने उल्लेख छ।
फिफाले दर्शक तथा समर्थकहरूका लागि पनि मापदण्ड बनाएको छ। उनीहरूलाई तापक्रम उच्च हुन सक्ने पूर्वानुमानबारे सूचित गरिनुपर्छ। दर्शकहरूले बोतलबन्द पानी रङ्गशालामा लैजान अनुमति पाउने छन्। साथै, दर्शकदीर्घालाई अझ शीतल बनाउने उपाय अवलम्बन गरिन्छ, जसमा घाम छेकिने ठाउँ, ‘मिस्टिङ सिस्टम’ (पानीका मसिना कण निकाल्ने फोहरा), ‘कुलिङ बस’ र पानी वितरण लगायतका योजनाहरू समावेश छन्।
विज्ञहरूको माग
यूके, अमेरिका, क्यानडा, अस्ट्रेलिया र युरोपका वरिष्ठ प्राज्ञसहित २० विज्ञहरूले फिफालाई पठाएको खुला पत्रमा हस्ताक्षर गरेका छन्। उनीहरूले फिफाको अहिलेको शैलीमा व्यापक परिवर्तनका लागि निम्न माग गरेका छन्:
- २८ सेल्सियस डब्ल्यूबीजीटीभन्दा धेरै गर्मी भए खेल स्थगन गर्न वा पछि सार्न।
- कम्तीमा ६ मिनेट लामो ‘कुलिङ’ विश्राम।
- खेलाडीहरूका लागि परिस्कृत शीतल संरचनाहरू।
- ताजा वैज्ञानिक प्रमाणका आधारमा मापदण्डको नियमित रूपमा अद्यावधिक हुनुपर्ने।
उनीहरूले विश्वभरिका खेलाडीहरूको संस्था ‘फिफ्प्रो’ ले प्रस्ताव गरेका मापदण्डहरू लागु गर्न पनि फिफासँग माग गरेका छन्।
खेलाडीको स्वास्थ्यमा गम्भीर चासो
वैज्ञानिकहरूका तर्फबाट फिफालाई पत्र पठाउन संयोजन गरेका ‘न्यु वेदर इन्स्टिच्यूट’का निर्देशक एन्ड्रू सिम्सले बीबीसी स्पोर्टसँग भने, “खेलाडीहरूको सुरक्षा महत्त्वपूर्ण चासोको विषय हो। किनभने मानिसहरूलाई धेरै गर्मी भयो भने अवस्था निकै छिटो बिग्रिन सक्छ।” उनले थपे, “फिफाले खेलाडीहरूको स्वास्थ्य र सुरक्षामा खेलबाड गरेको चिन्ता हामीलाई छ।”
कनेटिकट विश्वविद्यालयका प्राध्यापक डग्लस कासाले पनि उक्त पत्रमा हस्ताक्षर गरेका छन्। उनी फिफाको अहिलेको निर्देशिकाका अधिकांश भाग उपयुक्त नभएको दाबी गर्छन्। “खेलको प्रत्येक हाफमा पानी पिउने विश्राम तीन मिनेटभन्दा लामो हुनुपर्छ। एक पटकको विश्राम कम्तीमा पाँच मिनेट हुनुपर्छ र छ मिनेट राख्दा अझै राम्रो हुन्छ,” उनले भने। “हामीलाई आशा छ यो खुला पत्रपछि फिफा गर्मीसम्बन्धी आफ्नो निर्देशिका अद्यावधिक गर्न तयार हुन्छ।”
सन् २०२६ को विश्वकपमा चुनौती
सन् २०२६ को विश्वकपमा चरम मौसमी अवस्था उत्पन्न हुन सक्ने अनुमान गरिएको छ। गर्मी याममा अमेरिका, क्यानडा र मेक्सिकोमा उच्च तापक्रम, चट्याङ र वनडढेलोका कारण फैलिने दूषित वायुजस्ता समस्याहरू देखा पर्छन्। वर्ल्ड वेदर एट्रिब्यूशन (डब्ल्यूडब्ल्यूए) ले यही महादेशमा सन् १९९४ मा सम्पन्न विश्वकपका बेलाभन्दा यो पटक खेलाडी र समर्थकहरूले अझ बढी गर्मी र उच्च आर्द्रता खेप्नुपर्ने विश्लेषण गरेको छ।
वैज्ञानिकहरूले एक चौथाइ खेलहरू २६ सेल्सियस डब्ल्यूबीजीटीभन्दा उच्च तापक्रमका समयमा हुन सक्ने उल्लेख गरेका छन्। करिब पाँच वटा खेलहरू २८ सेल्सियस डब्ल्यूबीजीटीमा हुने आकलन छ। यो तापक्रम भनेको सुक्खा गर्मीको ३८ सेल्सियस र उच्च आर्द्रताको समयमा ३० सेल्सियस बराबर हो। खेलाडीहरूको संस्था ‘फिफ्प्रो’ ले यो तहको गर्मीलाई खेल्नका लागि असुरक्षित मान्ने गरेको छ। डब्ल्यूडब्ल्यूएले जलवायु परिवर्तनका कारण सन् १९९४ को तुलनामा चरम मौसमी अवस्थाको जोखिम दोब्बर भएको जनाएको छ।
यस विश्वकपको आयोजनाका लागि फिफालाई पठाइएको पत्रमा विश्वका २० जना अग्रज वैज्ञानिकहरूले हस्ताक्षर गरेका छन्।
फिफाको प्रतिक्रिया
वैज्ञानिकहरूले पठाएको पत्रमा गरिएका दाबीहरूबारे फिफाले सोझै प्रतिक्रिया दिन अस्वीकर गरेको छ। तर, उसले आसन्न प्रतियोगितामा “गर्मी रोकथाम गर्ने तहगत मोडल” प्रयोग गर्ने र तात्कालिक अवस्था हेरेर उपायहरू अवलम्बन गरिने जनाएको छ। फिफाका एक प्रवक्ताका अनुसार, पूरै प्रतियोगिताभरि केन्द्र र खेल आयोजना हुने सहरहरूमा मौसमसम्बन्धी विशेष सहयोग उपलब्ध हुने छ। साथै, डब्ल्यूबीजीटी र ‘हीट इन्डेक्स’ निगरानी गरी त्यसका आधारमा निर्णय लिइने छ।
प्रवक्ताका अनुसार, जलवायुलाई ध्यानमा राखेर खेलतालिका बनाइएको छ, खेल आरम्भ हुने समय पनि त्यसअनुसार निर्धारण गरिएको छ। अत्यधिक गर्मी हुने समयमा सकेसम्म थोरै खेल राख्ने र गर्मी बढी हुने स्थानमा छानो भएका रङ्गशालामा खेल राखिएको छ। फिफाका अनुसार, यो तालिकाले यात्राका लागि लाग्ने समय घटाउने र स्थानविशेषमा हुने गर्मीको जोखिमको मूल्याङ्कनका आधारमा खेलाडीहरूलाई विश्रामका लागि यथाशक्य बढी समय उपलब्ध गराउने लक्ष्य राखेको छ। फिफाले वास्तविक समयमा निरन्तर परिस्थितिको अनुगमन गर्ने र आवश्यक परेमा वैकल्पिक उपाय अवलम्बन गरिने बताएको छ। प्रतियोगितालाई “सुरक्षित” बनाउन आफूले आयोजक देशका अधिकारीहरू र चिकित्सा क्षेत्रका विशेषज्ञहरूसँग मिलेर काम गरिरहेको दाबी पनि फिफाले गरेको छ।
