संयुक्त राज्य अमेरिकाको रक्षा मन्त्रालय पेन्टागनले हालै ‘अन्आइडेन्टिफाइड अनोमलस फनोमिना’ (UAP) वा ‘यूएफओ’ सम्बन्धी दस्ताबेजहरू सार्वजनिक गरेको छ। यी दस्ताबेजहरूमा सर्वसाधारणका साथै अन्तरिक्षयात्रीहरूले चन्द्रमाबाट देखेका अज्ञात वस्तुहरूको विवरण संलग्न छन्।
राष्ट्रपतिको निर्देशनपछि गत शुक्रवार अनलाइन पोस्ट गरिएका यी दस्ताबेजहरू यसअघि गोप्य राखिएका थिए। अमेरिकामा केही वर्षयता पृथ्वीबाहिर जीवन हुन सक्ने विषयमा निकै चासो बढेको छ। अमेरिकी कङ्ग्रेसमा सन् २०२२ मा ५० वर्षमा पहिलो पटक यूएफओबारे सुनुवाइ भएको थियो, जहाँ अमेरिकी सेनाले थप पारदर्शी हुने प्रतिबद्धता व्यक्त गरेको थियो।
पेन्टागनले आफ्नो वेबसाइटमा प्रारम्भिक रूपमा १६१ वटा फाइल उपलब्ध गराएको छ र आगामी दिनहरूमा थप दस्ताबेज सार्वजनिक हुने अपेक्षा गरिएको छ। गत फेब्रुअरीमा भूतपूर्व अमेरिकी राष्ट्रपति बराक ओबामाले एलियनहरू ‘वास्तविक हुन् तर मैले देखेको छैन’ भनेपछि यस विषयमा सर्वसाधारणको चासो अझ चुलिएको थियो। ओबामाले पछि बाह्यलोकीय जीवनको सांख्यिकीय सम्भावनाबारे टिप्पणी गरेको तर राष्ट्रपति हुँदा त्यसलाई पुष्टि गर्ने ‘कुनै प्रमाण भने नदेखेको’ स्पष्ट पारेका थिए। सोही महिना तत्कालीन राष्ट्रपति ट्रम्पले पेन्टागनलाई एलियन, बाह्यलोकीय जीवन, UAP र UFO सँग सम्बन्धित फाइलहरू सार्वजनिक गर्न निर्देशन दिएका थिए।
शुक्रवार सार्वजनिक गरिएका गोप्य फाइलहरूमा सैन्य टिपोटहरू, अमेरिकाले चन्द्रमामा पठाएका विभिन्न अपोलो मिसनका प्रतिवेदनहरू र मानिसहरूले आफूले यूएफओ देखेको दाबी तथा त्यसलाई बाह्यलोकबाट आएको हुन सक्ने बताएका विवरणहरू समेटिएका छन्।
एपोलो अन्तरिक्षयात्रीहरूले देखेका प्रकाशका झिल्काहरू
एपोलो मिशनका क्रममा सन् १९६९ मा अन्तरिक्षयात्रीहरूले चन्द्रमामा प्रकाशको एउटा अज्ञात झिल्को देखेका थिए। उक्त भागलाई यो तस्बिरमा हाइलाइट गरिएको छ र त्यसको आकृति ठूलो पारिएको छ।
सार्वजनिक गरिएका फाइलहरूमा अमेरिकाले सन् १९६० र १९७० को दशकमा चन्द्रमा अवतरणका लागि सञ्चालन गरेका एपोलो ११, एपोलो १२ र एपोलो १७ मिसनका अन्तरिक्षयात्रीहरूको वार्तालापका पहिला गोप्य राखिएका अभिलेखहरू पनि छन्। एपोलो ११ अभियानका अन्तरिक्षयात्री बज एल्ड्रिनले सन् १९६९ मा दिएको अन्तर्वार्तामा चन्द्रयात्राका क्रममा आफूले व्याख्या गर्न नसकिने घटनाहरू देखेको बताएका छन्। उनले ‘निकै उज्यालो देखिने प्रकाशको एउटा स्रोत’ लाई ‘सम्भवतः लेजर’ ठानेको बताएका छन्।
ती अभिलेखमा एपोलो १२ का अन्तरिक्षयात्री एलन बीनले आफूले ‘अन्तरिक्षमा निस्किएका’ कण र प्रकाशका झिल्काहरू देखेको उल्लेख छ, जुन ‘चन्द्रमाबाट बाहिर निस्किन लागे’ जस्तो देखिएको थियो। यस्तै, एपोलो १७ मिसनमा सहभागी दुई अन्तरिक्षयात्रीले पनि सन् १९७२ मा अन्तरिक्षयानभित्रबाट प्रकाशको झिल्को देखेको जानकारी दिएका थिए। उनीहरूका अनुसार त्यतिबेला देखिएको प्रकाश बरफका टुक्राबाट परावर्तित भएर आएको पनि हुन सक्छ। अर्को एउटा फाइलमा सन् १९६५ को ‘जेमिनाई ७’ अन्तरिक्ष उडानका बेला अन्तरिक्षयात्री फ्र्याङ्क बोर्मनले आफ्नो यानको देब्रेपट्टि एउटा अज्ञात वस्तु देखेको र त्यसलाई ‘बगी’ तथा त्यसपछाडि ‘खर्बौं साना कणहरू’ जस्तो भएको भन्दै नासाको मिसन कन्ट्रोललाई जानकारी दिएका अडिओ रेकर्डिङ छ।
प्रकाशबाट निस्किएर आकाशमा मडारिएका वस्तुहरू
सार्वजनिक गरिएका फाइलहरूमा दर्जनौँ व्यक्तिहरूले आफूले UAP अर्थात् अज्ञात तर अस्वाभाविक घटना देखेको भनेर गरेका दाबीहरू पनि संलग्न छन्। तीमध्ये एउटा फाइलमा सन् १९५७ मा एफबीआईलाई एक व्यक्तिले एउटा ठूलो र गोलो यान जमिनबाट माथितिर जाँदै गरेको बताएका थिए। सेप्टेम्बर र अक्टोबर २०२३ मा एफबीआईलाई दिएको बयानमा पनि केही अमेरिकी नागरिकहरूले आफूले चम्किलो प्रकाशबाट निस्किएका धातुका वस्तुहरू आकाशमा तैरिएको देखेको बताएका छन्।
इराक, सिरिया र यूएईमा सेनाले देखेका विवरणहरू
अमेरिकी सेनाले सन् २०२२ मा मध्यपूर्वमा खिचेका केही भिडिओ क्लिपहरू पनि सार्वजनिक भएका छन्। इराक, सिरिया र यूएईमा खिचिएका फुटेजमा केही अज्ञात तथा अस्वाभाविक घटनाहरू देखिन्छन् जसलाई पेन्टागनले ‘अन्रिजल्भ्ड अन्आइडेन्टिफाइड अनोमलस फनोमिनन’ भनेको छ। सन् २०२२ मा खिचिएको एउटा भिडिओमा एउटा अण्डाकार वस्तु बायाँबाट दायाँतिर तीव्र गतिमा अघि बढेको देखिन्छ। यद्यपि, उक्त भिडिओसँगै पेस गरिएको प्रतिवेदनमा उक्त वस्तु ‘सम्भवतः क्षेप्यास्त्र’ भएको उल्लेख छ।
सांसदहरूद्वारा स्वागत
रिपब्लिकन कङ्ग्रेसम्यान टिम बर्शेटले फाइलहरू सार्वजनिक गर्ने पेन्टागनको कदमको स्वागत गरेका छन्। यूएफओको विषयमा सरकार पारदर्शी हुनुपर्ने आवाज उठाउँदै आएका बर्शेटले सामाजिक सञ्जाल ‘एक्स’मा यसलाई ‘गजबको थालनी’ भनेका छन्। रिपब्लिकन आना पाउलिना लूनाले पनि एउटा विज्ञप्ति प्रकाशित गर्दै यसलाई ‘सही दिशामा एउटा ठूलो पहिलो कदम’ भनेकी छन्। यद्यपि, पूर्वसांसद मार्जरी टेलर ग्रीनले भने यी दस्ताबेजहरू सार्वजनिक गर्नुको उद्देश्य अमेरिकीहरूले खेपेका अन्य गम्भीर विषयहरू, जस्तै खर्च गर्न सक्ने क्षमता र इरान युद्धबाट ध्यान अन्यत्र मोड्नु रहेको दाबी गरेकी छन्। यसलाई ‘प्रपोगान्डा’को सङ्ज्ञा दिँदै उनले आफूलाई यो देखेर दिक्क लागेको ‘एक्स’मा उल्लेख गरेकी छन्।
