इन्स्टाग्रामले ‘अल्ट्रा-प्राइभेट डिरेक्ट मेसिज’ पठाउन सक्ने सुविधा बन्द गरेको छ। प्रयोगकर्ताहरूले एकअर्कालाई पठाउने सन्देशबाट एन्ड-टु-एन्ड इन्क्रिप्शन (E2EE) हटाउनुले इन्स्टाग्रामको माउकम्पनी मेटाको नीतिमा ठूलो परिवर्तन आएको सङ्केत गर्छ। यसअघि मेटाले यो प्रविधिलाई प्रयोगकर्ताको गोपनीयता कायम गर्ने ‘सुनौलो मानक’का रूपमा प्रवर्धन गर्दै आएको थियो। E2EE लाई अनलाइन सन्देश आदानप्रदान गर्ने सबैभन्दा सुरक्षित उपाय मानिन्छ, जसमा सन्देश पठाउने र पाउने प्रयोगकर्ताले मात्र सन्देश हेर्न पाउँछन्।
तर, कुनै निकायले हस्तक्षेप गर्न नसक्ने गरी यो माध्यमबाट आपत्तिजनक सामग्री पठाइन सक्ने भन्दै अभियानकर्ताहरूले निकै पहिलादेखि विरोध गर्दै आएका थिए। बालबालिकाको हितका लागि काम गर्ने समूहसहित विभिन्न संस्थाहरूले मेटाको यो निर्णयलाई स्वागत गरेका छन् भने गोपनीयताका पक्षधरहरूले यसको विरोध गरेका छन्। E2EE बन्द गरेपछि अब इन्स्टाग्रामले तस्बिर, भिडिओ र भोइस नोटसहित ‘डीएम’मा हुने सबै सामग्री हेर्न सक्ने छ।
गोपनीयता कायम रहने आश्वासनसहित सन् २०१९ मा मेटाले फेसबुक र इन्स्टाग्राममा सन्देश आदानप्रदान गर्ने यो विधि थाल्ने प्रतिबद्धता व्यक्त गरेको थियो। फेसबुक मेसिन्जरमा सो सुविधा सन् २०२३ मा उपलब्ध गराइयो। इन्स्टाग्राममा भने उक्त सुविधा ऐच्छिक थियो, तर सात वर्षपछि मेटाले यो सुविधा व्यापक रूपमा विस्तार नगर्ने निर्णय गरेको छ। अब इन्स्टाग्राममा ‘स्ट्यान्डर्ड इन्क्रिप्शन’ मात्र उपलब्ध हुनेछ, जसअनुसार आवश्यक परेमा इन्टरनेट सेवाप्रदायकले निजी सामग्रीहरू पनि हेर्न सक्नेछन्। जीमेलजस्ता अधिकांश मुख्य अनलाइन सेवाहरूमा यो प्रणाली सामान्य रूपमा प्रयोग हुँदै आएको छ।

“तपाईँको निजी सञ्चार सुरक्षित हुनुपर्छ,” मेटाका प्रमुख कार्यकारी मार्क जकर्बर्गले सन् २०१९ मा भनेका थिए।
मेटाले इन्स्टाग्राममा E2EE लागु गर्ने योजना परित्याग गरेको सार्वजनिक घोषणा गरेको छैन। बरु, कम्पनीले गत मार्च महिनामा एप प्रयोगका लागि निर्धारित सर्तहरू चुपचाप परिमार्जन गर्यो। परिमार्जित सर्तमा भनिएको छ: “इन्स्टाग्राममा ८ मे २०२६ पछि एन्ड-टु-एन्ड इन्क्रिप्टेड सन्देश आदानप्रदान सेवा उपलब्ध हुने छैन।” साथै, “यदि यो परिवर्तनबाट तपाईँका च्याटहरू प्रभावित भएका छन् भने तपाईँ आफूले चाहेका सामग्री वा सन्देशहरू कसरी डाउनलोड गर्ने भन्ने निर्देशन देख्नुहुने छ।”
मेटाले निकै कम प्रयोगकर्ताले मात्र उक्त सुविधा प्रयोग गरेको हुनाले यो निर्णय गरिएको संवाददाताहरूलाई बताएको छ। तर टिप्पणीकर्ताहरूका अनुसार ऐच्छिक सुविधा प्रयोग गर्नेहरूको सङ्ख्या प्रायः कम नै हुन्छ। ग्रेशम कलेजमा आईटी विषय प्राध्यापन गर्ने भिक्टोरिया बाइन्सजस्ता साइबरसुरक्षाविज्ञहरू मेटाको यो निर्णयले उसको गोपनीयताबारेको धारणामा परिवर्तन भएको सङ्केत गर्ने बताउँछन्। उनले भनिन्, “सामाजिक सञ्जालका मञ्चहरूले लक्षित गर्न सकियोस् भनेर हाम्रा पोस्ट, लाइक र सन्देशसहितका सञ्चारलाई मनिटाइज गर्छन्।” बाइन्सका अनुसार, “मेटाजस्ता कम्पनीहरू बढ्दो क्रममा एआई मोडलहरूलाई तालिम दिन आफ्नो ध्यान केन्द्रित गर्दै छन्, त्यसका लागि सन्देशको डेटा निकै महत्त्वपूर्ण हुन सक्छ। मलाई यो निर्णय अझ जटिल छ जस्तो लाग्छ।” पहिले इन्स्टाग्रामले एआईलाई तालिम दिन डीएमहरू प्रयोग नगरिएको बताएको थियो। इन्स्टाग्रामले गोपनीयताको विषयमा निर्णय उल्ट्याइएकोबारे थप प्रतिक्रिया दिन गरिएको अनुरोध अस्वीकार गरेको छ, र इन्स्टाग्रामका प्रमुख एडम मोसेरीले अन्तर्वार्ता दिन पनि मानेनन्।

लस एन्जलिसमा सामाजिक सञ्जालको कुलतको विषयमा एउटा मुद्दा परेको थियो। उक्त मुद्दामा मेटा र गुगल दोषी भएको ठहर भएका थिए।
गत महिना मेटाले आफ्ना कर्मचारीलाई कार्यालयले उपलब्ध गराउने सञ्चारका साधनहरूमा उनीहरूले गर्ने क्लिकसहितको गतिविधि एआई मोडललाई तालिम दिन चाहिने डेटाका लागि सङ्कलन गर्ने बताएको थियो। बिग ब्रदर वाचजस्ता अभियानकर्ताहरू भन्छन् मेटाको निर्णयबाट बृहत्तर सामाजिक सञ्जाल उद्योग नै प्रभावित हुन सक्छ। केही समयअघिसम्म E2EE को प्रयोग विस्तार भइरहेको देखिएको थियो। उदाहरणका लागि, सिग्नल, ह्वाट्स्याप, फेसबुक मेसिन्जर, एपलको आईमेसिज र गुगल मेसिसिजमा E2EE स्वतः प्रयोग हुन्छ। यद्यपि, टेलिग्रामले यसलाई ऐच्छिक बनाएको छ भने एक्स (पहिलेको ट्विटर) ले डीएमका लागि समान प्रणाली प्रयोग गरे पनि आलोचकहरूले त्यसले मापदण्ड पूरा नगर्ने औँल्याएका छन्। स्न्याप्च्याटले डीएममा पठाइने तस्बिर र भिडिओका लागि E2EE प्रयोग गर्छ र अक्षराङ्कित सन्देशमा पनि यसको प्रयोग गर्ने बताएको छ। डिस्कर्डले भोइस र भिडिओ कललाई स्वतः E2EE प्रयोग गरेर सुरक्षित बनाउने योजना बनाएको छ। मार्च महिनामा टिकटकले डीएममा यो प्रविधि प्रयोग गर्ने आफ्नो योजना नभएको बताएको १४ दिनपछि इन्स्टाग्रामले आफ्नो प्रयोगका सर्तहरू अद्यावधिक गर्दै E2EE विस्तार नगर्ने पुष्टि गर्यो। यस्ता निर्णयहरूका कारण E2EE को विस्तार रोकिन सक्छ र भविष्यमा यो प्रविधि विशुद्ध मेसिजिङ एपहरूमा मात्र सीमित हुन सक्ने सम्भावना रहेको बेन्सजस्ता टिप्पणीकर्ताहरू बताउँछन्।
