वैशाख १०, २०८३ बिहीबार २०:५:३३
सर्वाधिक पुरस्कार राशिको १३औं रारा गोल्डकप वैशाख १८ गतेदेखि, राष्ट्रिय कप्तान किरण चेम्जोङले कप्तानी गर्ने
धनकुटा : जिल्लाकै सर्वाधिक पुरस्कार राशिको १३औं रारा गोल्डकप फुटबल प्रतियोगिता आगामी वैशाख १८ गतेदेखि सञ्चालन हुने भएको छ। रारा फुटबल क्लबको आयोजनामा चौबिसे गाउँपालिका–राजारानीस्थित पुण्य माध्यमिक विद्यालयको खेलमैदानमा वैशाख १८ गतेदेखि २२ गतेसम्म यो प्रतिष्ठित प्रतियोगिता आयोजना गरिने भएको हो। चण्डीपूर्णिमा तथा बुद्धजयन्तीको पावन अवसर पारेर हरेक वर्ष आयोजना हुँदै आएको यस प्रतियोगिताले यस क्षेत्रको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
प्रतियोगिताको विजेताले नगद ७ लाख रुपैयाँसहित आकर्षक ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीले नगद ३ लाख रुपैयाँ र ट्रफी हात पार्नेछ। आयोजकले दिएको जानकारीअनुसार, प्रतियोगिता सञ्चालनका लागि चौबिसे गाउँपालिकाले १४ लाख रुपैयाँको महत्वपूर्ण आर्थिक सहयोग गरेको छ। क्लबका सचिव जीवन कटुवालले गाउँपालिकाको सहयोगले प्रतियोगितालाई भव्य बनाउन थप उत्साह मिलेको बताए।
विधागत पुरस्कारतर्फ पनि आकर्षक राशिको व्यवस्था गरिएको छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। यसैगरी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता र उदयीमान खेलाडीलाई जनही १०/१० हजार रुपैयाँ प्रदान गरिनेछ। प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने ‘म्यान अफ दि म्याच’ खेलाडीलाई नगद ७ हजार रुपैयाँसहित पुरस्कृत गरिने आयोजकले जनाएको छ। यी पुरस्कारहरूले खेलाडीहरूलाई थप ऊर्जा प्रदान गर्ने विश्वास लिइएको छ।
यस वर्षको प्रतियोगितामा आयोजक रारा फुटबल क्लबसहित कुल ८ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष मणी चेम्जोङले जानकारी दिए। प्रतियोगितामा भाग लिने टोलीहरूमा रारा फुटबल क्लब (आयोजक), सलेह फुटबल क्लब (सर्लाही), विर्तामोड युनाइटेड (झापा), आरआइएफसी (काठमाडौं), केराबारी फुटबल क्लब (सुनसरी), धरान फुटबल क्लब (सुनसरी), गाईघाट फुटबल क्लब (उदयपुर) र डाँडाबजार फुटबल क्लब (धनकुटा) रहेका छन्। यी टोलीहरूबीच उपाधिका लागि रोमाञ्चक प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ।
गत वर्षको १३औं रारा गोल्डकपको उपाधि झापाको विर्तामोड युनाइटेड क्लबले जितेको थियो। यस वर्षको प्रतियोगितामा थप आकर्षणका रूपमा नेपाली राष्ट्रिय टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङले आयोजक टिमको कप्तानी सम्हाल्ने भएका छन्। राजारानी उनको जन्मथलो भएकाले घरेलु टिमको नेतृत्व गर्दै उपाधि घरमै राख्ने लक्ष्यका साथ उनी मैदानमा उत्रिने सचिव कटुवालले बताए। राष्ट्रिय कप्तानको सहभागिताले प्रतियोगिताको गरिमा अझ बढ्ने र दर्शकको उत्साह थपिने निश्चित छ।
प्रतियोगितालाई सफल पार्न विभिन्न संघसंस्थाको साथ रहेको छ। चौबिसे गाउँपालिका यस प्रतियोगिताको संरक्षकका रूपमा रहेको छ। अग्नी बसुन्धरा स्मृति प्रतिष्ठान र राजारानी खानेपानी तथा बजार व्यवस्थापन समिति मुख्य सहयोगीका रूपमा कार्यरत छन्। गोर्खा ब्रुअरीले प्रतियोगिताको मुख्य प्रायोजन गरेको छ। यस भव्य प्रतियोगिता सम्पन्न गर्न करिब ३६ लाख ५० हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ। आयोजक समिति प्रतियोगितालाई सफल र ऐतिहासिक बनाउन अन्तिम तयारीमा जुटेको छ।
