तस्बिर स्रोत, Pool/Getty Images
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग कुनै सम्झौता नभएसम्म इरानी बन्दरगाहहरूमा लगाइएको नाकाबन्दी अन्त्य नहुने स्पष्ट पारेका छन्। अमेरिका र इरानबीच जारी युद्धविरामको म्याद समाप्त हुनु केही दिनअघि यो टिप्पणी आएको हो, जबकि युद्ध अन्त्यका लागि प्रस्तावित दोस्रो चरणको वार्ता अझै अनिश्चित छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशलमा गरेको पोस्टमा एक साताअघि सुरु भएको नाकाबन्दीले “इरानलाई पूर्ण रूपमा ध्वस्त बनाइरहेको” उल्लेख गरेका छन्। उनले यो द्वन्द्वमा आफ्नो देश “धेरैले” जितेको दाबी गरेका छन्। अमेरिका र इरानबीचको युद्धविराम बुधबार समाप्त हुँदैछ।
पाकिस्तानमा हुने भनिएको दोस्रो चरणको शान्ति वार्ताको तयारीका लागि राजधानी इस्लामाबादमा सुरक्षा व्यवस्था कडा पारिएको छ। तर, अमेरिकी प्रतिनिधिमण्डलको नेतृत्व गर्ने भनिएका उपराष्ट्रपति जेडी भान्स अझै वासिङ्टनबाट बाहिरिएका छैनन्। अर्कोतर्फ, इरानले पनि वार्तामा सहभागी हुने वा नहुनेबारे कुनै निर्णय गरिनसकेको जनाएको छ।
इरानमाथि अमेरिकी सामुद्रिक नाकाबन्दी सुरु भएयता अमेरिकी सेनाको केन्द्रीय कमान्ड ‘सेन्टकम’ ले २७ वटा जहाजलाई फर्केर जान वा इरानी बन्दरगाह बाहिर नजान निर्देशन दिएको जानकारी दिएको छ।
होर्मुज स्ट्रेटमा दोहोरो नाकाबन्दी
तस्बिर स्रोत, Reuters
अमेरिकी सेनाले आइतबार नाकाबन्दीको अटेर गर्ने प्रयास गरेपछि पहिलो पटक एउटा इरानी झन्डावाहक जहाज नियन्त्रणमा लिएको बताएको छ। सेन्टकमले सार्वजनिक गरेका भिडिओमा सुरुमा जहाजलाई चेतावनी दिइएको र त्यसपछि सैनिकहरूले नियन्त्रणमा लिएको देखिन्छ। इरानले यो कदमलाई “डकैती” र दुई देशबीचको युद्धविरामको उल्लङ्घन भनेको छ।
विश्वकै अति महत्त्वपूर्ण जलमार्गमध्येको होर्मुज स्ट्रेटमा इरानले करिब दुई महिनादेखि आफ्नै नाकाबन्दी कायम राखेको छ, जसका कारण विश्वभर ऊर्जाको मूल्य तीव्र गतिमा बढेको छ। यो जलमार्ग वरपर अहिले अमेरिकाले पनि इरान लक्षित सामुद्रिक नाकाबन्दी घोषणा गरेको छ।
शनिबार केही समयका लागि होर्मुजको जलमार्ग खोलिएको थियो, तर त्यसलगत्तै ट्याङ्करसहितका जहाजहरू लक्षित आक्रमण हुन थालेको विवरण आएपछि यो जलमार्ग पुनः बन्द गरियो। ट्रम्पले जहाजहरूमाथि इरानले “गोली चलाउने निर्णय गरेको” भन्दै उक्त कार्यलाई युद्धविरामको “पूर्ण उल्लङ्घन” भनेका छन्।
वार्ता हुने सङ्केत कायमै
तस्बिर स्रोत, Getty Images
तेहरानले आफ्नो प्रतिनिधिमण्डल पठाउने आधिकारिक पुष्टि नगरे पनि अमेरिका र इरानबीच दोस्रो चरणको शान्ति वार्ता हुने केही सङ्केत भने देखिएका छन्। पहिलो चरणको वार्तापछि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले अमेरिका अघि सारेका सर्तहरू स्वीकार गर्न इरान तयार नभएको बताएका थिए। इरानको विदेश मन्त्रालयले पनि वासिङ्टनलाई “अत्यधिक माग र गैरकानुनी अनुरोध” नगर्न भनेको थियो।
जानकारहरूले दोस्रो चरणको सम्भावित वार्ता निर्णायक मोडमा रहेको बताएका छन्। स्रोतका अनुसार, अमेरिकी प्रतिनिधिमण्डल “छिट्टै” इस्लामाबादतर्फ लाग्ने तयारीमा छ, यद्यपि समय यकिन भएको छैन। न्यूयोर्क टाइम्ससँग कुरा गरेका अधिकारीहरूले अमेरिकी वार्ता टोली मंगलबार प्रस्थान गर्ने बताएका छन्।
तर, सोमबार अबेरसम्म पनि इरानको विदेश मन्त्रालयका प्रवक्ताले “अहिलेसम्म” वार्तामा सहभागी हुने कुनै योजना नभएको दोहोर्याएका छन्। अमेरिकी वार्ता टोलीमा यसअघि जस्तै उपराष्ट्रपति भान्ससँगै राष्ट्रपति ट्रम्पका विशेष दूत स्टीभ विट्कोफ र ट्रम्पका ज्वाइँ तथा सल्लाहकार ज्यारड कुश्नर लगायत सहभागी हुने बताइएको छ। इरानको तर्फबाट वार्ताका लागि प्रतिनिधिमण्डल आएको खण्डमा कोको आउँछन् भन्ने अझै स्पष्ट छैन।
इरानले वार्ताबारे टुङ्गो नगरे पनि इस्लामाबादमा वार्ताको तयारीका सङ्केत देखिएका छन्। पहिलो चरणको वार्ता भएको सेरेना होटलका पाहुनाहरूलाई होटलबाट सर्न भनिएको छ। विदेशी टोलीको सम्भावित आगमनलाई ध्यानमा राख्दै मुख्य सडक पनि बन्द गरिने प्रहरीले बताएको छ। रोएटर्स समाचार एजेन्सीसँग कुरा गर्दै पाकिस्तानका एक वरिष्ठ सरकारी अधिकारीले आफ्नो देश इरानलाई विश्वस्त बनाएर वार्तामा ल्याउन सक्षम हुने दाबी गरेका छन्। परिस्थितिको अनिश्चितताका बाबजुद वार्ता हुने सम्भावना भने कायमै रहेको राजनीतिक विश्लेषकहरूले औँल्याएका छन्।
