काठमाडौं । नेपालमा हरेक वर्षको चैत महिना वन डढेलोको उच्च जोखिममा रहने गर्दछ । तर, यस वर्षको चैतमा भने डढेलोका घटनामा उल्लेख्य गिरावट आएको छ । मनसुनपूर्व नै औसतभन्दा बढी वर्षा भएका कारण अघिल्ला वर्षहरूको तुलनामा वन डढेलोका घटनामा कमी आएको वन तथा भू-संरक्षण विभागको तथ्याङ्कले देखाएको छ ।
विभागको तथ्याङ्कअनुसार, २०७८ चैतमा ४६६ वटा डढेलोका घटना दर्ता भएकामा २०८२ चैतमा ७९ वटा मात्र घटना अभिलेख भएका छन् । विगत चार वर्षको तुलनामा यो सङ्ख्या उल्लेखनीय रूपमा कम हो । समग्रमा, २०७८ मा २ हजार १६२, २०७९ मा १ हजार २७०, २०८० मा २ हजार ५५ र २०८१ मा ३ हजार ४७ वटा डढेलोका घटना भएकामा २०८२ मा ४२४ वटा मात्र घटना दर्ता भएका छन् ।
वन तथा वातावरण मन्त्रालयका सचिव डा. गोविन्दप्रसाद शर्माले यस वर्ष मनसुनपूर्वको वर्षाले वन डढेलोमा कमी आएको पुष्टि गरेका छन् । उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा डढेलो व्यवस्थापनबारे छलफल भई ड्रोन खरिद तथा मनसुनजन्य विपद्का लागि स्रोत व्यवस्थापन गर्ने निर्णय भएको जानकारी दिए । वन तथा भू-संरक्षण विभागका महानिर्देशक धीरेन्द्रकुमार प्रधानले जलवायु परिवर्तन, लामो सुक्खा अवधि, न्यून आर्द्रता, उच्च तापक्रम र मानवीय गतिविधिलाई डढेलो जोखिमका मुख्य कारण बताए ।
विभागको प्रतिवेदनअनुसार, कुल घटनाको करिब ८९ प्रतिशत डढेलो फागुनदेखि वैशाखसम्ममा हुने गर्छन् र वैशाख सबैभन्दा जोखिमयुक्त महिनाका रूपमा रहेको छ । वन डढेलो नियन्त्रण कार्ययोजना २०८२ ले ६४ प्रतिशत डढेलो मानिसको जानाजानी, ३२ प्रतिशत लापरबाही र ४ प्रतिशत अज्ञात कारणले लाग्ने गरेको औंल्याएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, विगत पाँच वर्षमा वन डढेलोका कारण करिब ९१ करोड ७९ लाख रुपैयाँको आर्थिक क्षति भएको छ ।
प्रदेशगत रूपमा हेर्दा, पछिल्ला वर्षहरूमा लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित देखिएको थियो । तर, २०८२ मा सबै प्रदेशमा डढेलो घटनामा कमी आएको छ । उदाहरणका लागि, लुम्बिनीमा २०८१ को ६९८ बाट २०८२ मा ४४, कर्णालीमा ५७५ बाट ५७, सुदूरपश्चिममा ५२५ बाट १३१, बागमतीमा ४७५ बाट ७६, गण्डकीमा २४९ बाट ३५, कोशीमा २८७ बाट ३१ र मधेशमा २३८ बाट ५० मा घटना घटेका छन् । २०८२ मा सबैभन्दा बढी सुदूरपश्चिममा र सबैभन्दा कम कोशी प्रदेशमा डढेलोका घटना अभिलेख भएका छन् ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालले यस वर्ष मनसुनपूर्वको अवधिमा सरदरभन्दा बढी वर्षा ‘रेकर्ड’ भएको बताए । सामान्यतया करिब ३० प्रतिशत वर्षा हुने यस अवधिमा यस वर्ष ४४.३ प्रतिशत वर्षा भइसकेको उनको भनाइ छ । कुल १०१.४ मिलिमिटर वर्षाले सुक्खा अवस्था कम गरी वन डढेलोको जोखिम घटाउन महत्त्वपूर्ण सहयोग पुगेको ढकालले जानकारी दिए ।
