काठमाडौँ, वैशाख २ गते । नेपाल र चीनबीचको बहुआयामिक सम्बन्ध तथा सभ्यतामूलक मित्रताको गहिराइलाई उजागर गर्ने उद्देश्यले ‘सेभेन्टी इयर्स अफ नेपाल–चाइना रिलेसन्स अ मोडल फर सिभिलाइजेस्नल फ्रेन्डसिप’ नामक पुस्तक सार्वजनिक गरिएको छ । यस ग्रन्थले दुई राष्ट्रबीचको ऐतिहासिक, सांस्कृतिक र कूटनीतिक सम्बन्धका विभिन्न पक्षहरूमाथि विस्तृत विवेचना प्रस्तुत गरेको छ।
नेपाल इन्सटिच्युसन फर इन्टरनेसनल कोअपरेसन एन्ड इङ्गेजमेन्ट (नाइस) र चीनको फुडान युनिभर्सिटीको संयुक्त सहकार्यमा दिल्लीस्थित अड्रोइट प्रकाशनले उक्त पुस्तक प्रकाशन गरेको हो । चिनियाँ प्रोफेसर डा. चाङ चिन्डोङ र नेपाली विज्ञ विवेकध्वज थापाद्वारा सम्पादित यो महत्त्वपूर्ण कृति आज काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच लोकार्पण गरियो ।
पुस्तकको संयुक्त लोकार्पण नेपालका लागि चिनियाँ पूर्वराजदूतद्वय डा. महेशकुमार मास्के र विष्णुपुकार श्रेष्ठ, चिनियाँ प्रोफेसर चिन्डोङ तथा सम्पादक थापाले गर्नुभयो । सो अवसरमा बोल्दै पूर्वराजदूत डा. महेशकुमार मास्केले नेपाल र चीनबीचको सम्बन्ध केवल कूटनीतिक फ्रेमवर्कमा मात्र सीमित नरही सभ्यताको गहिरो जगमा आधारित रहेको तथ्यमाथि प्रकाश पार्नुभयो । उहाँले यस सम्बन्धलाई सतही कूटनीतिक दृष्ट्रिकोणबाट मात्रै मूल्याङ्कन गर्न नमिल्ने तर्क प्रस्तुत गर्नुभयो । डा. मास्केले नेपालले ‘एक चीन नीति’ लाई निरन्तर समर्थन गर्दै आएको र चीनले नेपालको पछिल्लो राजनीतिक विकासक्रमलाई नजिकबाट नियालिरहेको बताउनुभयो ।
त्यसैगरी, अर्का पूर्वराजदूत विष्णुपुकार श्रेष्ठले नेपाल र चीनको मित्रता अन्य राष्ट्रहरूसँगको सम्बन्धभन्दा पृथक् र विशिष्ट रहेको औँल्याउनुभयो । उहाँका अनुसार कूटनीतिक रूपमा करिब ७० वर्षअघि औपचारिक मित्रता सुरु भएजस्तो देखिए पनि वस्तुतः योभन्दा धेरै पहिले, अर्थात् तेस्रो शताब्दीदेखि नै सभ्यतागत आधारमा दुई देशबीच सम्बन्ध विस्तार भइरहेको थियो । श्रेष्ठले भन्नुभयो, “हाम्रो मुख्य मित्रताको केन्द्र भनेकै सभ्यता हो । प्राचीनदेखि आधुनिक कूटनीतिक सम्बन्धको यात्रा हेर्दा नेपाल–चीनको सम्बन्ध निरन्तर मजबुत बन्दै गएको छ ।”
चिनियाँ प्रोफेसर चाङ चिन्डोङले नेपालमा युवा पुस्ताको सरकार आएसँगै दुई देशबीचको कूटनीतिक सम्बन्धले आधुनिक उचाइ प्राप्त गर्न थप मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्राचीन सभ्यताले जोडेको यस सम्बन्धलाई अब डिजिटल युग र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता समकालीन प्रविधिका क्षेत्रमा समेत सहकार्य विस्तार गरी थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो ।
पुस्तकका सम्पादक विवेकध्वज थापाले यस ग्रन्थमा ट्रान्स हिमालयन कनेक्टिभिटी, सफ्ट पावर इङ्गेजमेन्ट र चीन-नेपाल सम्बन्धको ऐतिहासिक विकासक्रम लगायतका महत्त्वपूर्ण विषयहरूमा केन्द्रित लेखहरू समावेश गरिएको जानकारी दिनुभयो । यसमा नेपाल र चीन दुवै देशका ख्यातिप्राप्त विज्ञहरूद्वारा लिखित कुल ३४ वटा गहन लेखहरू छन् । लेखक प्रशान्तकुमार विकले यो पुस्तक चीन र नेपालका विद्वानहरूले सहकार्य गरेर लेखिएको पहिलो महत्त्वपूर्ण ग्रन्थ भएको बताउनुभयो, जसले दुई देशका बौद्धिक समुदायबीचको आदानप्रदान र समझदारीलाई अझ गहिरो बनाउने अपेक्षा गरिएको छ ।
