विश्वव्यापी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) च्याटबोट बजारमा तीव्र प्रतिस्पर्धा बढेको छ। ओपनएआईको च्याटजीपीटीले अग्रणी स्थान कायम राखे पनि गुगलको जेमिनी र एनथ्रोपिकको क्लोडले पछिल्लो एक वर्षमा आफ्नो बजार हिस्सा उल्लेख्य रूपमा बढाउँदै च्याटजीपीटीको वर्चस्वमा चुनौती थपेका छन्। सिमिलरवेबको तथ्यांक उद्धृत गर्दै भिजुअल क्यापिटलिस्टले सार्वजनिक गरेको विवरणले एआई च्याटबोटको परिदृश्य द्रुत गतिमा परिवर्तन भइरहेको देखाएको छ।
सन् २०२६ को सेप्टेम्बरमा विश्वभरका एआई च्याटबोट वेबसाइटहरूमा भएका कुल भ्रमणमध्ये च्याटजीपीटीको हिस्सा ५६.४ प्रतिशत थियो। उक्त महिना च्याटजीपीटीको वेबसाइटमा करिब पाँच अर्ब ९० करोड पटक भ्रमण भएको थियो। यद्यपि, सन् २०२६ को जनवरीमा पाँच अर्ब ७० करोड रहेको मासिक भ्रमण सेप्टेम्बरमा पाँच अर्ब ९० करोड पुगे पनि, प्रतिस्पर्धीहरूको तीव्र वृद्धिका कारण यसको बजार हिस्सा सापेक्षिक रूपमा खुम्चिएको हो।
गुगलको जेमिनी २५ प्रतिशत बजार हिस्सासहित दोस्रो स्थानमा उक्लिएको छ। सेप्टेम्बर २०२६ मा जेमिनीको वेबसाइटमा दुई अर्ब ६१ करोड पटक भ्रमण भएको थियो। सन् २०२५ को अन्त्यतिर गुगलले जेमिनी ३ सार्वजनिक गरेपछि र ठूलो प्रयोगकर्ता आधारको लाभ उठाएपछि यसको मासिक वेबसाइट भ्रमण एक अर्ब १० करोडबाट बढेर दुई अर्ब ६० करोडभन्दा माथि पुगेको थियो।
यसैबीच, एनथ्रोपिकको क्लोडले ९.६ प्रतिशत बजार हिस्सासहित तेस्रो स्थान हासिल गरेको छ। सन् २०२५ को अक्टोबरमा २.३ प्रतिशत मात्रै रहेको यसको बजार हिस्सा एक वर्षभन्दा कम अवधिमा उल्लेख्य विस्तार गर्दै सेप्टेम्बर २०२६ मा करिब एक अर्ब पटक भ्रमण भएको तथ्यांकमा उल्लेख छ। कोडिङ र ज्ञानमा आधारित कार्यमा प्रभावकारी प्रदर्शन, रहित सेवा तथा सन् २०२६ को सुरुवातमा गरिएको बजारीकरणले क्लोडको यो तीव्र विस्तारमा योगदान पुर्याएको हो। यस अवधिमा यसको मासिक वेबसाइट भ्रमण १५ करोड ७० लाखबाट बढेर एक अर्ब पुगेको थियो।
च्याटजीपीटी र जेमिनीले मात्रै विश्वव्यापी एआई च्याटबोट वेबसाइटको कुल भ्रमणको ८० प्रतिशतभन्दा बढी हिस्सा ओगटेका छन्। यसले बजारमा यी दुई प्रमुख खेलाडीहरूको गहिरो प्रभाव दर्शाउँछ।
अन्य प्रमुख एआई च्याटबोटहरूको बजार हिस्सा भने घटेको छ। चौथो स्थानमा डीपसिकको ३.४ प्रतिशत (३५ करोड ६० लाख भ्रमण), एक्सएआईको ग्रोकको २.३ प्रतिशत (२४ करोड १० लाख), माइक्रोसफ्टको कोपाइलटको १.५ प्रतिशत (१५ करोड ७० लाख) र पर्प्लेक्सिटीको ०.९ प्रतिशत (नौ करोड ४० लाख) भ्रमण हिस्सा रहेको छ। सन् २०२५ को अक्टोबरदेखि २०२६ को सेप्टेम्बरसम्मको अवधिमा यी चारवटै प्लेटफर्मको संयुक्त बजार हिस्सा ११.४ प्रतिशतबाट घटेर ८.१ प्रतिशतमा झरेको छ। यो हिस्सा तेस्रो स्थानमा रहेको क्लोडको एकल बजार हिस्साभन्दा पनि कम हो।
समग्रमा, एआई च्याटबोट बजारमा प्रतिस्पर्धा निकै तीव्र बनेको छ। च्याटजीपीटीको प्रयोगकर्ता आधार ठूलो रहे पनि, जेमिनी र क्लोडजस्ता प्रतिस्पर्धी प्लेटफर्महरूको द्रुत विस्तारले यसको बजार प्रभुत्वलाई निरन्तर चुनौती दिइरहेको छ। यो प्रवृत्तिले एआई च्याटबोटको भविष्य अझ गतिशील र प्रतिस्पर्धी हुने संकेत गर्दछ।
प्रकाशित: ११ कार्तिक २०८३ २०:११ बुधबार
