खजुरा, चैत २८ गते ।
बाँकेको खजुरामा जारी दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिका लागि सितापुर युनाइटेड र राइजिङ स्टार क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । दुवै टोलीले सेमिफाइनलमा आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् । चैत २९ गते आइतबार योगिनी माविको खेल मैदानमा फाइनल खेल हुनेछ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा सीतापुर युनाइटेडले आयोजक योगिनी युवा क्लब ‘बी’ लाई १–० गोल अन्तरले पराजित गरेको थियो । योगिनी माविको खेल मैदानमा भएको उक्त खेलमा घरेलु टोलीविरुद्ध शम्भु थारुले गरेको एक मात्र गोल निर्णायक सावित भयो । खेलको २६औँ मिनेटमा विपक्षी रक्षकलाई छकाउँदै थारुले उत्कृष्ट गोल गरेका थिए । उक्त खेलमा सितापुर युनाइटेडका कप्तान राम ओली ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो । उहाँलाई खेलको उत्कृष्ट खेलाडीको ट्रफी मोती सुनार र पार्वती शाहीले प्रदान गर्नुभएको थियो ।
यसैगरी, दोस्रो सेमिफाइनलमा राइजिङ स्टार क्लबले आयोजक योगिनी युवा क्लब ‘ए’ लाई पेनाल्टी सुटआउटमा ३–१ ले पाखा लगाउँदै फाइनल यात्रा तय गरेको छ । निर्धारित समयसम्म खेल गोलरहित बराबरीमा टुंगिएपछि पेनाल्टी सुटआउटमार्फत नतिजा निकालिएको थियो । पेनाल्टीमा राइजिङ स्टारको तर्फबाट प्रख्यात परियार, क्षितिज रानामगर र समिर कसेराले सफलतापूर्वक गोल प्रहार गरेका थिए । योगिनी युवा क्लब ‘ए’ को तर्फबाट भने निराजनजंग शाहीले मात्र गोल गर्न सफल भएका थिए । यो जितमा राइजिङ स्टारका गोलकिपर गोकर्ण पुनको प्रदर्शन महत्वपूर्ण रह्यो, जसका लागि उहाँ ‘प्लेयर अफ द म्याच’ घोषित हुनुभयो । उहाँलाई पिमति राना क्षेत्री र नन्दबहादुर खत्रीले उत्कृष्ट खेलाडीको ट्रफी प्रदान गरी सम्मान गर्नुभएको थियो ।
योगिनी युवा क्लबको आयोजनामा भइरहेको यस प्रतियोगितामा बाँके र बर्दिया जिल्लाका कुल १३ टिमको सहभागिता रहेको छ । स्थानीय प्रतिभालाई प्रोत्साहन गर्ने र फुटबल खेलको विकासमा टेवा पुर्याउने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता चैत २९ गतेसम्म चल्नेछ । प्रतियोगितामा प्रमुख टिमहरूमा सीतापुर युनाइटेड, राइजिङ स्टार, आयोजक योगिनी युवा क्लब ‘ए’ र ‘बी’ लगायतका टोलीहरू सहभागी रहेको आयोजक क्लबका अध्यक्ष कमल पुनले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेता टोलीले नगद ५१ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् । साथै, प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि विशेष सम्मान गरिनेछ । यसअन्तर्गत सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरलाई आकर्षक पुरस्कारले पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष पुनले बताउनुभयो । आइतबार हुने फाइनल खेललाई लिएर स्थानीय खेलप्रेमीहरूमाझ उत्साह छाएको छ ।
