काठमाण्डूस्थित परराष्ट्र मन्त्रालयले इरानको नियन्त्रणमा रहेका नेपाली नागरिक अमृत झा सकुशल रहेको र उनको भेट एक वकिलसँग भइसकेको पुष्टि गरेको छ। उदयपुरका ३३ वर्षीय झा करिब दुई साताअघि इरानमा पक्राउ परेका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार झालाई मध्यपूर्वमा तनाव सुरु हुनुअघि नै इरानी सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए। उनी यूएईमा मुख्यालय रहेको ब्ल्याक सी मरीन एलएलसी नामक कम्पनीको पानीजहाजको चालकदलका सदस्य हुन्। पारिवारिक जानकारीअनुसार झालाई इरानको रेभलूशनरी गार्ड कोरले ‘स्ट्रेट अफ होर्मुज’ नजिकैबाट नियन्त्रणमा लिएको थियो जब उनी दुबईबाट इरानतर्फ तेल लिन जाँदै थिए।
त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले अमृत झाको रिहाइका लागि परराष्ट्र मन्त्रालयमा टेलिफोनमार्फत र पत्राचार गरी पहल गरेको बताएका छन्। उनले मन्त्रालयबाट मन्त्रीस्तरबाटै पहल भइरहेको जवाफ प्राप्त भएको जानकारी दिए। परिवारका अनुसार झासँगै ६-७ जना पक्राउ परेका थिए। १२ वर्षदेखि पानीजहाज कम्पनीमा कार्यरत झा दुई वर्षअघि क्याप्टेन बनेका हुन्।
अमृतका बुवा गोविन्द र आमा प्रभावती झा उदयपुरको गाईघाटमा किराना पसल चलाउँछन्। आमा प्रभावतीले टेलिफोनमा कुराकानी गर्दै आफ्नो छोरा कुनै अपराधी नभएको र इरान सरकारलाई उनलाई चाँडोभन्दा चाँडो रिहा गर्न आग्रह गरिन्। उनले “छिटोभन्दा छिटो मेरो छोरा त्यहाँबाट घर आउन पाओस्। त्यही हो हाम्रो चाहना” भन्दै बिन्ती गरिन्।
प्रभावतीका अनुसार अमृत एक दशकदेखि पानीजहाज कम्पनीमा कार्यरत छन्। यसअघि नियमित घर आउने गरे पनि यसपटक दुई वर्षदेखि आएका थिएनन्। परिवारलाई युद्धले गर्दा हो कि के हो, खासै जानकारी नभएको तर छोरासँग कुरा हुँदा उनले आफू सुरक्षित रहेको बताउने गरेको प्रभावतीले उल्लेख गरिन्।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले झाको मुद्दा इरानको अदालतमा विचाराधीन रहेको र उनले गत हप्ता वकिलसँग सम्पर्क गर्न पाएको बताए। प्रवक्ता क्षेत्रीका अनुसार झाको पक्राउ युद्धभन्दा पहिले नै भएको हो। कन्सुलर सेवामा पहुँचका लागि गरिएको प्रयत्न सफल भएपछि एक वकिलले झालाई भेट्दा उनी सकुशल रहेको पाइएको छ।
झासँगै पक्राउ परेका अन्य भारतीयहरू पनि सकुशल रहेको अधिकारीहरूले बताएका छन्। इरानस्थित नेपाली कन्सुलर जेनरलको समन्वयमा एक कानुन व्यवसायीले झालाई हिरासतमा भेटेका थिए। प्रवक्ता क्षेत्रीका अनुसार इरानमा जारी युद्ध, नववर्षको बिदा र अदालतमा कामकाज नहुँदा कानुनी प्रक्रियामा ढिलाइ भएको हो।
युद्धले गैरसैनिक र यातायात पूर्वाधारमा पुगेको क्षतिले आवतजावतमा समस्या आएकाले झाको मात्र नभई अन्य मुद्दाको सुनुवाइमा पनि ढिलाइ भएको क्षेत्रीले स्पष्ट पारे। नेपाल सरकारले यस विषयलाई नजिकबाट नियालेको र झाको रिहाइका लागि आवश्यक पहल जारी राख्ने उनले बताए।
