तस्बिर स्रोत, Getty Images
पाकिस्ताले इरान युद्ध अन्त्य गराउनका लागि आफूलाई मध्यस्थका रूपमा स्थापित गर्ने कूटनीतिक प्रयत्न गरेको छ। अहिलेको द्वन्द्वमा मध्यस्थको भूमिकाको प्रयासमा पाकिस्तान लागेको देख्दा धेरैलाई अचम्म लागे पनि यसमा अचम्म मानिराख्नुपर्दैन।
पाकिस्तानी सैन्य निकायहरूका प्रमुख तथा फील्ड मार्शल असिम मुनिरको संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पसँग विशेष सम्बन्ध छ। ट्रम्पले मुनिरलाई “मन पर्ने” फील्ड मार्शल भएको भन्दै प्रशंसा गरेका थिए र उनले इरान “अरूले भन्दा निकै राम्ररी” बुझेको टिप्पणी पनि गरेका थिए।
इरान र पाकिस्तान झन्डै ९०० किलोमिटर लामो सीमा भएका छिमेकी मात्र नभई सांस्कृतिक र धार्मिक सम्बन्ध जोडिएका राष्ट्रहरू पनि हुन्। दुवैले आफूहरूबीच “भ्रातृत्वपूर्ण” सम्बन्ध रहेको बताउँदै आएका छन्। पाकिस्तानमा अमेरिकी वायुसेनाको शिविर छैन र खाडीका अन्य मध्यस्थ राष्ट्रहरू द्वन्द्वमा तानिएका बेला पाकिस्तान अहिलेसम्म अलग छ। मुख्य कुरा त पाकिस्तान यो मामिलामा प्रवेश गर्न इच्छुक देखिएको छ, किनकि अमेरिका र इरानबीच शान्ति हुँदा त्यो धेरै कोणबाट पाकिस्तानको हितमा हुनेछ।
यद्यपि, आफैँ अफगानिस्तान र भारतसँग द्वन्द्वमा अल्झिएको देशले कसरी आफूलाई ‘शान्तिदूत’का रूपमा उभ्याउन सक्छ भन्ने प्रश्न यथावत् छ। पाकिस्तानले अहिले पनि अफगानिस्तानमा बम आक्रमण जारी राखेको छ भने गत वर्ष परमाणुयुद्ध हुन सक्ने त्रास उत्पन्न गराउने गरी भारत र पाकिस्तानबीच तनाव चुलिएको थियो। अहिलेसम्म पाकिस्तानले इरान र अमेरिकाबीच सन्तुलन कायम गरेको छ र दुवै पक्षबीच सन्देश आदानप्रदान गर्ने, चासो भएका अन्य मुस्लिम राष्ट्रका विदेशमन्त्रीहरूलाई बोलाएर वार्ता गर्ने तथा टेलिफोनमार्फत् कूटनीतिक वार्ता गर्ने काम गरेको छ। तर यो सन्तुलन कायम गर्ने काम जोखिममुक्त भने छैन।
पाकिस्तानले के गुमाउन सक्छ
तस्बिर स्रोत, AFP via Getty Images
इरानले होर्मुज जलमार्ग अवरुद्ध पार्दा पाकिस्तानमा पनि इन्धन आपूर्ति प्रभावित भएको छ। पाकिस्तान आयातित तेलमा निकै निर्भर रहन्छ र अधिकांश तेल होर्मुज जलमार्ग हुँदै भित्रिन्छ। अट्लान्टिक काउन्सिलमा दक्षिण एशियासम्बन्धी वरिष्ठ फेलो माइक कूगल्मनका अनुसार, “यो द्वन्द्वमा मध्यपूर्व क्षेत्रबाहिर रहेका देशहरूमध्ये पाकिस्तानको स्वार्थ र जोखिम सबैभन्दा बढी जोडिएको छ।” यही कारणले पाकिस्तानमा पेट्रोल र डीजलको मूल्य झन्डै २० प्रतिशतले बढेको छ भने इन्धन खपत घटाउन सातामा चार दिन मात्रै काम गर्ने उपाय पनि अवलम्बन गरिएको छ। कराचीस्थित इन्स्टिट्यूट अफ बिज्नेस एड्मिनिस्ट्रेशनका राजनीतिशास्त्रका प्राध्यापक फर्हान सिद्दिकी भन्छन्, “युद्ध लम्बियो भने पाकिस्तानमा आर्थिक बोझ निकै बढ्ने छ।”
द्वन्द्व अझ चर्किए त्यसले निम्त्याउन सक्ने परिणामप्रति पनि ठूलो त्रास छ। गत वर्ष सेप्टेम्बरमा पाकिस्तानले साउदी अरबसँग एउटा प्रतिरक्षा सहमति गरेको थियो जसमा दुईमध्ये “कुनै एउटा देशमाथि हुने आक्रमणलाई दुवैमाथिको आक्रमण मानिने छ” भनी उल्लेख छ। यदि पाकिस्तान अहिलेको युद्धमा सहभागी भयो र उक्त सहमति कार्यान्वयन गर्नुपर्ने भयो भने पश्चिममा रहेको आफ्नो पूरै सीमा असुरक्षित हुने सिद्दिकी बताउँछन्। आफू फसेका द्वन्द्वहरू (जस्तै: अफगान तालिबानसँगको सीमा विवाद) समाधान गर्न कूटनीतिक उपाय नरोजेर ‘विरोधाभासपूर्ण’ व्यवहार गरेको विषयमा प्रश्न उठ्दा पाकिस्तानले आफूले वर्षौँसम्म वार्ताको प्रयास गरेको तर त्यसबाट आवश्यक सुरक्षा प्राप्त हुन नसकेको तर्क गर्ने गरेको छ।
सिद्दिकीका अनुसार, यो युद्धमा तानियो भने त्यसबाट लडाइँको अर्को मोर्चा खुल्ने चिन्ता मात्र नभई “आन्तरिक प्रतिष्ठा” मा घात हुने डर पनि बढ्ने छ। अमेरिकी र इजरेली हवाई आक्रमणपछि इरानका सर्वोच्च नेताको मृत्यु भएपछि पाकिस्तानमा विरोधप्रदर्शन भएको थियो र कराचीस्थित अमेरिकी कूटनीतिक नियोगमा धावा बोल्न खोज्ने केही व्यक्तिको सुरक्षा कारबाहीमा परी ज्यान पनि गएको थियो। अमेरिका, यूके र संयुक्त राष्ट्रसङ्घमा पाकिस्तानकी पूर्व राजदूत मलीहा लोधी भन्छिन्, “पाकिस्तानमा सर्वसाधारण मानिसको इरानप्रति ठूलो सहानुभूति छ। पाकिस्तानका निर्णयकर्ताहरू त्यसबारे निकै संवेदनशील छन् भन्नेमा म विश्वस्त छु।”
पाकिस्तानले के पाउन सक्छ
तस्बिर स्रोत, Turkish Foreign Ministry / Handout/Anadolu via Getty Images
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले इजिप्ट, टर्की र साउदी अरबका विदेशमन्त्रीहरूसँग मध्यपूर्वमा जारी युद्धबारे छलफल गरेका छन्। यस प्रयासले पाकिस्तानको अन्तर्राष्ट्रिय छविलाई मजबुत बनाउन सक्छ। कूगल्मन भन्छन्, “अन्तर्राष्ट्रिय मञ्चमा प्रभाव छैन भनेर गरिने आलोचनाप्रति पाकिस्तान निकै संवेदनशील छ।” लोधीका अनुसार, यो “ठूलो जोखिम भएको कूटनीति” भए पनि सफलता हात परेमा यसले पाकिस्तानलाई “विश्वव्यापी कूटनीतिमा उच्च स्थानमा पुर्याउँछ।” यदि पाकिस्तान सफल भएन भने पनि त्यसबाट हुने क्षति त्यति ठूलो नहुने लोधीको धारणा छ, किनकि पाकिस्तानले निष्ठापूर्वक प्रयास गरेको ठानिने छ। तर कूगल्मनको अनुमान छ कि यदि यो मध्यस्थता दुई पक्षबीच लडाइँ चर्काउने तयारीका लागि रणनीतिक विश्राम मात्र बन्यो भने पाकिस्तानलाई “अपरिपक्व भएको” आरोप लाग्न सक्छ।
‘असामान्य कूटनीति’
तस्बिर स्रोत, AFP via Getty Images
इरानका सर्वोच्च नेता मारिएपछि पाकिस्तानमा त्यसको चर्को विरोध भएको थियो। पाकिस्तानले ट्रम्पसँगको सम्बन्धबाट लाभ लिन खोजेको स्पष्ट छ। लोधीले गत वर्ष भारत र पाकिस्तानबीच तनाव मत्थर पार्न सघाएकाले पाकिस्तानले ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेको र अफगानिस्तानबाट अमेरिकी सैनिकहरू फिर्ता गर्ने क्रममा काबुल विमानस्थलमा बम आक्रमण गरेको सन्दिग्ध व्यक्तिलाई पाकिस्तानमा पक्राउ गरी अमेरिकालाई हस्तान्तरण गरिएको प्रसङ्ग स्मरण गराउँछिन्। कूगल्मन भन्छन्, “पाकिस्तान भारतभन्दा विपरीत असामान्य कूटनीतिक भूमिका निर्वाह गर्न इच्छुक देखिन्छ।”
तर पाकिस्तान अमेरिकासँगको सम्बन्धमा मात्र निर्भर छैन। सिद्दिकीका अनुसार, “पाकिस्तानले क्षेत्रीय कूटनीतिमा ‘हेजिङ’ (अर्थात् सुरक्षात्मक कूटनीति) सबैभन्दा उत्कृष्ट उपाय हो भन्ने महसुस गरेको छ।” उनी भन्छन्, “अहिले हामी यस्तो विश्वमा छौँ जहाँ राज्यहरू, विशेष गरी मध्यम शक्तिसम्पन्न राष्ट्रहरू, विभिन्न पक्षसँग सम्बन्ध राख्ने ‘बहुसंलग्नता’को नीतिमा बढी सहज देखिन्छन्।” पाकिस्तानलाई इजरेल वा अमेरिका पक्षधर नठानिने भएकाले ऊ इरानसँग कुराकानी गर्न उपयुक्त स्थितिमा हुन सक्छ।
अहिले कूटनीतिक छलफलहरू जारी छन्; पाकिस्तानका विदेशमन्त्री इशाक डार चिनियाँ समकक्षी वाङ यीको निम्तोमा चीनको भ्रमणमा छन्। तर पाकिस्तानले अझै ठूलाठूला प्रश्नहरू खेप्नुपर्ने छ, किनकि शान्ति सहमति सुनिश्चित गर्न त्यति सजिलो छैन। कूगल्मन भन्छन्, “अमेरिकी र इरानीहरूबीच ठूलो अविश्वास छ र दुवै पक्षका ठूलाठूला मागहरू हेर्दा सहमति हुने सम्भावना निकै न्यून छ।” अहिलेका योजनाहरू सफल भएनन् भने पाकिस्तानले सर्वाधिक कठिन योजनाबारे सोच्नुपर्ने हुन्छ।
