खोटाङको रावा बेसी गाउँपालिका–६ हौँचुर र वडा नं. १ कुभिण्डे जोड्ने लोचा खोलामा पक्की पुल निर्माण कार्य औपचारिक रूपमा सुरु भएको छ। कोशी प्रदेश भौतिक पूर्वाधार मन्त्रालयका निर्वतमान मन्त्री भूपेन्द्र राईले शनिबार एक कार्यक्रमका बिच पुलको शिलान्यास गर्नुभएको हो। यस पुलले वर्षायाममा भोग्नुपर्ने यातायातको कठिनाई र मानवीय जोखिमलाई न्यूनीकरण गर्ने अपेक्षा गरिएको छ।
कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको बहुवर्षे योजना अन्तर्गत लोचा खोलामा पुल निर्माण अघि बढाइएको छ। पूर्वाधार विकास कार्यालय दिक्तेलमार्फत आरके देन्धुप जेपी निर्माण कम्पनीले २ करोड ८९ लाख ७५ हजार २८८ रुपैयाँमा यसको ठेक्का पाएको छ। खोटाङका पूर्वाधार विकास कार्यालय प्रमुख विनम दाहालका अनुसार, २०८२ माघ १३ गते ठेक्का सम्झौता भई २०८४ जेठ ३१ गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ।
शिलान्यास समारोहमा मन्त्री राईले निर्माण कार्यमा ढिलासुस्ती नगर्न व्यवसायीलाई कडा निर्देशन दिनुभयो। प्रदेशबाट सञ्चालित योजनाहरूको निरन्तर अनुगमन गरिने र समयमै कार्य सम्पन्न गर्न आफू कटिबद्ध रहेको उहाँको भनाइ थियो। कार्यालय प्रमुख दाहालले काममा तीव्रता दिएमा बजेट अभाव नहुने प्रतिबद्धता व्यक्त गर्नुभयो। ठेक्का सम्झौता पश्चात काम सुरु गरेका निर्माण व्यवसायी बुद्धि बहादुर मगरले सम्झौता अवधिभन्दा अगावै पुल निर्माण सम्पन्न गर्ने दाबी गर्नुभएको छ। हाल कामले तीव्रता पाएको छ।
लोचा खोलामा पक्की पुलको अभावले वर्षौंदेखि स्थानीय बासिन्दाले ठूलो सास्ती भोग्दै आएका थिए। विशेषगरी वर्षायाममा खोलामा पानीको बहाव बढ्दा सवारी साधन वारपार गर्न असम्भवप्रायः हुन्थ्यो। मोटरसाइकल तथा अन्य साना सवारी साधन तार्न प्रत्येक वर्ष श्रमदानबाट काठेपुल बनाउनुपर्ने बाध्यता थियो। बर्खामा लोचा खोलाले मानिस बगाएर ज्यान गुमाउने घटनाहरू समेत हुने गरेकाले स्थानीयमा त्रास बढेको थियो।
स्थानीय सरोज राईले अति आवश्यक ठाउँमा पुल निर्माण सुरु भएकोमा खुसी व्यक्त गर्दै यसले वर्षौंदेखिको समस्या समाधान गर्ने विश्वास लिएको बताउनुभयो। अर्का स्थानीय रामबहादुर राईले अब लोचा खोलामा मानिस बगाउने दिनको अन्त्य हुनेमा ढुक्क रहेको उल्लेख गर्नुभयो। हौँचुरका वडाध्यक्ष चिरञ्जीवि कार्कीले सडकभन्दा माथि मानिस वारपार गर्न झोलुङ्गे पुल भए पनि सडक मार्गबाट टाढा भएकाले मोटरसाइकललगायतका सवारी साधन खोलाबाटै तार्नुपर्ने समस्या रहेको बताउनुभयो। बर्खामा मोटरसाइकल वारपार गराउन काठेपुल बनाइन्थ्यो, जुन अब पक्की पुल बनेपछि अन्त्य हुनेछ।
यो पुल निर्माण सम्पन्न भएपछि रावा बेसी गाउँपालिकाका यी दुई वडाका बासिन्दालाई मात्र नभई यस क्षेत्र भएर यात्रा गर्ने हजारौं यात्रुहरूलाई समेत ठूलो राहत मिल्नेछ। सुरक्षित र सहज यातायात पहुँच स्थापित भएसँगै स्थानीय आर्थिक तथा सामाजिक विकासमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
