२६ फागुन, पोखरा । मुस्ताङबाट नेपाली कांग्रेसका युवा नेता योगेश गौचन प्रतिनिधिसभा सदस्यमा दोस्रो पटक निर्वाचित भएका छन् । २९ वर्षको उमेरमा २०७९ को निर्वाचनबाट पहिलो पटक सांसद बनेका गौचनले यस पटक पनि सहज जित हासिल गरे । देशव्यापी रुपमा युवा नेतृत्वको खोजी भइरहेका बेला युवाको प्रतिनिधित्व गर्दै आएका योगेशले आफ्नो चुनावी अभियानमा ‘मुस्ताङबाटै युवा विद्रोहको शुरुवात’ भएको दाबी गर्ने गरेका थिए ।
गण्डकी प्रदेश सांसद विकल शेरचनका अनुसार, देशमा ‘जेनजी आन्दोलन’ मार्फत युवा नेतृत्वको माग उठेको समयमा कांग्रेसले योगेशलाई दोहोर्याएर टिकट दिई उनले विजय प्राप्त गर्नुले युवाप्रति जनविश्वास बढेको प्रमाणित गर्छ । यद्यपि, योगेशको विजयमा उनको युवा छविका अतिरिक्त अन्य धेरै बलिया कारणहरू पनि जिम्मेवार छन् ।
यसको मुख्य कारण उनको बलियो राजनीतिक र व्यावसायिक विरासत हो । उनका पिता रोमी गौचन थकालीले मुस्ताङको राजनीतिमा लामो समयदेखि प्रभुत्व कायम राख्दै आएका छन् । रोमी हक्की स्वभावका र नेतृत्वसँग आँखा जुधाएर प्रश्न गर्न सक्ने नेताका रुपमा परिचित छन् । गौचन परिवार पर्यटन तथा होटल व्यवसायमा समेत सक्रिय र आर्थिक रुपमा सम्पन्न छ, जसको प्रभाव मुस्ताङको राजनीतिमा देखिन्छ । ‘मुस्ताङमा थोरै पैसा हुनेले चुनाव लड्नै सक्दैन,’ एक कांग्रेस नेताले भनेका थिए, ‘गौचन परिवारको आर्थिक सम्पन्नताले पनि चुनावी अभियानलाई सहज बनाउँछ ।’
भौगोलिक र पारिवारिक सम्बन्ध पनि योगेशको जितका महत्वपूर्ण आधार हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ईन्द्रधारा विष्ट लोमान्थाङका हुन् भने योगेश लेतेका । मतदाता संख्याका हिसाबले तल्लो मुस्ताङमा बढी मतदाता छन् र त्यहाँ अधिकांश थकालीसँग योगेशको पारिवारिक सम्बन्ध छ । यसले गर्दा पनि उनलाई जित्न सजिलो भएको कांग्रेसी नेताहरूको भनाइ छ ।
यस निर्वाचनमा योगेशले ३ हजार ३०७ मत प्राप्त गर्दै निकटतम प्रतिद्वन्द्वी ईन्द्रधारा विष्टलाई १ हजार ५०१ मतान्तरले पराजित गरे । विष्टले १ हजार ८०६ मत पाएका थिए । २०७४ मा प्रदेशसभामा विजयी विष्ट यस पटक पनि पराजित हुन पुगे । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार अद्वितीय चन्द्र थकालीले ७५९ मत ल्याए । कुल ८ जना उम्मेदवार रहेकाले प्रतिष्पर्धी मत बाँडिनु पनि योगेशका लागि सहायक सिद्ध भयो । देशव्यापी रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रभाव देखिए पनि मुस्ताङमा पारिवारिक तथा राजनीतिक विरासतको शक्ति बढी प्रभावी रह्यो ।
विजयपश्चात् योगेशले चीनको सिमानामा रहेको कोरला नाका सञ्चालन गर्न कूटनीतिक पहल गर्ने, सडक पूर्वाधार तयार पार्ने, जोमसोम–कोरला सडक कालोपत्रे गर्ने र बेनी–जोमसोम सडकलाई दीर्घकालीन निकास दिने लगायतका प्रतिबद्धता जनाएका छन् । युवा सांसदका रुपमा उनी भ्रष्टाचारमुक्त र विकासमुखी नेतृत्व प्रदान गर्न सक्ने विश्वास मतदाताले लिएका छन् । प्रदेश सांसद विकल शेरचनका अनुसार, मतदाताले योगेशमाथि विकास निर्माण र भ्रष्टाचार नियन्त्रणका लागि ठूलो आशा र भरोसा राखेका छन् ।
रोमी गौचन थकालीले करिब चार दशक मुस्ताङको राजनीतिमा पकड जमाएका थिए । उनले २०५६ र २०७० मा चुनाव जितेका थिए भने २०६४ र २०७४ मा पराजित भएका थिए । यस पटक बुबा र छोरा दुवै प्रत्यक्ष र समानुपातिकमा उठ्ने विषयमा प्रश्न उठे पछि रोमीले समानुपातिक सूचीबाट आफ्नो नाम हटाउन निवेदन दिएका थिए ।
बिजनेस म्यानेजमेन्टमा स्नातक गरेका योगेश यसअघि एसियन फोरम अफ पार्लियामेन्टेरियन्स अन पपुलेसन एन्ड डेभलपमेन्टको युवा समिति अध्यक्षमा समेत निर्वाचित भएका थिए । एसिया–प्रशान्त र मध्य एसियाका ३० राष्ट्रिय समितिका सांसदहरू संलग्न क्षेत्रीय सञ्जालमा उनको उपस्थितिबाट मुस्ताङलाई अन्तर्राष्ट्रिय रूपमा जोड्न सक्ने विश्वास मतदाताले व्यक्त गरेका छन् ।
