काभ्रेपलाञ्चोक । नेपालको महत्वपूर्ण सडक सञ्जालमध्येको बिपी राजमार्गको मुख्य खण्ड चौडा पार्ने कार्य अगाडि बढेको छ। प्रारम्भिक चरणमा सदरमुकाम धुलिखेलदेखि नमोबुद्ध नगरपालिकाको दाप्चास्थित १ नम्बर पुलसम्मको २०.६ किलोमिटर सडक विस्तार गरिने भएको हो। यो खण्डलाई हालको ५.५ मिटरको इन्टरमिडियट चौडाइबाट १० मिटरको मुख्य कालोपत्रे सडकसम्म पुर्याउने लक्ष्य राखिएको छ।
सडक डिभिजन कार्यालय, भक्तपुरका अनुसार यो सडक खण्ड चौडा पार्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइसकेको छ। कार्यालय प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशका अनुसार प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन पनि अन्तिम चरणमा पुगेको छ। कुल अनुमानित लागत रु तीन अर्ब ७९ करोड ७८ लाख ५५ हजार ५०० रहेकोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई स्रोत सुनिश्चितताका लागि प्रस्ताव पठाइएको छ। यो खर्च अनुमान अनुसार प्रतिकिलोमिटर सडक फराकिलो बनाउन रु १८ करोड छ लाख लाग्नेछ।
इन्जिनियर योगेशले स्रोत सुनिश्चित भएलगत्तै ठेक्का प्रक्रिया अघि बढाइने र यसै वर्ष विस्तारको काम सुरु हुने जानकारी दिए। तर, धुलिखेलदेखि भकुण्डेबेँशीसम्मको सडक दायाँबायाँका रुख कटान गर्नुपर्ने र मोड सुधारका लागि केही घरसमेत भत्काउनुपर्ने अवस्था रहेकाले काम सुरु हुन केही महिना ढिलाइ हुन सक्नेछ। सम्झौता अनुसार काम सुरु भएको तीन वर्षभित्र सडक विस्तारको काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सडकको दायाँबायाँ १५ मिटरभित्र बनेका संरचना तथा जग्गाको मुआब्जा वितरण भइसकेको योगेशले स्पष्ट पारेका छन्।
यो विस्तारित सडक खण्ड धुलिखेल, पाँचखाल, पनौती र नमोबुद्ध नगरपालिकाहरूको क्षेत्रमा पर्दछ। सडक चौडा भएपछि प्रतिघण्टा ३० किलोमिटरबाट ६० किलोमिटरसम्मको गतिमा सवारी चलाउन सकिनेछ, जसले ठूला सवारीसाधनको आवागमनमा सहजता ल्याउनेछ। विस्तारपछि नारायणगढ हुँदै लामो दूरी घुमेर काठमाडौं आउनुपर्ने ठूला सवारीसाधनहरू बिपी राजमार्ग हुँदै छोटो दूरीमै राजधानी भित्रिन सक्नेछन्। विस्तारका क्रममा सहज स्थानमा पर्खाल लगाएर र अप्ठ्यारा ठाउँमा भित्तो काटेर सडक चौडा गरिने कार्यालयले जनाएको छ।
बिपी राजमार्गको यो स्तरोन्नति विसं २०८१ असोजको बाढीपहिरोले भकुण्डेबेँशीदेखि नेपालथोकसम्मको सडकखण्डमा पुर्याएको व्यापक क्षतिपछि झनै तीव्र भएको हो। त्यस क्षेत्रलाई दुई लेनमै पुनर्निर्माण गर्ने प्रक्रिया अघि बढेको थियो, जसमा नाला र ढलसहित ११ मिटर (७ मिटर मुख्य कालोपत्रे) चौडा बनाउने योजना छ। सोही क्रममा सुरुवाती बिन्दु धुलिखेलदेखि भकुण्डेबेँशीसम्मको खण्डलाई पनि दुई लेन बनाउन माथिल्लो निकायबाट प्रस्ताव स्वीकृत भएको इन्जिनियर योगेशले बताए।
धुलिखेलदेखि नेपालथोकसम्मको करिब ५२ किलोमिटर सडक दुई लेनमा विस्तार भएपछि नेपालथोकबाट मध्यपहाडी लोकमार्ग हुँदै खुर्कोटसम्म सहजै पुग्न सकिनेछ। भौगोलिक जटिलताका कारण नेपालथोकदेखि खुर्कोटसम्मको पुरानो बिपी राजमार्गलाई दुई लेन बनाउन कठिन भएकाले नेपालथोकमा सुनकोशी नदीमाथि दुई लेनको पक्की पुल निर्माणका लागि ठेक्का लागिसकेको छ।
विसं २०८१ असोजको बाढीपहिरोले राजमार्गअन्तर्गत भकुण्डेबेँशीदेखि नेपालथोकसम्म करिब ३० किलोमिटर सडकमा क्षति पुर्याएको थियो। त्यसयता रोशी खोलामा अस्थायी डाइभर्सन प्रयोग गरी आवागमन गराइएकोमा हाल क्षतिग्रस्त क्षेत्रमा स्थायी पुनर्निर्माणको काम तीव्र गतिमा भइरहेको कार्यालयले जनाएको छ। यसका लागि काभ्रेपलाञ्चोकमा तीन र सिन्धुलीमा एक गरी चार प्याकेजमा ठेक्का सम्झौता गरिएको छ। जसमध्ये काभ्रेपलाञ्चोकतर्फका तीन सडकखण्डका लागि रु सात अर्ब ५० करोड र सिन्धुलीको एक सडकखण्डका लागि रु एक अर्बको स्रोत सहमति दिइएको छ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट धुलिखेल–सिन्धुली–बर्दिवास (१६० किलोमिटर) बिपी राजमार्गको निर्माण कार्य सुरु भएको थियो। खण्डखण्ड गरी निर्माण सम्पन्न भएको यो राजमार्ग विसं २०७२ असार १८ गते औपचारिक रुपमा जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो।
