१३ कात्तिक, काठमाडौं । प्रेस काउन्सिल नेपालले हालै विभिन्न सञ्चारमाध्यमका समाचार कक्षभित्रै प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने तथा पक्राउ गर्ने प्रयास गरिएको घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्नचिन्ह खडा गरेको जनाएको छ। गत शुक्रबार कार्यालय समय समाप्त भएलगत्तै सादा पोशाकका प्रहरीले विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिने प्रयास गरेको घटनाप्रति काउन्सिलले गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पारेको छ।
काउन्सिलले घटनाको विस्तृत विवरण सार्वजनिक गर्दै पक्राउका लागि स्पष्ट कारण नखुलाइएको, कानुनी रूपमा आवश्यक पर्ने पक्राउ पुर्जी नदेखाइएको र अदालतको अनुमति लिइएको नदेखिएको अवस्थामा पत्रकारहरूमाथि गरिएको हस्तक्षेपलाई आपत्तिजनक ठहर गरेको छ। विशेषगरी, कुनै अपराधसम्बन्धी जाहेरी परेको विषयसमेत स्पष्ट नभएको र लगातार दुई दिने सार्वजनिक बिदा पर्नुअघि पत्रकारहरूलाई यसरी नियन्त्रणमा लिन खोज्नुले कानुनी प्रक्रिया र सुशासनको उपेक्षा भएको काउन्सिलको ठहर छ। यस प्रकारका कार्यहरूले कानुनको शासन, स्थापित न्यायिक प्रक्रिया र नागरिकको अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर पारेको काउन्सिलको भनाइ छ।
‘प्रहरी प्रधान कार्यालयबाट जारी विज्ञप्तिको पृष्ठभूमिमा भएको यस घटनाले प्रेस स्वतन्त्रता र पत्रकारको व्यावसायिक सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ,’ प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनालद्वारा जारी विज्ञप्तिमा स्पष्ट पारिएको छ। पत्रकारिता पेशाको संवेदनशीलता र लोकतान्त्रिक समाजमा यसको अपरिहार्य भूमिकालाई नजरअन्दाज गर्दै गरिएका यस्ता कार्यहरूले स्वतन्त्र समाचार संकलन, विश्लेषण र प्रकाशनमाथि प्रत्यक्ष नकारात्मक असर पार्ने काउन्सिलले औंल्याएको छ। पत्रकारहरूलाई बिनाकारण वा अपारदर्शी प्रक्रियाबाट नियन्त्रणमा लिने प्रयासले उनीहरूमाथि मनोवैज्ञानिक त्रास सिर्जना भई स्वतन्त्र र निर्भीक रूपमा काम गर्न कठिनाइ हुने तथा नागरिकको सूचनाको हक समेत कुण्ठित हुने चेतावनी पनि काउन्सिलले दिएको छ।
नेपालको संविधान र प्रचलित कानुनले प्रेस काउन्सिल नेपाललाई सञ्चारमाध्यममा प्रकाशित कुनै समाचार सामग्रीप्रति असहमति वा पत्रकार आचारसंहितासम्बन्धी उजुरी भएमा त्यसको छानबिन, अनुगमन र निरूपण गर्ने वैधानिक एवं कानुनी जिम्मेवारी प्रदान गरेको छ। यसको क्षेत्राधिकारलाई बाइपास गरेर सिधै प्रहरी परिचालन गर्नु राज्यका विभिन्न अंगहरूबीचको समन्वयको अभाव मात्र नभई विधिको शासनविपरीत भएको काउन्सिलको भनाइ छ। यस्ता कार्यहरूले मिडिया सञ्चालनको वैधानिक प्रक्रियामाथि अनावश्यक हस्तक्षेपको वातावरण सिर्जना गर्ने र समग्र प्रेस क्षेत्रमाथि अविश्वास बढाउने काउन्सिलको चिन्ता छ। प्रेस काउन्सिलले निरन्तर रूपमा प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारिताको मर्यादा कायम राख्नका लागि काम गर्दै आएको सन्दर्भमा यसको भूमिकालाई अवमूल्यन गर्नु उचित नभएको समेत विज्ञप्तिमा उल्लेख छ।
प्रेस काउन्सिल नेपालले नेपाल सरकार, प्रहरी प्रशासन तथा सम्बद्ध सबै पक्षलाई समाचार सामग्रीसम्बन्धी कुनै पनि समस्या, गुनासो वा विवाद भएमा प्रेस काउन्सिलको स्थापित विधि र प्रक्रियाबाट समाधान खोज्नका लागि आग्रह गरेको छ। काउन्सिलले विद्यमान कानुन र स्थापित संवैधानिक प्रक्रियाको पूर्ण पालना गर्न तथा प्रेस एवं अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न सबै सरोकारवाला निकायहरूलाई सचेत गराएको छ। लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात् गर्दै प्रेस स्वतन्त्रताको रक्षाका लागि सबै पक्ष जिम्मेवार र संवेदनशील बन्नुपर्नेमा काउन्सिलले विशेष जोड दिएको छ। यस प्रकारका घटनाहरू भविष्यमा दोहोरिन नदिनका लागि सम्बन्धित निकायहरूले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने र पत्रकारहरूको पेशागत सुरक्षा सुनिश्चित गर्नुपर्ने काउन्सिलको स्पष्ट धारणा छ।
