निर्माणाधीन राप्ती राजमार्गमा दसैँको यात्रा जोखिमपूर्ण
सल्यान, असोज ३१ गते । दसैँ मनाउन घर फर्किने यात्रुको चाप बढेसँगै निर्माणाधीन राप्ती राजमार्गमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । सडक स्तरोन्नतिका क्रममा भइरहेको कटिङ, अत्यधिक धुलो, हिलो, माथिबाट ढुङ्गा खस्ने तथा सुक्खा पहिरोको जोखिमले गर्दा यात्रु एवं सवारी चालक दुवैले सास्ती खेप्नुपरेको छ । सडक साँघुरिएका स्थानमा सवारीसाधनले पालो पर्खिनुपर्ने हुँदा यात्रा अवधि अनावश्यक रूपमा लम्बिने गरेको छ ।
दाङलाई सल्यान, रुकुम र रोल्पासँग जोड्ने राप्ती राजमार्ग यस क्षेत्रको प्रमुख यातायात सञ्जाल हो । रोजगारी, अध्ययन तथा अन्य विभिन्न कामका लागि घरबाहिर रहेका नागरिक दसैँ मनाउन गाउँ फर्किने क्रम बढेसँगै राजमार्गमा सवारीसाधनको चाप ह्वात्तै बढेको छ । चाडपर्वमा सहज र सुरक्षित यात्राको अपेक्षा राखेका यात्रुहरू निर्माणाधीन सडकका कारण बाटोमै रोकिनुपर्ने र गन्तव्यमा पुग्न बढी समय खर्चिनुपर्ने अवस्थाबाट गुज्रिरहेका छन् ।
राप्ती राजमार्गअन्तर्गत दाङको हरनेटी–राम्री तथा सल्यानको चोरखोला–कपुरकोट र सम्धीमोड–खारखोलालगायतका खण्डमा सडक फराकिलो बनाउने कार्य भइरहेको छ । सडक कटिङका क्रममा कतिपय स्थान अत्यधिक साँघुरिएका छन् भने माथिबाट ढुङ्गा खस्ने र सुक्खा पहिरो जाने जोखिमसमेत विद्यमान छ । वर्षायाममा हिलो र अन्य समयमा धुलोका कारण सवारी आवागमन निरन्तर प्रभावित हुने गरेको छ, जसले गर्दा दुर्घटनाको जोखिम पनि बढेको छ ।
राजमार्गमा नियमित यात्रा गरिरहेका चालक विष्णु योगीले निर्माणाधीन सडकका कारण सवारी चलाउन अत्यन्त जोखिम बढेको बताउनुभयो । उहाँका अनुसार कतिपय ठाउँमा लामो समयसम्म सवारीसाधन रोकेर पालो पर्खिनुपर्ने बाध्यता छ । “बाटोमा धेरै जोखिम छ । धुलो र हिलोले समस्या बनाइरहेको छ । कतिबेला सुक्खा पहिरो आउँछ भन्ने ठेगान हुँदैन,” योगीले भन्नुभयो, “काम छिटोछरितो र व्यवस्थित रूपमा सम्पन्न गरिदिए यात्रु र चालक सबैलाई सजिलो हुन्थ्यो ।” यात्रु शिशिर खड्काले पनि सडक विस्तारको काम भइरहेका स्थानमा आवागमन कठिन भएको गुनासो गर्नुभयो । सडक स्तरोन्नति आवश्यक भए पनि निर्माणस्थलमा सवारीसाधन र पैदलयात्रुको सुरक्षित आवागमनको सुनिश्चितता गरिनुपर्ने उहाँको भनाइ छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सल्यानका अनुसार राप्ती राजमार्गमा दैनिक साना–ठूला गरी करिब ३५० सवारीसाधन आवतजावत गर्छन् । दसैँमा सवारीसाधनको चाप अझै बढ्ने भएकाले जाम नियन्त्रण, आवागमन व्यवस्थापन र दुर्घटनाको जोखिम न्यूनीकरण चुनौतीपूर्ण बनेको छ । ट्राफिक प्रहरी जयमान घर्तीले चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएकाले चालकलाई सचेत गराउने, जोखिमयुक्त स्थानमा निगरानी बढाउने र सवारी आवागमन व्यवस्थित गर्ने कार्यलाई प्राथमिकता दिइएको बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालय सल्यानले पनि निर्माणाधीन सडकको अवस्था र सम्भावित जोखिमबारे अनुगमन गरी आवश्यक व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय गरिरहेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी बन्धना कुमारी केसीका अनुसार सडकमा खसेका ढुङ्गा तथा पहिरो तत्काल हटाउने, सवारी आवागमन सहज बनाउने र आवश्यक उपकरण तयारी अवस्थामा राख्ने विषयमा सडक डिभिजन कार्यालय तथा सम्बन्धित स्थानीय तहसँग समन्वय गरिएको छ । सम्भावित अवरोध हटाउन आवश्यक पर्ने जेसीबी तथा स्काभेटरसमेत तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो ।
राप्ती राजमार्गअन्तर्गत पाँच खण्डमा सडक स्तरोन्नतिको काम भइरहेको छ । तीनवटा ठेक्कामार्फत अघि बढाइएको काममध्ये पुराना दुई प्याकेजअन्तर्गत राम्री–कपुरकोट र सल्यान–रुकुमको खौला क्षेत्रमा कालोपत्रे गर्ने काम अन्तिम चरणमा पुगेको छ । यी ठेक्का आर्थिक वर्ष २०८०/८१ मा सम्झौता भई २०८२ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न कारणले ढिलाइ भएको थियो । म्याद थप गरिएका यी काम चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ र करिब ९० प्रतिशत प्रगति हासिल भएको सडक डिभिजन कार्यालय दाङले जनाएको छ ।
त्यस्तै, दाङको हरनेटी–राम्री तथा सल्यानको चोरखोला–कपुरकोट र सम्धीमोड–खारखोलालगायतका तीन खण्डमा सडक फराकिलो बनाउने काम भइरहेको छ । यी खण्डमा २०८२ जेठ ४ गते ठेक्का सम्झौता भएको थियो र निर्माणको काम २०८४ जेठसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यस खण्डमा हालसम्म करिब ५५ प्रतिशत काम सम्पन्न भएको छ । सडक डिभिजन कार्यालय दाङका प्रमुख दीपेन्द्र विष्टले चाडपर्वलाई ध्यानमा राखेर जोखिमयुक्त स्थानमा कटिङको काम रोक्न तथा सडकमा देखिएका सानातिना पहिरो र ढुङ्गा तत्काल हटाउन निर्माण व्यवसायीलाई निर्देशन दिइएको बताउनुभयो । चाडपर्वका बेला सवारी आवागमन प्रभावित नहोस् भन्ने उद्देश्यले निर्माणस्थलको अवस्था हेरेर आवश्यक व्यवस्थापन गर्नसमेत भनिएको उहाँले जानकारी दिनुभयो ।
सडक स्तरोन्नतिको काम पूरा भएपछि राप्ती राजमार्गमा यात्रा सहज र सुरक्षित हुने अपेक्षा गरिएको छ । तर, निर्माण सम्पन्न नहुँदै दसैँमा बढेको सवारी चाप व्यवस्थापन गर्नु अहिलेको मुख्य चुनौती बनेको छ । निर्माणस्थलमा सुरक्षित आवागमनको व्यवस्था मिलाउने, पहिरोको जोखिम न्यूनीकरण गर्ने र सडकमा खसेका ढुङ्गा हटाउने कामलाई सम्बन्धित निकायले उच्च प्राथमिकता दिनुपर्ने देखिन्छ ।
