काठमाडौं उपत्यकाका मुख्य बजारहरूमा यतिबेला दसैंको किनमेल गर्ने सर्वसाधारणको बाक्लो भीड लागेको छ। चाडपर्व नजिकिएसँगै बजारमा चहलपहल ह्वात्तै बढेको छ। भोटाहिटी, ठमेल, असन, इन्द्रचोक, जमल, विशालबजार, सुन्धरा, खिचापोखरी, नयाँसडक, बागबजार, डिल्लीबजार, बानेश्वर, पुतलीसडकलगायतका क्षेत्रमा लुगाफाटा र आवश्यक सरसामान खरिद गर्नेहरूको घुइँचो देख्न सकिन्छ। उपभोक्ताहरू चाडपर्वका लागि आवश्यक सामग्री जोहो गर्न व्यस्त रहे पनि पछिल्लो समय बढेको महंगीले भने उनीहरूलाई पिरोलेको छ।
विशेषगरी खाद्यान्न, लत्ताकपडा र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिले उपभोक्ताको क्रयशक्तिमा ठूलो असर पारेको छ। गत भदौ १० गतेको भोटेकोशी बाढीले चीनतर्फका तातोपानी र रसुवागढी नाका अवरुद्ध भएपछि बजारमा लत्ताकपडाको आपूर्तिमा समस्या आएको छ, जसका कारण मूल्यमा वृद्धि भएको उपभोक्ताको अनुमान छ। यसैगरी, अन्य दैनिक उपभोग्य वस्तुको मूल्य पनि आकासिएको गुनासो उपभोक्ताको छ।
काठमाडौं महानगरपालिका–३२ का शालिकचन्द्र शर्माले चाडपर्व मनाउन पनि महंगीले गर्दा कठिनाइ भइरहेको बताए। उनले भने, ‘जिरा मसिनो चामलको भाउ एक बोरामा रु ३०० बढेको छ। दसैंमा खाइने खसीको मासुको भाउ पनि प्रतिकिलो तीनदेखि चार सय रुपैयाँले बढेको छ। न्यून आय हुनेका लागि त दसैं मनाउन पनि मुस्किल हुने देखिएको छ।’ शालिकचन्द्रजस्तै तिनकुनेकी स्मिता खत्री पनि यसपालिको दसैंमा आफ्ना तीन सन्तानलाई जेनतेन नयाँ लुगा किनेको बताउँछिन्। लत्ताकपडाको भाउ बढे पनि चाडमा नयाँ लुगा फेर्नुपर्ने परम्परा धान्न बाध्य भएको उनको भनाइ छ। ‘दसैंमा एकसरो लुगा त फेरिदिनुपर्यो नी,’ उनले भनिन्, ‘सीमित आयस्रोत हुनेलाई दसैं त दशा जस्तै हुने के गर्नु नमनाएर पनि नहुने।’
उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले यसपालिको दसैंमा खाद्यान्न, लत्ताकपडा र अन्य अत्यावश्यक सरसामानको भाउ निकै वृद्धि भएको बताए। उनले भने, ‘बजारमा सबैखालको खाद्यान्नमा भाउ बढेको छ। अहिले त ताजा तरकारी, फलफूलदेखि मासुजन्य पदार्थको मूल्य आकासिएको छ।’ अध्यक्ष तिमल्सिनाले नियमित रूपमा बजार अनुगमन गरी मूल्यवृद्धिलाई नियन्त्रण गर्न सरकारका संयन्त्र अग्रसर हुनुपर्नेमा जोड दिए। उनले आपूर्ति शृङ्खलालाई नियमित गर्ने र मूल्यवृद्धि नियन्त्रणमा हस्तक्षेप गरेर नै सरकार अघि बढ्नुपर्ने आवश्यकता औंल्याए।
नेपाल हिमालयन सीमापार वाणिज्य सङ्घका महासचिव रामचन्द्र पराजुलीले चीनसँग जोडिएका मुख्य लाइफलाइनका रूपमा रहेका रसुवा र तातोपानीका नाका अवरुद्ध हुँदा वस्तु तथा समान ल्याउन असहज भइरहेको बताए। नाका अवरुद्ध हुँदा व्यापारमा ठूलो असर परेको र चीनतर्फबाट दसैंलगायत पर्वलाई लक्षित गरी ल्याउन लागिएका करिब रु पाँच अर्ब मूल्य बराबरका सामान नाकामै रोकिएको उनको जानकारी दिए।
यता, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक रितेशकुमार शाक्यले विभागले चाडपर्व लक्षित अनुगमनलाई तीव्रता दिँदै आइरहेको बताए। उनले दैनिक २५ देखि ५० वटा विभिन्न फर्म तथा कम्पनीको अनुगमन गर्दै आएको र अधिकतम खुद्रा मूल्यभन्दा धेरै मूल्य लिने व्यापारी तथा व्यवसायीलाई आवश्यक कानुनी दायरामा ल्याइरहेको जानकारी दिए। महानिर्देशक शाक्यले कुनै पनि वस्तु तथा समान तोकिएको मूल्यअनुसार बिक्रीवितरण गर्न सबैलाई अनुरोध गर्दै उपभोक्ता ठग्नेहरूमाथि कडा कारबाही गरिने चेतावनी दिए।
