रसायनशास्त्रतर्फको नोबेल पुरस्कार: निद्रा, भोक नियन्त्रण र डिएनए सम्पादनका वैज्ञानिकहरु प्रबल दाबेदार
स्टकहोम, असोज २१ गते। विश्व प्रतिष्ठित नोबेल पुरस्कार घोषणाको क्रममा बुधबार रसायनशास्त्रतर्फको पुरस्कार विजेता सार्वजनिक हुँदैछ। यस वर्ष निद्रा र भोक नियन्त्रण गर्ने अणु, डिएनए सम्पादन प्रविधि तथा नयाँ पुस्ताको डिएनए सिक्वेन्सिङ सम्बन्धी दूरगामी अनुसन्धानले रसायनशास्त्रको नोबेल पुरस्कारका लागि प्रबल दाबेदारको रूपमा चर्चा पाएका छन्। रोयल स्विडिस एकेडेमी अफ साइन्सेजले बिहान पुरस्कार विजेताको घोषणा गर्नेछ।
क्लेरिभेटको विश्लेषणअनुसार, भोक नियन्त्रणसँग सम्बन्धित ‘ग्लुकागन-जस्तो पेप्टाइड-१’ (जीएलपी-१) सम्बन्धी अनुसन्धान प्रमुख दाबेदारका रूपमा अघि सारिएको छ। यो पेप्टाइड शरीरको मेटाबोलिजम र रगतमा चिनी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्छ। क्यानाडाली डेनियल ड्रकर, डेनिस जेन्स जुल होल्स्ट र अमेरिकी स्वेतलाना मोजसोभ यस क्षेत्रमा विशेष चर्चामा छन्। उनीहरूको अनुसन्धानले मधुमेह र मोटोपना जस्ता रोगहरूको उपचारमा नयाँ आयाम थपेको छ।
आणविक तहमा सतहको गुण परिवर्तन गर्ने ‘सेल्फ-एसेम्बल मोनोलेयर्स’ (एसएएम) को विकासमा योगदान पुर्याउने अमेरिकी डेभिड अल्लारा, राल्फ नुजो र इजरायली ज्याकब सागिभ पनि दाबेदार सूचीमा छन्। एसएएम प्रविधिले सामग्रीको सतहलाई नानोस्केलमा नियन्त्रित गर्न मद्दत गर्छ, जसको प्रयोग इलेक्ट्रोनिक्सदेखि बायोमेडिसिनसम्मका क्षेत्रमा व्यापक छ। प्रोटिनभित्र इलेक्ट्रोनको गतिबारे गहन अनुसन्धान गर्ने ह्यारी ग्रे र जे विङ्कलर तथा सौर्य ऊर्जालाई अझ प्रभावकारी बनाउने माइकल ग्र्याटजेलको नाम पनि चर्चामा छ।
डिएनए सम्पादन प्रविधि, जसले आनुवंशिक रोगको उपचारमा नयाँ सम्भावना खोलेको छ, यस क्षेत्रका डेभिड लिउ प्रबल दाबेदार छन्। नयाँ पुस्ताको डिएनए सिक्वेन्सिङ प्रविधिको विकासमा अतुलनीय योगदान पुर्याउने शङ्कर बालासुब्रमण्यम र डेभिड क्लेनरम्यान पनि नोबेल पुरस्कारका सम्भावित हकदार छन्। उनीहरूको कामले जीवन विज्ञान अनुसन्धान र औषधिमा क्रान्तिकारी परिवर्तन ल्याएको छ। निद्रा नियमनसम्बन्धी ‘ओरेक्सिन’ अणुको अनुसन्धानका लागि इमानुएल मिग्नोट, मासासी यानागिसावा र लुइस डे लेसियाको नाम पनि अघि सारिएको छ। ओरेक्सिनको खोजले निद्रा विकारको बुझाइ र उपचारमा महत्त्वपूर्ण प्रगति गरेको छ।
ब्याट्री प्रविधिमा क्रान्तिकारी योगदान पुर्याउने जीन-मेरी तारास्कन, जटिल कार्बोहाइड्रेट तथा ग्लाइकोप्रोटिन निर्माणका ची-ह्युई वोङ र औषधि वितरण तथा टिस्यु इन्जिनियरिङका क्षेत्रमा अग्रगामी कार्य गर्ने रोबर्ट ल्याङ्गर पनि यस वर्षको नोबेल पुरस्कारका लागि सम्भावित दाबेदारमा पर्नुभएको छ।
गत वर्ष सुसुमु किटागावा, रिचर्ड रोबसन र ओमार याघीलाई रसायन शास्त्रतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो। यस वर्ष नोबेल पुरस्कार घोषणाको क्रममा बिहीबार साहित्य, शुक्रबार शान्ति र अक्टोबर १२ मा अर्थशास्त्रतर्फको पुरस्कार घोषणा हुनेछ। नोबेल पुरस्कार विजेतालाई प्रमाणपत्र, स्वर्ण पदक र एक करोड २० लाख स्विडिस क्रोनरको राशी प्रदान गरिन्छ, जसले विश्वभरका वैज्ञानिकहरूलाई थप अनुसन्धानका लागि प्रेरित गर्छ।
रासस/एएफपी
