भदौ १० गतेको बाढीले भोटेकोशी-त्रिशूली करिडोरका जलविद्युत् आयोजनामा पुर्याएको क्षतिका कारण राष्ट्रिय प्रसारण प्रणालीबाट ४३१ मेगावाट विद्युत् विच्छेद भएको एक महिनामै, गत शुक्रवारदेखि आइतवारसम्मको अविरल वर्षाले थप १,००० मेगावाटभन्दा बढी बिजुली प्रणालीबाट बाहिरिएको छ। यसरी पछिल्ला दुई प्रमुख बाढीका कारण हाल कुल १,४०० मेगावाटभन्दा धेरै विद्युत् केन्द्रीय प्रसारणमा उपलब्ध छैन, जसले देशको ऊर्जा आपूर्तिमा गम्भीर असर पारेको छ।
नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार, आइतवारको बाढीले दाना-कुश्मा खण्डको २२० केभी प्रसारण लाइनका दुई वटा टावरमा क्षति पुर्याएपछि कालिगण्डकी करिडोरमा उत्पादित ३७० मेगावाट विद्युत् राष्ट्रिय प्रसारणबाट टुटेको छ। ढकालले कालिगण्डकी करिडोरको प्रसारण लाइन र टावरमा क्षति पुगेको तथा सुरक्षा जोखिमलाई ध्यानमा राखेर मर्स्याङ्दी करिडोरका आयोजनाहरू समेत बन्द गरिएकाले अहिले करिब १,००० मेगावाट बिजुली आपूर्तिबाट बाहिरिएको बताए।
निजी ऊर्जा उत्पादकहरूको संस्था ईप्पानका अध्यक्ष मोहन डाँगीले कालिगण्डकीको प्रसारण लाइनमा क्षति पुग्दा ७ वटाभन्दा बढी आयोजनाको उत्पादन रोक्नुपर्ने अवस्था आएको जानकारी दिए। उनका अनुसार, प्रसारण लाइनका टावरहरूको मर्मतपश्चात् त्यस क्षेत्रका अधिकांश आयोजनाको उत्पादन फेरि राष्ट्रिय प्रसारणमा जोड्न सकिने अवस्था छ। प्राधिकरणले कालिगण्डकी करिडोरका टावरहरूको मर्मतका लागि ८-१० दिनसम्म लाग्न सक्ने अनुमान गरेको छ। प्रसारण लाइनबाट जोडिएका बाहेकका आयोजनाहरूबाट भने बाढी कम भएपछि पुन: विद्युत् उत्पादन गर्न सकिने प्राधिकरणको आकलन छ।
तस्बिर स्रोत: RSS
प्रवक्ता ढकालका अनुसार, भर्खरै सञ्चालनमा आएको ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनामा समेत बाढीले क्षति पुर्याएको छ। प्राधिकरणकै सहायक कम्पनी रहेको राहुघाटको स्वीच यार्डमा क्षति पुगेको विवरण प्राप्त भएका छन्। यसअघि भदौ १० गतेको बाढीपछि २५ मेगावाटको सोलार आयोजनासहित ४३१ मेगावाट उत्पादन बन्द छ। त्यस बाढीले रसुवागढी, सालासुङ्गी सञ्जेन, माथिल्लो साञ्जेन, साञ्जेन, चिलिमे, लाङटाङ खोला, माथिल्लो त्रिशूली ३ ए, माथिल्लो मैलुङ, मैलुङ, त्रिशूली र देवीघाट जलविद्युत् आयोजनामा क्षति पुर्याएको थियो। जसमध्ये साञ्जेन खोलामा बनेका आयोजनाहरूको प्रसारण लाइनमा मात्रै क्षति पुगेकाले त्यस्ता आयोजनाबाट उत्पादित १५५ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोड्ने प्रयास भइरहेको प्राधिकरणले जनाएको छ। ईप्पानका अध्यक्ष डाँगीले प्रसारण लाइनको पुनर्स्थापनामा प्राधिकरणलाई सहयोग गरिरहेको बताए।
तस्बिर स्रोत: RSS
राहुघाट आयोजनाले मङ्गलवारबाट मात्रै परीक्षण उत्पादन सुरु गरेको थियो।
आइतवार ठूलो परिमाणको बिजुली राष्ट्रिय प्रसारणमा आउनबाट रोकिनुअघिसम्म प्राधिकरण र निजी क्षेत्रका आयोजनाहरूबाट समेत गरी करिब ३९०० मेगावाट बिजुली उत्पादन गर्न सक्ने क्षमता थियो। भोटेकोशी-त्रिशूली बाढीअघिसम्म प्राधिकरणसँग करिब ४३०० मेगावाट बिजुलीको जडित क्षमता थियो। तर नेपालमा २,५०० मेगावाटसम्म मात्रै माग रहेका कारण प्राधिकरणले थप १,२०० मेगावाट भारत तथा बङ्गलादेशमा निर्यात गरिरहेको थियो। निर्यातको कोटा र नेपालमा पनि पर्याप्त माग नहुँदा यो बर्खामा बिजुली खेर जाने अवस्था आएको यसअघि निजी जलविद्युत् आयोजनाका प्रवर्द्धकहरूले बताएका थिए।
त्रिशूली नदीको जलाधार क्षेत्रमा ठूलो क्षति बेहोरेका आयोजनाहरू बन्न समय लाग्ने भए पनि अहिले अस्थायी रूपमा बन्द गरिएका र प्रसारण लाइनमा मात्रै क्षति पुगेका आयोजनाहरूबाट दशैँअघि नै बिजुली उत्पादन सुरु हुने प्राधिकरणका प्रवक्ता ढकालले जानकारी दिए। चाडबाडमा लोडशेडिङको जोखिमबारे ढकालले भने, “पहिले जस्तो दशैँ-तिहारमा अहिले माग बढ्दैन, बरु घट्छ। त्यसकारण चाडबाडका बेला लोडशेडिङ हुने हो कि भन्ने अवस्था अहिलेसम्म छैन। हिजोसम्म त हामीले बिजुली बेचिरहेकै थियौँ।” ईप्पानका अध्यक्ष डाँगीले पनि खोलाहरूमा पानीको सतह बढेका कारण तत्कालै समस्या आइहाल्ने ठान्दैनन्। नेपालमा बर्खामा उत्पादन हुने बिजुलीको एक तिहाइ मात्रै हिउँदयाममा उत्पादन हुने गरेको छ, त्यसबेला नेपालले भारतबाट बिजुली आयात गरेर अपुग बिजुलीको पूर्ति गर्ने गरेको छ।
तस्बिर स्रोत: RSS
