काठमाडौँ, असोज ३ गते । नेपाल राष्ट्र बैंकले यस वर्षको विजया दशमीमा नगद दक्षिणाको सट्टा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आग्रह गरेको छ। चाडपर्वका अवसरमा नगद कारोबारमा हुने जोखिम र असुविधालाई कम गर्दै सुरक्षित तथा सहज वित्तीय लेनदेनका लागि डिजिटल माध्यम उपयुक्त हुने बैंकले जनाएको छ।
राष्ट्र बैंकका सहायक प्रवक्ता तथा सूचना अधिकारी सुधा श्रेष्ठका अनुसार, दसैंमा मोबाइल बैंकिङ्ग र डिजिटल वालेटमार्फत दक्षिणा आदानप्रदान गर्नुपर्छ। परम्परागत रूपमा बैंक नोट दिँदा नोट भिज्ने, रङ लाग्ने, दाग लाग्ने वा छिट्टै पुरानो देखिने जस्ता समस्या आउने भएकाले डिजिटल माध्यमबाट दक्षिणा दिनु उपयुक्त हुने श्रेष्ठको सुझाव छ। उहाँले चाडपर्वमा मात्र नभई अन्य समयमा पनि नगदभन्दा डिजिटल कारोबार सुरक्षित हुने र यसले पैसा हराउने, चोरी हुने वा पाकेटमारबाट जोगिन सहयोग पुग्ने बताउनुभयो।
हाल वित्तीय साक्षरता बढ्दै गएसँगै दसैंमा नगदको सट्टा डिजिटल दक्षिणा दिनेबारे सर्वसाधारणमा समेत सचेतना बढ्दै गएको छ। विशेषगरी विदेश वा टाढा रहेका आफन्तलाई तत्काल रकम पठाउन सकिने भएकाले डिजिटल भुक्तानीप्रति आकर्षण बढेको छ। थानकोट निवासी दर्शन खतिवडाले गत वर्ष दसैंमा दक्षिणावापत पाएको नगद बाटामै हराएको स्मरण गर्दै यस वर्ष क्यूआर कोड स्क्यान गरी दक्षिणा लिनेदिने योजना बनाएको बताउनुभयो। डिजिटल माध्यममा गरिएका कारोबारको अभिलेख राख्न पनि सजिलो हुने भएकाले चाडपर्वमा हुने खर्चको व्यवस्थापन गर्न सहज हुने उपभोक्ताको बुझाइ छ।
यद्यपि, डिजिटल दक्षिणाको अवधारणासँगै केही चुनौती र परम्परागत मान्यता पनि देखिएका छन्। नेपाली समाजमा दसैंमा मन्त्रोच्चारण गर्दै टीका र जमरा लगाइदिएपछि नोट र सिक्का नै दक्षिणा दिने लामो समयदेखिको चलन छ। पण्डित रुद्रनाथ अधिकारीका अनुसार, दक्षिणा भनेको हातमा चढाउने वा दिने कुरा भएकाले नोट वा सिक्का नै दिनु उपयुक्त हुन्छ। उहाँले सबै व्यक्तिसँग डिजिटल कारोबारको सुविधा नहुने प्रश्न उठाउँदै, “नाबालक, क्यूआर कोड नभएका व्यक्तिलाई कसरी दक्षिणा दिने?” भनी जिज्ञासा व्यक्त गर्नुभयो। यस्ता चुनौतीका बाबजुद कतिपय बैंक तथा वित्तीय संस्था र सेवा प्रदायकहरूले दसैं–तिहार लगायतका चाडपर्वमा डिजिटल भुक्तानी प्रवर्धनका लागि ग्राहकलाई आकर्षित गर्न विभिन्न योजनाहरू सार्वजनिक गर्दै आएका छन्।
यसैबीच, राष्ट्र बैंकले यस पटकको दसैंमा खुद्रा नोट साट्न घण्टौँसम्म बैंकमा लाइन बस्नुपर्ने झन्झट कम गर्न नयाँ व्यवस्था मिलाएको छ। बैंकले एटिएमबाटै १०० रुपियाँ दरका नयाँ नोट निकाल्ने व्यवस्था मिलाउन बैंकहरूलाई निर्देशन दिएको सहायक प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो। यसले चाडपर्वका बेला बैंकमा हुने अनावश्यक भीडभाड कम गर्न र खुद्रा नोटको अभाव हुन नदिन सहयोग पुग्ने अपेक्षा गरिएको छ। हाल अधिकांश बैंकका एटीएम मेसिनबाट पाँच सय र एक हजार रुपियाँ दरका नोट मात्रै झिक्न सकिने व्यवस्था रहेकाले राष्ट्र बैंकको यो निर्णयले साना दरका नोटको सहज उपलब्धता सुनिश्चित गर्नेछ। राष्ट्र बैंकले नयाँ नोटको सट्टा पुरानो तर सुकिलो नोट प्रयोग गर्नसमेत प्रोत्साहन गर्दै आएको छ।
