बाँकेको खजुरामा बालबालिका तथा युवाका लागि साइबर सुरक्षा सचेतना कार्यक्रम सम्पन्न
नेपालगञ्ज, भदौ ३० गते। सामाजिक सञ्जालको द्रुत गतिमा बढ्दो प्रयोगसँगै सिर्जित साइबर अपराध र अनलाइन जोखिमहरूको चुनौतीलाई सम्बोधन गर्न बाँकेको खजुरा गाउँपालिकामा बालबालिका तथा युवा लक्षित एक बृहत् साइबर सुरक्षा तथा सामाजिक सञ्जालसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ। ६२औँ राष्ट्रिय बाल दिवसको अवसर पारेर युवा अभियान लुम्बिनी प्रदेशले खजुरा गाउँपालिकासँगको समन्वयमा यस महत्वपूर्ण कार्यक्रमको आयोजना गरेको हो।
युवा अभियान लुम्बिनी प्रदेशकी महासचिव अञ्जना धितालले कार्यक्रममा खजुराका विभिन्न वडास्तरीय बाल सञ्जाल, किशोरी सञ्जाल र लियो क्लबका प्रतिनिधि तथा सदस्यहरू गरी करिब ५० जना विद्यार्थी तथा युवाको उत्साहजनक सहभागिता रहेको जानकारी दिनुभयो। उहाँका अनुसार, यस कार्यक्रमको मुख्य उद्देश्य सहभागिलाई सामाजिक सञ्जालको सुरक्षित प्रयोग, व्यक्तिगत सूचनाको संरक्षण तथा डिजिटल पहिचानलाई कसरी सुरक्षित राख्ने भन्नेबारे विस्तृत जानकारी प्रदान गर्नु थियो। अपरिचित व्यक्तिहरूबाट आउने फ्रेन्ड रिक्वेस्ट, शंकास्पद लिंकहरू र नक्कली सामाजिक सञ्जाल अकाउन्टहरूको पहिचान तथा त्यसबाट जोगिने उपायहरूका बारेमा पनि सहभागिलाई सचेत गराइएको थियो।
कार्यक्रममा साइबर सुरक्षा तथा सामाजिक सञ्जालको सुरक्षित प्रयोगका विविध आयामहरूमाथि प्रशिक्षण दिँदै लियोका भाइस डिस्ट्रिक्ट प्रेसिडेन्ट बसन्त बस्नेतले साइबर सुरक्षाको अवधारणा केवल मोबाइल वा कम्प्युटरमा पासवर्ड राख्ने विषयमा मात्र सीमित नरहेको स्पष्ट पार्नुभयो। उहाँले व्यक्तिगत सूचना, डिजिटल खाता, तस्बिर, भिडियो, सञ्चारका माध्यम र समग्र अनलाइन पहिचानको सुरक्षा पनि साइबर सुरक्षाकै महत्वपूर्ण हिस्सा भएकोमा जोड दिनुभयो। बस्नेतले सामाजिक सञ्जालमा आउने नक्कली उपहार वा पुरस्कारका लोभलाग्दा सन्देशहरू, अपरिचित व्यक्तिहरूले माग गर्ने ओटीपी (वन टाइम पासवर्ड) र अनलाइन ठगीका विभिन्न प्रयासहरूप्रति विशेष सावधानी अपनाउन सहभागिलाई सचेत गराउनुभयो।
प्रशिक्षणका क्रममा सहभागीहरूलाई ओटीपी तथा पासवर्ड कसैलाई पनि नदिने, सामाजिक सञ्जालका गोपनीयता सेटिङहरू नियमित रूपमा जाँच गर्ने र अपरिचित तथा शंकास्पद लिंकहरूमा क्लिक नगर्ने जस्ता व्यावहारिक जानकारीहरू प्रदान गरिएको थियो। यस्तै, आफ्नो व्यक्तिगत सूचनाहरू अनावश्यक रूपमा सार्वजनिक नगर्न र अनलाइनमा गोपनीयता कायम राख्नका लागि अपनाउनुपर्ने उपायहरू बारेमा पनि गहन छलफल भएको थियो।
किशोरी सञ्जाल खजुराकी अध्यक्ष समीक्षा ओलीले डिजिटल युगमा साइबर सुरक्षासम्बन्धी ज्ञान सबैका लागि अपरिहार्य भइसकेको बताउनुभयो। उहाँले भन्नुभयो, “प्रविधिले हामीलाई अगाडि बढ्न जति सहयोग पुर्याउँछ, यसको गलत प्रयोग भयो भने त्यसले वर्षौँसम्म वा जीवनभरि नै चोट पुर्याउन सक्छ।” विशेषगरी किशोरी तथा युवाहरूले सामाजिक सञ्जाल प्रयोग गर्दा आफ्नो गोपनीयता, व्यक्तिगत सूचना र समग्र डिजिटल सुरक्षामाथि विशेष ध्यान दिनुपर्नेमा कार्यक्रममा जोड दिइएको थियो।
‘पढ्दै कमाउँदै अभियान’का अभियन्ता नारायण सिग्देलले पनि प्रविधिको सन्तुलित तथा रचनात्मक प्रयोगमाथि जोड दिनुभयो। उहाँले मोबाइल, भिडियो गेम र सामाजिक सञ्जालमा अनावश्यक समय बिताउनुभन्दा प्रविधिलाई अनुसन्धान, ज्ञान अभिवृद्धि, सीप विकास र सिर्जनात्मक कार्यहरूमा लगाउनुपर्ने सुझाव प्रस्तुत गर्नुभयो। कार्यक्रममा खजुरा गाउँपालिका–२ का वडाध्यक्ष धनराम ओली लगायत स्थानीय जनप्रतिधिहरूको पनि उपस्थिति रहेको थियो। सहभागी विद्यार्थीहरूले अनलाइनमा देखिने जोखिमहरू, व्यक्तिगत विवरणको सुरक्षा र सामाजिक सञ्जालको जिम्मेवार प्रयोगका विषयमा विभिन्न प्रश्न तथा जिज्ञासाहरू प्रस्तुत गरेका थिए, जसको विशेषज्ञहरूले समाधान प्रदान गरेका थिए।
