महोत्तरीसहित नेपाल र भारतका सम्पूर्ण मिथिलाञ्चलमा आइतबारदेखि विधिवत चैती छठ पर्व सुरु भएको छ। चार दिनसम्म चल्ने यो पर्व तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायतका जिल्लाहरूमा धार्मिक विधिपूर्वक मनाइँदैछ। महोत्तरीको जलेश्वर, मटिहानी, सुगा, गौशाला, पिपरा, सम्सी, बर्दिबासलगायतका सहरी एवं ग्रामीण क्षेत्रका पोखरी, तलाउ तथा बिग्ही, रातो मरहा, जङ्गहा, अंकुसी जस्ता नदी र नहरका किनारमा छठ घाटहरू सजाइएका छन्, जहाँ पर्व अवधिभर श्रद्धालु भक्तजनको बाक्लो उपस्थिति रहन्छ।
चैती छठ पर्वको मुख्य विशेषता सत्य, अहिंसाप्रति रुचि बढाउनु र सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु हो। जलेश्वर नगरपालिका–१ स्थित बाबा जलेश्वरनाथ महादेवका पुजारी कामेश्वर पाठकका अनुसार, यो संसारकै एक अनुपम पर्व हो, जहाँ अस्ताउँदो र उदाउँदो दुवै सूर्यको उपासना गरिन्छ। पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण तथा मनोकाङ्क्षा पूर्तिको उद्देश्यले यो पर्व श्रद्धापूर्वक मनाइन्छ।
चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन आइतबार व्रतीहरूले ‘नहा खा’ (नुहाएर खाने) विधि सम्पन्न गरेका छन्। दोस्रो दिन सोमबार ‘खर्ना’ मनाइनेछ, जसमा दिनभर निराहार बसी साँझमा छठ देवतालाई निम्तो दिँदै कूलदेवताको पूजा गरी बिना नुनको ‘अरवा अरबाईन’ भोजन ग्रहण गरिन्छ। तेस्रो दिन मंगलबार ‘षष्ठी’ पर्वमा गहुँ र चामलको पीठोबाट ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता गुलिया पकवानहरू तयार गरिन्छन्। यी पकवानसहित विभिन्न फलफूल, तरकारी, नरिवल, केरा लगायतका अर्घ सामग्रीहरू नाङ्लो, कोनिया आदिमा राखेर परिवारका सदस्यहरू भक्तिगीत गाउँदै निर्धारित जलासय नजिकको छठ घाटसम्म पुग्छन्। यसै साँझ व्रतीहरूले पानीमा पसेर अस्ताउँदो सूर्यलाई आराधना गर्दै ‘सन्ध्याकालीन अर्घ’ अर्पण गर्छन्।
त्यसको भोलिपल्ट बुधबार एकाबिहानै पुनः छठघाटमा पुगी जलाशयमा पसेर उदाउँदो सूर्यलाई ‘प्रातःकालीन अर्घ’ दिई चैती छठ पर्वको विधिवत समापन गरिन्छ।
महाभारतअनुसार, पाण्डवहरूले अज्ञातबासमा रहँदा सूर्यदेवको आराधना गरी गुप्तबास सफल बनाएको र सोही बेलादेखि छठ मनाउने परम्परा सुरु भएको मानिन्छ। सूर्य पुराणमा भने सर्वप्रथम पत्नी अनुसुइयाले छठ व्रत गरेर अटल सौभाग्य प्राप्त गरेको उल्लेख छ, जसबाट यो पर्व सुरु भएको विश्वास गरिन्छ। धार्मिक आस्थाका साथै सामाजिक सद्भावका रूपमा विकसित छठपर्व हिन्दूका साथै मुस्लिम समुदायका केही सदस्यहरूले पनि मनाउँछन्। सामर्थ्य नभएकाहरूले गम्हरी धानको चामलमात्र चढाए पनि देवता प्रसन्न हुने जनविश्वास छ।
