मध्यपूर्वमा करिब डेढ सातादेखि जारी तनावका कारण नेपालमा इन्धनको मूल्यवृद्धि हुने सम्भावना बढेको भन्दै सरकारले खाना पकाउने ग्यासलगायतका अत्यावश्यक वस्तुहरूको कालोबजारी नियन्त्रण गर्न अनुगमन तीव्र पारेको छ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले बीबीसीलाई दिएको जानकारी अनुसार, विश्वव्यापी सङ्कटबाट उत्पन्न हुने सबै चुनौतीहरू सरकार एक्लैले समाधान गर्न नसक्ने बताएका छन्। उनले इन्धनको मितव्ययी प्रयोगका लागि नागरिकस्तरबाट पनि सक्रिय पहल हुनुपर्नेमा जोड दिएका छन्।
नेपाल आयल निगम (एनओसी) ले भने भारतबाट पेट्रोलियम पदार्थ, हवाई इन्धन र खाना पकाउने ग्यासको आपूर्ति निरन्तर भइरहेको र बजारमा यी सामग्रीहरूको कुनै अभाव नरहेको स्पष्ट पारेको छ। मध्यपूर्व र खाडी क्षेत्रमा करिब २० लाख नेपाली कार्यरत रहेकाले उनीहरूको सुरक्षा सुनिश्चित गर्न परराष्ट्र मन्त्रालयले पहल गरिरहेको अधिकारीहरूले जनाएका छन्।
नेपाली बजारमा देखिन सक्ने चुनौती
आयातमा अत्यधिक निर्भर नेपालमा मध्यपूर्वमा उत्पन्न सङ्कटले उद्योगधन्दादेखि घरायसी चुलोचौकासम्म प्रत्यक्ष प्रभाव पार्ने जोखिम बढेको छ। विशेषज्ञहरूका अनुसार, यदि यो द्वन्द्व लम्बिएमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको सुरक्षा र देशको अर्थतन्त्रको एक चौथाइभन्दा बढी योगदान गर्ने रेमिट्यान्समा गम्भीर असर पर्न सक्छ।
मन्त्री सिन्हाले बीबीसीलाई थप जानकारी दिँदै, ‘हालसम्म पेट्रोलियम पदार्थको आपूर्तिमा ठूलो समस्या नदेखिए पनि अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिको अनुपातमा नेपालमा पनि इन्धनको मूल्य बढ्न सक्ने’ बताए। विश्वव्यापी सङ्कटको सामना सरकार एक्लैले गर्न नसक्ने दोहोर्याउँदै उनले, ‘पेट्रोल, डिजेल र ग्यासको उपभोगमा कटौती गर्न नागरिक स्वयम्ले पहल गर्नुपर्ने’ आह्वान गरे। मन्त्री सिन्हाका अनुसार, सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि सकेसम्म कम गर्न प्रयास गरिरहेको छ। प्रतिनिधिसभा निर्वाचनअघि मूल्य बढेर आए पनि सरकारले उपभोक्तालाई खासै मार नपर्ने गरी समायोजन गरेको उनको भनाइ छ।
के नेपालले पनि इन्धनको मूल्य बढाउँछ?
नेपाल आयल निगमका अनुसार, इन्डियन आयल कर्पोरेशनले फेब्रुअअरी २८ मा पठाएको मूल्यसूचीमा पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र हवाई इन्धन सबैको मूल्यवृद्धि सिफारिस गरे पनि नेपालमा साबिककै मूल्यलाई निरन्तरता दिइएको थियो। मन्त्री सिन्हाले भारतले हालसम्म नियमित आपूर्ति जारी राखेको र कुनै नकारात्मक सङ्केत नदिएको उल्लेख गरे। यद्यपि, ‘अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्यवृद्धिले नेपाललाई असर गर्ने र यो सरकारको नियन्त्रणभन्दा बाहिरको परिस्थिति भएको’ उनले स्पष्ट पारे।
मध्यपूर्वमा इन्धन आपूर्तिमा देखिएका समस्याका कारण सोमबार कच्चा तेलको प्रतिब्यारेल मूल्य १०० डलरभन्दा माथि पुगेको थियो। ‘ग्लोबल पेट्रोल प्राइसेस’ को तथ्याङ्क उद्धृत गर्दै अल जजिराले इरानमाथिको पछिल्लो आक्रमणपश्चात् ८५ देशले इन्धनको मूल्यवृद्धि गरेको जनाएको छ। अधिकारीहरूका अनुसार, नेपाल आयल निगमलाई इन्डियन आयल कर्पोरेशनले प्रत्येक १५ दिनमा इन्धनको नयाँ मूल्यसूची पठाउँछ र सोही अनुसार मूल्य समायोजन गरिन्छ। यसैबीच, ‘द हिन्दू’का अनुसार भारतका केही सहरमा खाना पकाउने ग्यासको मूल्य ७ प्रतिशतले बढे पनि त्यहाँको सङ्घीय सरकारले पेट्रोलको मूल्यवृद्धि नगर्ने बताएको छ। निगमका प्रवक्ता मनोजकुमार ठाकुरले स्पष्ट पारेका छन्, “हरेक महिनाको १५ तारिखमा हामीले डिजेल, पेट्रोलको मूल्य प्राप्त गर्छौं भने हरेक महिनाको ३० तारिखमा हामीले सबै इन्धनको मूल्य प्राप्त गर्छौं।”
नेपालले कुन इन्धन कति खपत गर्छ?
प्रवक्ता ठाकुरका अनुसार, भारतबाट नेपालमा इन्धन आयातमा हालसम्म कुनै समस्या देखिएको छैन र भारतीय पक्षले आपूर्ति निरन्तर राख्ने प्रतिबद्धता जनाएको छ। उनले थपे, ‘माग अनुसार भारतबाट इन्धन आपूर्ति भइरहेको छ। भविष्यमा कुनै परिवर्तन आएमा विकल्पहरूसहित सम्बन्धित निकायसँग छलफल गरी योजनाहरू अगाडि बढाइनेछ।’ आयल निगमसँग एलपीजी ग्यास भण्डारणको आफ्नै संरचना नभए पनि, देशभरका ५९ वटा उद्योगहरूसँग कुल १० हजार मेट्रिकटन ग्यास मौज्दात राख्ने क्षमता रहेको प्रवक्ता ठाकुरले जानकारी दिए। ‘उद्योगहरूसँग एक हप्ताका लागि पुग्ने भण्डारण क्षमता छ। नेपालको मासिक ग्यास खपत ४५ हजार मेट्रिक टन रहेकोमा, हालसम्म साढे ४५ हजार मेट्रिक टन ग्यास आयात भइसकेको छ,’ उनले बताए। निगमका अनुसार, नेपालको दैनिक पेट्रोल खपत २०-२५ लाख लिटर र डिजेल खपत ४०-४५ लाख लिटर रहेको छ। नेपालमा ७० देखि ७५ प्रतिशत पेट्रोलियम पदार्थ (डिजेल, पेट्रोल र मट्टितेल) पाइपलाइनमार्फत आयात हुने गरेको छ। आयात गरिने पेट्रोलियम पदार्थमध्ये आधाभन्दा बढी डिजेलको हिस्सा हुन्छ, त्यसपछि पेट्रोल र एलपी ग्यासको। मट्टितेलको खपत भने निकै कम छ। हाल, नेपालको पूर्वी भागमा झापा तथा पश्चिमी भेगमा भैरहवा, नेपालगञ्ज र धनगढीमा मात्र ट्याङ्करमार्फत इन्धन आपूर्ति गरिन्छ।
कालोबजारीको गुनासोबारे आपूर्तिमन्त्री के भन्छन्?
यद्यपि, अधिकारीहरूले इन्धन आपूर्तिमा समस्या नभएको बताए पनि, उपभोक्ताहरूले बजारमा ग्यास पाउन कठिन भएको र कतिपय अवस्थामा बढी मूल्य तिर्नुपरेको गुनासो गरेका छन्। मन्त्री सिन्हाले द्वन्द्वका कारण आपूर्ति प्रणालीमा बाधा पुग्न सक्ने आशङ्कामा सामान भण्डारण गर्ने प्रवृत्ति बढेको भन्दै यसलाई रोक्न आयल निगम र अनुगमनकारी निकायहरूलाई निर्देशन दिइएको जानकारी दिए। उनले भने, ‘आयल निगमले सूचना जारी गरी कन्टेनर वा ड्रममा इन्धन अत्यधिक भण्डारण नगर्न सचेत गराएको छ। गाडीहरूलाई आवश्यक मात्रामा मात्र इन्धन दिने व्यवस्था गरिएको छ।’
मन्त्री सिन्हाले ग्यासको आपूर्ति परिमाणमा समस्या नदेखिए पनि माग भने बढ्दै गएको बताए। उनका अनुसार, ‘नयाँ सिलिन्डरको बिक्री र परिवारहरूले अतिरिक्त सिलिन्डर राख्ने प्रवृत्तिले माग बढेको हुन सक्छ।’ वाणिज्य विभाग, आयल निगम र गृह मन्त्रालयको समन्वयमा आपूर्ति प्रणालीलाई सुचारु राख्न अनुगमन तीव्र पारिएको छ। यदि अत्यधिक भण्डारण नै समस्याको मूल कारण भए, ‘हाललाई आधा सिलिन्डर मात्र भरेर दिने विकल्पमा समेत छलफल भइरहेको’ र तात्कालिक तथा दीर्घकालीन दुवै उपायहरू अपनाउनुपर्ने अवस्था रहेको उनले उल्लेख गरे। उद्योगहरूको अनुगमनका साथै, नयाँ सरकारलाई यस विषयमा समस्या नपरोस् भन्ने उद्देश्यले विज्ञहरूसँग परामर्श भइरहेको पनि उनले बताए।
सम्भावित चुनौती के देखिन सक्छन्?
पेट्रोलियम पदार्थ, ग्यास र हवाई इन्धनमा पूर्ण रूपमा भारतमा निर्भर नेपालका लागि, भारत सरकारले तत्काल पर्याप्त मौज्दात रहेको बताए पनि घरेलु उपभोक्ता र अन्य प्रमुख प्रयोगकर्ताहरूलाई लक्षित गरी केही आपत्कालीन व्यवस्थाहरू लागू गरेको छ। भारतले आफ्नो देशमा खपत हुने ग्यासको आधा भाग र ४० देखि ५० प्रतिशत कच्चा तेल इन्धन ढुवानीका लागि महत्त्वपूर्ण मानिने इरानसँगको सिमानामा अवस्थित जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’बाट आयात गर्छ। यदि उक्त क्षेत्रमा अवरोध थप लम्बिएमा, भारतले आपूर्ति निरन्तरता दिन र मूल्य स्थिर राख्न दबाबको सामना गर्नुपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले औँल्याएका छन्।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
