नयाँ शैक्षिक सत्र २०८३ नजिकिँदै गर्दा सार्वजनिक विद्यालयका विद्यार्थीहरूले समयमै पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् । जनक शिक्षा सामग्री केन्द्र (JSSK) ले यस वर्ष पाठ्यपुस्तक प्रकाशन कार्य समयमै सम्पन्न गरेको दाबी गर्दै विद्यार्थीहरूले भर्नासँगै नयाँ पुस्तक लिएर कक्षाकोठामा प्रवेश गर्न पाउने वातावरण बनेको जनाएको छ । यसले गर्दा विगतमा जस्तो पुस्तकको प्रतीक्षामा समय खेर फाल्नुपर्ने अवस्था आउने छैन ।
सरकारले सामुदायिक विद्यालयका विद्यार्थीहरूको शिक्षण सिकाइस्तर अभिवृद्धि गर्ने उद्देश्यले बर्सेनि निःशुल्क पाठ्यपुस्तक वितरण गर्दै आएको छ । यस वर्ष केन्द्रले कक्षा ३ र ५ देखि १० सम्मका लागि कुल एक करोड ६० लाख थान पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो । केन्द्रका प्रबन्ध सञ्चालक यदुनाथ पौडेलका अनुसार चैत ८ गतेसम्म एक करोड ५० लाख थान पुस्तक तयार भइसकेका छन् । सरकारले सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई निःशुल्क पाठ्यपुस्तक वितरणका लागि दुई अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
पछिल्लो समय सरकारी कामहरू कुशलतापूर्वक सम्पादन गर्दै सक्षम बन्दै गएको जनक शिक्षा सामग्री केन्द्रलाई सरकारले यस पटक कक्षा ३ देखि १० सम्मका सबै पाठ्यपुस्तक छपाइको जिम्मेवारी दिएको छ । यसका साथै, सरकारले २०६४ सालदेखि अवलम्बन गरेको सार्वजनिक–निजी सहकार्य नीतिअनुसार निजी क्षेत्रका प्रकाशन गृहहरूलाई पनि पाठ्यपुस्तक छपाइको जिम्मेवारी दिँदै आएको छ । यस वर्ष पाठ्यक्रम विकास केन्द्रबाट सात वटा निजी प्रकाशन गृहहरू कक्षा १, २ र ४ का पाठ्यपुस्तक छपाइका लागि सूचीकृत भएका छन् ।
प्रबन्ध सञ्चालक पौडेलका अनुसार जनक शिक्षा सामग्री केन्द्रसहित प्रादेशिक कार्यालयहरू विराटनगर, जनकपुर, पोखरा, नेपालगन्ज, बुटवल, सुर्खेत, धनगढी र केन्द्रमा पाठ्यपुस्तक बिक्री तथा वितरणका लागि तयारी अवस्थामा छन् । चैत १५ गतेदेखि सबै डिपोहरूबाट पुस्तक बिक्रीवितरण सुरु हुने उनले बताए । पौडेलले निजी विद्यालयका लागि गणित, विज्ञान र स्वास्थ्य शिक्षाका पाठ्यपुस्तक अंग्रेजीमा अनुवाद गर्ने कार्य पनि केन्द्रले सम्पन्न गरिसकेको जानकारी दिए । यस वर्ष अंग्रेजी अनुवादसहित कुल एक करोड ७२ लाख थान किताब छाप्ने लक्ष्य राखिएको र सोहीअनुसार काम सम्पन्न भएको उनले बताए । हिमाली जिल्लाहरूमा पुस्तक पुर्याउन सुर्खेत, नेपालगन्ज र विराटनगर डिपोहरूबाट तयारी भइसकेको पनि केन्द्रले जनाएको छ ।
जनक शिक्षा सामग्री केन्द्रका लागि निजी प्रकाशन गृहहरूले दिने उच्च कमिसन मुख्य चुनौती बनेको छ । केन्द्रले पुस्तक बिक्रेताहरूलाई ९ प्रतिशत कमिसन दिने गरे पनि निजी प्रकाशन गृहहरूले ३० प्रतिशतसम्म कमिसन दिने गरेको पौडेलको भनाइ छ । सरकारले निजीलाई कक्षा १, २ र ४ सम्मको पाठ्यपुस्तक छपाइ अधिकार दिए पनि उनीहरूले कक्षा १ देखि ५ सम्मकै पुस्तक छाप्ने गरेका छन् । यसका कारण बढी कमिसनको प्रलोभनमा पुस्तक बिक्रेताहरूले निजीकै कक्षा ३ र ५ का किताब खरिद गरिदिँदा केन्द्रलाई ती कक्षाका किताबमा आर्थिक घाटा हुने गरेको छ । गत वर्ष पनि केन्द्रले छापेका कक्षा ३ र ५ का केवल ३० प्रतिशत किताब मात्र बिक्री भएको उनले जानकारी दिए । तथापि, व्यवस्थापकीय सुधार र सरकारी काम पाएसँगै केन्द्र आर्थिक रूपमा सक्षम बन्दै गएको पौडेलको ठहर छ ।
यता, निजी प्रकाशन गृहहरू र पुस्तक बिक्रेताहरूले भने सरकारले आफूहरूको अधिकार कटौती गर्दै लैजान खोजेको आरोप लगाएका छन् । उनीहरूका अनुसार १८ वर्षअघि जनक शिक्षा सामग्री केन्द्रले समयमै किताब छाप्न र पुर्याउन नसक्दा पूर्वाञ्चल क्षेत्रमा कक्षा ५ को किताब छाप्ने जिम्मेवारी दिएर आफूहरूलाई विद्यालय तहका पुस्तक छपाइमा संलग्न गराइएको थियो । तर, अहिले छपाइ दायरा घटाउँदै २१ वटाबाट सात वटामा सीमित पारिएको भन्दै सञ्चालकहरूले गुनासो गरेका छन् । निजी पुस्तक प्रकाशन गृहका सञ्चालक दीपक भण्डारीले सरकारले काम खोसेर निजी प्रकाशन संस्थालाई बन्द हुने अवस्थामा पुर्याएको दाबी गरे । उनले निजी क्षेत्रको गुणस्तर र बिक्रीवितरण सन्तोषजनक भएकै कारण २०७० सालतिर कक्षा १ देखि ८ सम्म ४१ जिल्लाका पुस्तक प्रकाशनको जिम्मा दिइएको तर पछि केन्द्रको अधिकार क्षेत्र नाघेको भन्दै कक्षा १ देखि ५ सम्म सीमित पारिएको स्मरण गराए । अहिले कक्षा १, २ र ४ को मात्र छपाइ र बिक्रीवितरणको अधिकार दिइएकोले निजी प्रकाशन गृहहरू धराशयी बनेको र सम्पत्ति लिलाम हुने अवस्था आएको भण्डारीले बताए ।
नयाँ शैक्षिक सत्र सुरु भएसँगै विद्यार्थीले समयमै पुस्तक पाउँदा उनीहरूमा आत्मविश्वास वृद्धि हुने शिक्षकहरू बताउँछन् । काठमाडौंको डिल्लीबजारस्थित पद्मकन्या विद्याश्रमकी प्राचार्य रीता तिवारीका अनुसार नयाँ विद्यार्थीले नयाँ पुस्तक लिएर कक्षाकोठामा प्रवेश गर्दा आत्मविश्वास बढ्ने र एकाग्र भएर अध्ययन गर्ने बानीको विकास हुनेछ । समयमै पुस्तक हातमा हुँदा विद्यार्थीको ध्यान पाठमा केन्द्रित हुने र किताबको पाना पल्टाएर अध्ययन गर्दा उनीहरूले राम्ररी बुझ्ने गरेको अनुभव उनले सुनाइन् । यसले विद्यार्थीको सिकाइस्तर राम्रो हुनुका साथै शिक्षकलाई पनि शिक्षण गर्न उत्साह मिल्ने उनको भनाइ छ । कक्षाकोठामा किताब हुँदा विद्यार्थीमा कुन पाठमा कुन चित्र र संकेत छ भन्ने जिज्ञासा बढ्ने र उनीहरूले समूहमा छलफल पनि गर्ने हुँदा सिकाइको स्तर बढ्ने तिवारीले बताइन् ।
प्रकाशित: ८ चैत्र २०८२ २०:४६ आइतबार
