काठमाडौँ, चैत २ गते । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको अवस्थाको स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभएको छ ।
सोमबार बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रधानमन्त्री कार्कीले सेवा प्रवाहमा अपनाइएको सार्वजनिक सम्बोधन प्रणाली (पब्लिक अनाउन्समेन्ट सिस्टम) बारे विस्तृत जानकारी लिनुभयो । उहाँले कार्यालयको कार्यप्रणाली अवलोकन गर्दै सेवाग्राहीसँग प्रत्यक्ष अन्तर्क्रिया गर्नुभएको थियो । यस क्रममा उहाँले सेवा प्राप्त गर्दाका अनुभव तथा सुझावहरू समेत सुन्नुभएको थियो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरराज पौडेलले प्रधानमन्त्रीलाई कार्यालयमा लागू गरिएको सूचना प्रविधिमा आधारित पारदर्शी र छिटोछरितो सेवा प्रवाह प्रणालीबारे अवगत गराउनुभयो । उहाँले यो प्रणाली सेवाग्राहीलाई झन्झटरहित सेवा उपलब्ध गराउन अत्यन्तै प्रभावकारी सिद्ध भएको बताउनुभयो ।
प्रजिअ पौडेलका अनुसार, यो प्रणाली लागू भएपछि सेवाग्राहीले टोकन लिएर निश्चित समयावधिभित्र सहजै सेवा प्राप्त गर्न सक्ने व्यवस्था छ । यसबाट विगतमा व्याप्त बिचौलियाको भूमिका पूर्णतः समाप्त भएको र सेवा प्रवाहसम्बन्धी गुनासो पनि शून्यमा झरेको उहाँको भनाइ थियो । यसले समयको बचत गर्नुका साथै प्रशासनिक पारदर्शिता सुनिश्चित गरेको छ ।
कार्यालयले दैनिक सरदर एक हजारभन्दा बढी सेवाग्राहीलाई सेवा प्रदान गर्दै आइरहेको छ । कार्यालयका प्रत्येक काउन्टर र शाखाको गतिविधि सीसीटीभीमार्फत चौबीसै घण्टा निगरानीमा राखिएको छ, जसले गुनासा तथा कार्यगत जटिलतालाई तत्कालै सम्बोधन गर्न सघाएको छ । सेवाग्राहीको सुविधाका लागि निःशुल्क वाईफाई, तातो पानी र चिसो पानीको व्यवस्थासमेत गरिएको छ ।
प्रजिअ पौडेलले ‘जेनजी’ युवा पुस्ताले सुशासनको माग गर्दै उठाएको सशक्त आवाजलाई सम्बोधन गर्ने क्रममा सेवा प्रवाहको यो आधुनिक ढाँचा अपनाइएको बताउनुभयो । उहाँले यो प्रणाली ‘जेनजी सुशासन योद्धा’ हरूलाई समर्पित गरिएको जनाउनुभयो । यस प्रणालीको सफल कार्यान्वयनका लागि काठमाडौँ जिल्लाका स्थानीय तहहरूसँग पनि समन्वय र सहकार्य गरिएको जानकारी उहाँले दिनुभयो । प्रजिअ पौडेलले भन्नुभयो, ‘‘यस प्रणालीको सफल कार्यान्वयनले सेवाग्राहीलाई सन्तुष्ट पार्न र उहाँहरूको अनुहारमा खुसी ल्याउन सकिन्छ भन्ने कुरा पुष्टि भएको छ । त्यसैले यसलाई हामीले जेनजी सुशासन योद्धाप्रति समर्पित गरेका छौँ ।’’
जनतालाई प्रभावकारी सेवा प्रवाह गर्न अपनाइएको यस उदाहरणीय प्रणालीको प्रधानमन्त्री कार्कीले खुलेर प्रशंसा गर्नुभयो । उहाँले यस्तो उत्कृष्ट ढाँचा देशैभरका सेवाग्राहीको अत्यधिक चाप भएका सरकारी कार्यालयहरूमा तत्काल लागू गर्न आवश्यक रहेकोमा जोड दिनुभयो ।
प्रधानमन्त्री कार्कीले ‘जेनजी’ युवाहरूले सडकमा उठाएको सुशासनको आवाजलाई सम्बोधन गर्न काठमाडौँ प्रशासनले थालेको यो नमूना कार्य प्रशंसनीय रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘हामीले छोटो कार्यकालमा देशैभरका कार्यालयमा यस्तो प्रणाली विस्तार गर्न नसके पनि, काठमाडौँबाट यसको सफल सुरुवात गरेका छौँ । अब यसलाई देशैभरका सेवाग्राहीको बढी चाप हुने कार्यालयहरूमा द्रुत गतिमा विस्तार गरिनुपर्छ ।’’
पूर्वप्रधानन्यायाधीश समेत रहनुभएकी प्रधानमन्त्री कार्कीले आफ्नो कार्यकालमा न्यायालयमा पनि यस्तै पारदर्शी र आधुनिक प्रणाली स्थापित गर्ने प्रयास गरेको स्मरण गर्नुभयो । उहाँले त्यसै परिकल्पनाअनुसारको कार्य आज प्रशासन कार्यालयमा मूर्त रूपमा देख्न पाएकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘‘यसका निम्ति प्रमुख जिल्ला अधिकारी र कार्यालयका सम्पूर्ण कर्मचारीलाई हार्दिक बधाई तथा धन्यवाद दिनुभयो । हामीले खोजेको र जेनजी पुस्ताले समेत चाहेको यस्तै सुशासित सेवा प्रवाह हो । यो ‘आँटे र गरे हुन्छ’ भन्ने कुराको ज्वलन्त उदाहरण हो ।’’ अनुगमनका क्रममा गृहमन्त्री ओमप्रकाश अर्याल पनि प्रधानमन्त्रीसँगै हुनुहुन्थ्यो ।
