पाँचथरको तुम्बेवा गाउँपालिका–१ स्थित ढुकुरे डाँडागाउँमा कुनै समय बाक्लो मानव बस्ती थियो । तर, हाल आधाभन्दा बढी घरहरू रित्तिएका छन् । घरहरू भत्किँदै छन् र उर्वर खेतीयोग्य जमिन झाडीमा परिणत हुँदै गएको छ । यो अवस्था त्यतिबेला देखिएको छ जब गाउँ नजिकैबाट तमोर करिडोर सडक विस्तार भएको छ, विद्युत् सुविधा पुगेको छ र नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन समेत स्थापना भएको छ । विकासका पूर्वाधार गाउँ पसे पनि मानिसहरू भने निरन्तर बसाइँ सरिरहेका छन् ।
स्थानीय सामाजिक कार्यकर्ता कमलबहादुर कार्कीका अनुसार, उनका अधिकांश छिमेकीले बस्ती छाडिसकेका छन् । उनी भने गाउँ नछाड्ने अठोटका साथ बसेका छन् । “मेरो घरछेउका पाँचवटा घर र अन्य गरी एउटै गाउँबाट ११ घर बसाइँ सरेपछि बस्ती सुनसान भएको छ । जङ्गलले ढाक्दै लगेको छ,” उनले दुःख व्यक्त गरे । कार्कीका अनुसार, सन् २०१७ (विसं २०७४) देखि यस क्षेत्रमा वर्षामा कमी आएको र पिउने पानीका मुहानहरू सुक्दै गएकाले खानेपानीको चरम अभाव सृजना भएको हो । यसैकारण यहाँ बस्ने अवस्था नरहेको उनको भनाइ छ ।
गर्भवती आधारभूत विद्यालयको आसपासबाट मात्रै ११ परिवार बसाइँ सरिसकेका छन् भने ढुकुरेको तल्लो गाउँबाट पनि सात घर विस्थापित भएका छन् । कार्कीले डाँडागाउँभन्दा माथिबाट १७ घर बसाइँ सरेको जानकारी दिए । करिब ६० भन्दा बढी घरधुरी रहेको ढुकुरेमा हाल २५ परिवार मात्रै बाँकी रहेको अनुमान छ । “यहाँ सडक र विद्युत् सुविधा सहज भएको छ, तर खानेपानीको अभावले गर्दा ठूलो समस्या भएको छ । यदि यो समस्या समाधान भएमा बसाइँसराइ रोकिने थियो कि,” कार्कीले आशा व्यक्त गरे ।
जमिन सुक्खा भएपछि कृषिलगायतका आम्दानीका स्रोतहरू पनि सुक्दै गएका छन् । जीविकोपार्जनका लागि आम्दानी नभएपछि बसाइँ सर्नुको विकल्प नरहेको स्थानीयको गुनासो छ । यस क्षेत्रमा करोडौंको लगानीमा आङ्ना मौवा बृहत् पम्पिङ खानेपानी आयोजना निर्माण गरिए पनि सबै ठाउँमा खानेपानी पुग्न सकेको छैन । कालुराम कार्कीकी श्रीमती सरिता कार्की पहिले गुल्जार लाग्ने बस्ती खाली भएको देख्दा आफूलाई उदेक लाग्ने बताउँछिन् । “पहिले छरछिमेक थिए, दुःख सुख बाँड्थ्यौँ, अहिले बाँझा घर हेरेर उदेक लाग्छ । दुःख भए पनि आफ्नै ठाउँको माया लाग्छ, त्यसैले छोड्न सकेका छैनौँ,” उनले भनिन् ।
लखुवा–मौवा सडकको दायाँतर्फ घर भएका आङ्ना गाविसका पूर्वअध्यक्ष सुरेन्द्रकुमार दाहालको परिवार पनि पानीको अभावकै कारण तुम्बेवा–१ कै पसलटारमा बसाइँ सरेको छ । उनकी श्रीमती लीला दाहाल भन्छिन्, “यहाँ नजिकै खानेपानीका मुहान छैनन् । पम्पिङ गरेर पानी ल्याइएको छ भनिए पनि त्यसले काम गरेको छैन । अभाव भएपछि के गर्नु, बसाइँ सर्नुको विकल्प छैन ।” पसलटारमा खानेपानीको केही सुविधा भएकाले उतै सर्नुपरेको उनको भनाइ छ ।
छपन्न वर्षीया टुकमाया दाहालका छिमेकीहरू पनि सबै बसाइँ सरिसकेका छन् । “हाम्रो त मधेसमा जग्गा जमिन छैन, यहाँ दुःख गर्नुको विकल्प पनि रहेन,” उनले आफ्नो बाध्यता सुनाइन् । तुम्बेवा गाउँपालिका–१ आहालेका लालबहादुर घिसिङ पनि पानीको समस्या नै बसाइँसराइको प्रमुख कारण बनेको बताउँछन् । आहाले क्षेत्रका २३ परिवारले नजिकका मुहान सुकेपछि घण्टौँ लगाएर दैनिक चार/पाँच गाग्री मात्रै पानी थाप्न पाइएको उनको भनाइ छ ।
आहालेकै कुलबहादुर तामाङका अनुसार, आङ्ना–मौवा बृहत् खानेपानी आयोजना गत स्थानीय तहको निर्वाचनअघि नै उद्घाटन गरिएको थियो । अधिकांश क्षेत्रमा पाइपलाइन विस्तार भई उपभोक्ताले धारा जडान गरिसके पनि हालसम्म पानी वितरण हुन सकेको छैन । तुम्बेवा–१ जोरसल्लेकी गङ्गामाया कार्की खानेपानी अभावका कारण ट्याक्टरमा खोलाको पानी ल्याएर गुजारा गरिरहेको बताउँछिन् ।
तुम्बेवा–३ मौवा बजारका सीताराम थापाले खानेपानीका लागि पुराना मुहानकै भर पर्नुपरेको र ती सुक्दै गएकाले अभाव बढ्दै गएको बताए । आङ्ना मौवा बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सदस्य राजकुमार देवान भने तमोर नदीको लखुवा दोभानस्थित बगरमा नयाँ सम्पवेल निर्माण भएपछि पम्पिङको काम सहज हुँदै गएको बताउँछन् । सम्पवेलमा पानी सङ्कलन र सञ्चालन राम्रोसँग भए पनि वितरणमा समस्या रहेको स्वीकार गर्दै उनले समस्या समाधानको प्रयास भइरहेको बताए । समितिले मर्मतसम्भार र संरचना निर्माणका लागि बजेट अभाव झेलिरहेको र गाउँपालिकाबाट बजेट व्यवस्थापन भएमा समस्या समाधान हुने आश्वासन दिए ।
