१ चैत, काठमाडौं । उज्यालो नेपाल पार्टीले गत फागुन २१ गते सम्पन्न निर्वाचनको विस्तृत समीक्षा सम्पन्न गरेको छ। पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार र शनिबार गरी दुई दिनसम्म चलेको गहन समीक्षा बैठकले उज्यालो नेपाललाई केवल चुनावी शक्तिका रूपमा मात्र नभई जनविश्वास, सुशासन, समृद्धि तथा सामाजिक न्यायको दीर्घकालीन राजनीतिक अभियानका रूपमा विकास गर्ने साझा निष्कर्ष निकालेको छ।
पार्टी प्रवक्ता डा. राजु थापाका अनुसार, निर्वाचनका क्रममा पार्टीले प्राप्त गरेका अनुभव, जनतासँगको सम्पर्कको स्वरूप, संगठन विस्तारका सम्भावनाहरू, मतदाताको मनोविज्ञान, प्रचारप्रसारमा देखिएका चुनौतीहरू र अत्यन्त छोटो समयमा पार्टीले निर्माण गरेको राष्ट्रिय उपस्थितिलगायतका विषयमा व्यापक छलफल भएको थियो। यस छलफलमा प्रदेश तथा जिल्ला संयोजकहरूले आ-आफ्नो क्षेत्रका अनुभव तथा चुनौतीहरू प्रस्तुत गरेका थिए।
समीक्षा बैठकमा कुलमान घिसिङको नेतृत्वमा गठन भएको उज्यालो नेपाल पार्टीले प्रत्यक्षतर्फ कुनै पनि सिट जित्न नसकेको र समानुपातिकतर्फ पार्टीका उम्मेदवारहरू समावेश हुन नपाएको यथार्थलाई स्वीकार गरिएको छ। यद्यपि, अत्यन्त सीमित समय, न्यून स्रोतसाधन तथा प्रारम्भिक संगठनात्मक अवस्थाका बाबजुद पनि पार्टीले देशव्यापी रूपमा सम्मानजनक मत प्राप्त गर्न सफल भएकोमा सहभागीहरूले सन्तुष्टि व्यक्त गरेका छन्। यसलाई भविष्यको बलियो राजनीतिक आधारशिलाका रूपमा लिइएको प्रवक्ता थापाले बताएका छन्।
डा. थापाका अनुसार, बैठकले आगामी दिनमा पार्टीलाई थप व्यवस्थित, वैचारिक रूपमा स्पष्ट, सांगठनिक रूपमा सुदृढ र जनतासँग प्रत्यक्ष जोडिएको राष्ट्रिय मूलधारको शक्तिका रूपमा स्थापित गर्ने रणनीतिक निर्णय गरेको छ। यसका लागि पार्टीको आन्तरिक संरचनालाई थप सुदृढ बनाउँदै जनसम्पर्कलाई व्यापक बनाउने योजना अगाडि सारिएको छ। स्थानीयस्तरदेखि केन्द्रीयस्तरसम्म पार्टीका गतिविधिहरूलाई थप प्रभावकारी बनाउने र जनसरोकारका मुद्दाहरूमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
पार्टीलाई केवल चुनाव केन्द्रित नबनाई राष्ट्र र जनताको सेवामा समर्पित एक स्थायी राजनीतिक शक्तिका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्य निर्धारण गरिएको छ। सुशासन, आर्थिक समृद्धि, सामाजिक न्याय र वातावरण संरक्षण जस्ता मूल एजेन्डाहरूलाई जनतामाझ अझ प्रभावकारी ढंगले पुर्याउने रणनीतिमा पनि छलफल भएको थापाले जानकारी दिएका छन्। पार्टीले भावी दिनमा राष्ट्रव्यापी अभियानहरू सञ्चालन गरी आफ्नो जनाधार विस्तार गर्ने र वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई स्थापित गर्ने योजना बनाएको छ। यस समीक्षाले पार्टीको भविष्यको मार्गचित्र निर्धारण गर्न महत्त्वपूर्ण भूमिका खेलेको नेताहरूको भनाइ छ।
