इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनेईलाई लक्षित गरी अमेरिका र इजरायलले गरेको विशेष सैन्य कारबाही धेरैले अनुमान गरेजस्तो मध्यरातमा नभई बिहानको समयमा गरिएको खुलासा भएको छ। महिनौँदेखि इरानी उच्च अधिकारीहरूको गतिविधिमाथि सुक्ष्म निगरानी गरिरहेका यी दुई देशले शनिवार बिहान मध्यतेहरानको एक परिसरमा खामेनेई उपस्थित हुने पक्का खुफिया जानकारी पाएलगत्तै उक्त आक्रमण गरेका थिए। आफूलाई प्राप्त भएको अत्यन्तै महत्त्वपूर्ण खुफिया जानकारीलाई खेर जान नदिन उनीहरूले केही घण्टाभित्रै तत्काल कारबाही अघि बढाएका हुन्।
अमेरिकी र इजरायली जासुसी संयन्त्रले महिनौँदेखि सर्वोच्च नेता र अन्य वरिष्ठ सैन्य अधिकारीहरूको आवतजावतलाई प्राविधिक ट्र्याकिङमार्फत पछ्याइरहेका थिए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमार्फत ‘हाम्रो खुफिया जानकारी र अत्याधुनिक ट्र्याकिङ प्रणालीबाट उनी (खामेनेई) जोगिन सकेनन्’ भन्दै यस कुराको पुष्टि गरेका छन्। यसअघि गत जुनमा भएको १२ दिने युद्धमा पनि इजरायलले इरानी परमाणु कार्यक्रमसँग जोडिएका वैज्ञानिकहरूको आवतजावत ट्र्याक गर्न टेलिकम र मोबाइल प्रणालीको व्यापक प्रयोग गरेको थियो। लामो समयको यस्तो निरन्तर निगरानीले इरानी अधिकारीहरूको ‘आनीबानी’ र उनीहरू सुरक्षाका दृष्टिकोणले कुन समयमा कमजोर हुन्छन् भन्ने पत्ता लगाउन आक्रमणकारीलाई सहज भएको थियो।
आफ्ना दुश्मनहरूले निरन्तर निगरानी गरिरहेको थाहा हुँदाहुँदै पनि इरानले त्यसलाई रोक्न नसक्नुलाई इरानी सुरक्षा र जासुसी प्रणालीको गम्भीर विफलताका रूपमा हेरिएको छ। सम्भवतः इरानीहरूले रातको समयमा मात्र ठूलो आक्रमण हुन सक्ने अनुमान गरेका थिए, जसले गर्दा बिहानको उज्यालोमा उनीहरू सुरक्षाका दृष्टिकोणले नराम्ररी चुकेको देखिन्छ। न्युयोर्क टाइम्सका अनुसार, यसपटक खामेनेईको सटिक लोकेसन अमेरिकी जासुसी संस्था (सीआईए) ले पत्ता लगाएर इजरायललाई उपलब्ध गराएको थियो। उक्त सूचनाको आधारमा इजरायलले इरानी नेतृत्वलाई लक्षित गरी आक्रमण गरेको थियो भने अमेरिकाले अन्य सैन्य अखडाहरूमा ध्यान केन्द्रित गरेको थियो।
सटिक सूचना प्राप्त भएपछि इजरायली र अमेरिकी अधिकारीहरूले लामो दूरीको क्षेप्यास्त्र प्रहार गर्न सक्ने अत्याधुनिक लडाकु जेटहरूको प्रयोग गरेका थिए। तेहरानसम्म पुग्न करिब दुई घण्टा लाग्ने ती जेटहरूले स्थानीय समयअनुसार बिहान ९:४० बजे लक्षित परिसरमा करिब ३० वटा शक्तिशाली बम खसालेका थिए। सर्वोच्च नेता सुरक्षाका लागि जमिनमुनिको बङ्करमा लुकेको हुन सक्ने अनुमान गर्दै जमिन छेड्न सक्ने शक्तिशाली हतियारहरूको प्रयोग गरिएको थियो। यसअघि एउटा मात्र आक्रामक प्रहार गर्ने योजना भए तापनि, यो सुनौलो अवसर प्राप्त हुनासाथ समग्र सैन्य कारबाहीलाई नै अगाडि बढाउने गरी योजनाको समयसीमा परिवर्तन गरिएको थियो।
यस भयानक आक्रमणमा इरानको रक्षा परिषद्का सचिव अली शाम्खानी, रक्षामन्त्री ब्रिगेडियर जनरल अजीज नसीरजादेह र इस्लामिक रेभोलुसनरी गार्ड कोर (आईआरजीसी) का कमान्डर जनरल मोहम्मद पकपोरसहित सात जना वरिष्ठ सुरक्षा अधिकारीहरू मारिएको इजरायलले दाबी गरेको छ। इरानी राष्ट्रपति मसुद पेजेस्कियानको कार्यालयलाई पनि निशाना बनाइएको भए तापनि उनले पछि विज्ञप्तिमार्फत आफू सुरक्षित रहेको जानकारी दिएका छन्। आक्रमण भइरहँदा अमेरिकी राष्ट्रपति ट्रम्प फ्लोरिडास्थित मार-आ-लागोमा आफ्ना उच्च अधिकारीहरूसँगै घटनाक्रमको प्रत्यक्ष निगरानी गरिरहेका थिए।
इरानले आफ्ना सर्वोच्च नेता र अन्य वरिष्ठ अधिकारीहरू मारिन सक्ने जोखिमलाई मध्यनजर गर्दै पहिले नै उत्तराधिकारीहरू चयन गरिसकेको बताइएको छ। यद्यपि, यस उच्चस्तरीय हत्याकाण्डले मध्यपूर्वको यस तनावपूर्ण युद्धलाई अब कुन नयाँ मोडमा लैजान्छ भन्ने कुरा भने अझै अनिश्चित छ।
