तस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन, अमेरिका, क्यानडा र मेक्सिकोले विश्वकप फुटबल २०२६ संयुक्त रूपमा आयोजना गर्दै छन्
इरानका खेलकुद तथा युवामन्त्री अहमद दन्यामलीले आसन्न फिफा विश्वकप २०२६ मा इरानको सहभागिता सम्भव नरहेको बताएका छन्। आगामी जुन ११ देखि संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोद्वारा संयुक्त रूपमा आयोजना हुन लागेको यस प्रतिष्ठित फुटबल प्रतियोगितामा इरानको सहभागितालाई लिएर गम्भीर संशय उत्पन्न भएको छ। समूह चरणमा इरानको पहिलो खेल जुन १५ मा न्यूजील्यान्डसँग, दोस्रो जुन २१ मा बेल्जमसँग र तेस्रो खेल जुन २६ मा इजिप्टसँग हुने तय भएको छ। फिफाले पहिलो दुई खेल लस एन्जलिसमा र तेस्रो सियाटलमा हुने जानकारी दिएको छ।
हालै अमेरिका र इजरेलले इरानमाथि गरेको आक्रमण तथा त्यसक्रममा इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको मृत्यु भएपछि इरानले इजरेल र मध्यपूर्वमा रहेका अमेरिकी सैन्य शिविरहरूमा क्षेप्यास्त्र तथा ड्रोन प्रहार गरेको थियो। यस तनावपूर्ण भूराजनीतिक परिस्थितिले इरानी टोलीको विश्वकप सहभागितामा प्रश्नचिन्ह खडा गरेको छ।
फिफा अध्यक्ष जानी इन्फ्यान्टीनोले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग विश्वकपको तयारी र इरानको वर्तमान अवस्थाबारे छलफल गरेको जानकारी दिएका छन्। इन्फ्यान्टीनोका अनुसार राष्ट्रपति ट्रम्प इरानको सहभागिताप्रति सकारात्मक छन्। बुधवार इन्स्टाग्राममा उनले लेखेका छन्, “छलफलका क्रममा राष्ट्रपति ट्रम्पले इरानी टोलीले प्रतियोगितामा पक्कै पनि भाग लिन पाउँछ भन्ने कुरा दोहोर्याए।”
तर, यसअघि मङ्गलवार आईआरआईबी स्पोर्ट्स नेटवर्कलाई दिएको अन्तर्वार्तामा इरानी मन्त्री दन्यामालीले स्पष्ट पारेका थिए, “यो भ्रष्ट सरकारले हाम्रा नेतालाई मारेको हुनाले कुनै पनि हालतमा हामी विश्वकपमा सहभागी हुने उपयुक्त अवस्था छैन।” उनले थपे, “हाम्रा खेलाडीहरू सुरक्षित छैनन् अनि सहभागी हुने अवस्था छैन। विगत आठ वा नौ महिनामा हामीविरुद्ध दुइटा युद्ध भए अनि हाम्रा हजारौँ मानिस मारिए, शहीद भए। तसर्थ, हामी सहभागी हुने सम्भावना छैन।”
फिफा अध्यक्ष इन्फ्यान्टीनोले हाल विश्वमा मानिसहरूलाई एकताबद्ध गर्न विश्वकपजस्ता कार्यक्रमको आवश्यकता अझ बढेको उल्लेख गर्दै ट्रम्पको सहयोगका लागि धन्यवाद व्यक्त गरेका छन्। उनले भनेका छन्, “एक पटक फेरि फुटबलले विश्वमा एकताबद्ध गर्न लागेको बेला म संयुक्त राज्य अमेरिकाका राष्ट्रपतिलाई उहाँले गर्नुभएको सहयोगका लागि धन्यवाद दिन्छु।”
हालै इरानी महिला राष्ट्रिय टोलीका छ सदस्यलाई “सुरक्षा खतरा” देखाउँदै अस्ट्रेलियाले शरण दिएपछि इरानी फुटबल सङ्घका प्रमुख मेहदी ताजले पनि विश्वकपमा सहभागी हुन जाने विषयमा चिन्ता व्यक्त गरेका थिए। अस्ट्रेलियाका गृहमन्त्री टोली बर्कका अनुसार सात खेलाडीलाई आश्रय दिइएकोमा पछि एक जना आफ्नो निर्णय फेर्दै घर फर्केकी थिइन्। ताजले भनेका थिए, “महिला फुटबल खेलाडीहरूले समस्या भोग्नुपरेको अवस्थामा यदि विश्वकपमा यस्तै हुन्छ भने बुद्धि भएको कसैले पनि आफ्नो टोली अमेरिका पठाउन तयार हुँदैन।”

तस्बिर स्रोत, Getty Images
तस्बिरको क्याप्शन, फाइल तस्बिर
यदि इरानले लगातार चौथो पटक विश्वकपमा सहभागी नहुने निर्णय गर्यो भने फिफाको नियमानुसार अर्को टोलीलाई अवसर दिन सकिन्छ। यस्तो अवस्थामा कुन देशले स्थान पाउँछ भन्ने स्पष्ट छैन। एशियाली फुटबल महासङ्घबाट इराक वा यूएईले मौका पाउन सक्ने अनुमान गरिएको छ। इराक यो महिनाको प्ले-अफ खेलबाट छनोट हुन सक्ने सम्भावना छ भने यूएईले त्यो बाटो गुमाइसकेको छ। यद्यपि, फिफाको नियममा प्रतिस्थापन टोली सोही क्षेत्रको हुनुपर्छ भन्ने बाध्यता छैन।

तस्बिर स्रोत, Reuters
तस्बिरको क्याप्शन, गत वर्ष मार्चमा एएफसी छनोट प्रतियोगितामा यूएईसँग खेल्नुअघि इरानी राष्ट्रिय टोलीका खेलाडीहरू
विश्लेषकहरूका अनुसार, इरानी खेलकुदमन्त्रीको भनाइको बाबजुद, इरानी राष्ट्रिय टोली विश्वकपमा सहभागी हुँदैन भन्नु अहिले नै हतारो हुनेछ। यस सम्बन्धमा इरानी फुटबल महासङ्घले अन्तिम निर्णय गर्नेछ। फिफा इरानी टोली न्यूजील्यान्ड, बेल्जम र इजिप्टसँग निर्धारित खेलहरूमा सहभागी हुन्छ भन्ने पक्षमा छ। इरानले विश्वकप खेल्न अस्वीकार गरेमा त्यसबाट गम्भीर प्रभावहरू पर्न सक्छन्। सन् १९८२ को विश्वकप छनोटमा इरानले कुवेतविरुद्ध खेल्न अस्वीकार गर्दा प्रतियोगितामा पुग्न नसकेको मात्र होइन, फिफाले त्यसपछिको प्रतियोगितामा सहभागी हुन नपाउने गरी प्रतिबन्ध पनि लगाएको थियो। फिफाले सम्भवतः यो महिनाको अन्त्यतिर हुने प्ले-अफ खेलहरूबाट छनोट हुने सबै टोलीहरूको छिनोफानो नभएसम्म प्रतीक्षा गर्नेछ। त्यस समयसम्म मध्यपूर्वमा जारी द्वन्द्वको अवस्था पनि स्पष्ट हुन सक्नेछ।
बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
